सभामुख सापकोटाद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

सभामुख अग्नि सापकोटाले सिंहदरवार परिसरभित्र निर्माणाधिन संघीय संसद भवनको अवलोकन गरेका छन् । राष्ट्रिय महत्वको संसद भवनको कामको अवस्थाको बारेमा सभामुख सापकोटाले जानकारी लिदै स्थलगत अनुगमन गरेका हुन् ।
सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग, विशेष भवन आयोजना समन्वय कार्यालय अन्तर्गत सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ३२.५ प्रतिशत पुगेको छ ।

विसं २०७६ असोज १६ गते सम्झौता भई निर्माण शुरु भएको उक्त भवनको हालसम्मको वित्तीय प्रगति ३० प्रतिशत रहेको आयोजनाले जनाएको छ । अवलोकनका क्रममा विशेष भवन निर्माण आयोजनाका प्रमुख दिलीपशेखर श्रेष्ठले संसद भवनको हालसम्मका प्रगति बारे जानकारी गराएका थिए । निर्माणाधीन भवनको अवलोकनपछि सभामुख सापकोटाले संसद् भवनको निर्माण कार्यप्रति आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिएका थिए ।

पछिल्ला समय निर्माणमा भइरहेको प्रगतिले खुशी लागेको बताउँदै उनले प्रतिकूलताका बीच पनि निर्माण कार्यले गति लिएको र आगामी दिनमा पनि समन्व्यात्मक ढङ्गले काम गर्न निर्देशन समेत दिए । तोकिएको समयमै निर्माण सम्पन्न गर्न सबै उपाय अपनाउन आग्रह गर्दै उहाँले त्यसका लागि आफ्नो साथ र सहयोग रहने बताउदै भने,‘दुई वर्षभित्र निर्माण गर्नुपर्ने अवस्था छ, हामीले तीव्र गतिमा काम ग-यौँ भने तोकिएभन्दा चाँडो काम सक्न सक्छौं ।’

सम्झौताअनुसार नयाँ संसद् भवन २०७९ असोज १५ गतेभित्र सम्पन्न हुनुपर्नेछ । भवन निर्माणमा २२ महिना व्यतित भइसकेको छ । कोरोनाका कारण निर्माण अवधि छ महिना थप गरिएको छ । आयोजनाको कूल लागत छ अर्ब दुई करोड ९भ्याटबाहेक० रहेको छ । आयोजनामा १२ वटा भवनसहित चारवटा गेट र ल्याण्ड स्केपिङ्ग पनि हुनेछ । सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा, सचिवालय, दलका कार्यालय, पुस्तकालय, चमेनागृहलगायत अत्याधुनिक संरचना हुनेछन् ।

संसद् भवन अत्याधुनिक सुविधासहित नेपाली परम्परागत ढाँचाका हुने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । अवसरमा सहरी विकास मन्त्रालयका सचिव डा। रमेश प्रसाद सिंह, संघीय संसद् सचिवालयका महासचिव डा।भरतराज गौतम, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेल लगायतको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्