घरबेटीको शान र भाडावालको पीडा



आफ्नो जन्मथलो छोडेर परिवारको आवश्यकता पूरा गर्न सर्वसाधारण काठमाडौं उपत्यकामा छिरेका हुन्छन् । उपत्यका छिरेर मात्र भएन, बस्ने बास पनि चाहियो । तपाईंहरु अधिकांशले उपत्यकाका घरहरु खालि भएकाले टुलेट भनेर टाँसेको देख्नुभएको होला । देशैभरि अहिले कति धेरै कोठा, फ्ल्याट र सटर खोज्ने संस्थाहरु सञ्चालनमा छन् । यस्ता संस्थाले कोठा, फ्ल्याट र सटर खोजिदिने भनेर सर्वसाधारणबाट चर्को रकम असुल्ने गरेको पनि भेटिएको छ ।

कोठा खालि हुनुभन्दा अगावै घरधनीले यी दलालीहरुलाई कोठा खालि हुनेबारे जानकारी गराइसकेका हुन्छन् । त्यही अनुसार उनीहरुबीच रकम र कमिसनको पनि छलफल भइसकेको हुन्छ । मानौं, घरधनीले मेरो एउटा कोठाको ६ हजार हो भने तपाईं ८ हजार भन्नुस् र कमिसन निकाल्नुस् भन्छन् । ठगिनेमा चाहि हामी सीधा जनता पर्‍यौं ।

अहिले उपत्यकाका विभिन्न ठाउँमा घरभाडादर पनि भिन्न–भिन्न छ । एरिया हेरेर एउटा कोठाको ५–१० हजारसम्म पर्न जान्छ । सटर पनि ठाउँ हेरेर १० हजारदेखि ८ लाखसम्म पर्न जान्छ । फ्ल्याट पनि २० हजारदेखि डेढ लाखसम्म पर्न जान्छ । त्यो पनि एक महिनाको । यो भाडा सरकारले तोकेको पनि होइन । अहिले जुन घरभाडामा लुट मच्चिरहेको छ, त्यसमा वडा र नगरपालिको पनि ठूलो हात छ ।

कोठा खालि छ भने घरधनीले कोठा चाहिने मान्छेलाई सीधै कोठा दिए भइहाल्यो नि । किन यी दलालीहरुको पछि दौडिरहनुप¥यो । कोठा खालि छ भनेर पम्लेट टाँस्ने अनि कोठा माग्न गयो भने नदिने । सर्वसाधारणले सीधै कोठा माग्न जाँदा उसलाई कोठा दिने हो भने यसरी ठगिनुपर्दैनथ्यो । कोठा खोज्ने दलालीकोमा कोठा चाहियो भनेर सर्वसाधारण गयो भने उसले सर्वसाधारणसँग पनि रकम असुल्छ । त्यति मात्र नभएर पहिलो महिनाको केही अंश पनि दलालीलाई नै दिने भनी मौखिक सम्झौतासमेत भएको हुन्छ ।

बहालमा बस्ने मान्छेले यत्रो पापड बेलेर कोठा त पाउँछ तर सेवा–सुविधाचाहिँ केही पनि पाउँदैन । बत्तीको पैसा पनि मिटर बिगारेर डबल लिन्छन् । पार्किङ गरेको पनि पैसा तिर्नुपर्ने रे । फोहोरको पैसा पनि सबै भाडा बस्नेसँग उठाउने । पानी पनि छैन । लुगा सुकाउने ठाउँको पनि सुविधा छैन । कोठा छोडेर जाने बेलामा रंग लगाइदिनुपर्ने । कोठा बस्ने मान्छेसँग पैसा लिने, बिल नदिने । एउटा कोठा नदिने । एउटा कोठा पाइहाले पनि महँगो भाडा तिर्नुपर्ने । कोठामा झ्याल नहुने, दिउँसै बत्ती बाल्नुपर्ने । एकदमै चिसो कोठा हुने । घरबेटीले भाडामा बस्नेलाई छतमा जान पनि दिँदैनन् ।

अहिले बनेका अधिकांश घरहरु फ्ल्याट सिस्टम छन् । तीनवटा दुलोजस्तो कोठा बनाउने अनि त भइहाल्यो फ्ल्याट सिस्टम । एउटा खाट नअट्ने कोठा निकाल्ने अनि फ्ल्याट सिस्टमको नाम दिएर जनता ठग्ने । महिनाभरि १०–१५ हजार रुपियाँ कमाएर गुजारा गर्नेहरुले

कहाँबाट फ्ल्याट लिएर बस्नु ?

आर्थिक कमजोर, विद्यार्थी, एकल महिला, अपांग र राम्रो जागिर नभएकाहरुलाई हत्तपत्त कोठा पाउनै मुस्किल हुन्छ । कुनै मानिसलाई कोठामा बस्दा रोग लाग्यो । ऊ मर्ने स्थितिसम्म आइपुग्यो भने उसलाई कोठामा मर्न दिँदैनन् । घरबेटीहरुमा मानवता र जिम्मेवारी नामक भावना नै हुँदैन ।

सरकारले पनि यस्तो ठग घरधनीहरुको लागि भनेर किन ऐन–कानुन बनाउँदैन ? सटर भाडा र कोठा भाडा पनि सरकार निर्धारण गर्न तयार छैन । यी घरबेटीहरुले राज्यलाई घरबहाल कर पनि तिरेका छैनन् । सबै कोठा भाडामा लाउने, वडा वा नगरपालिकाको मान्छे परीक्षण गर्न आयो भने सबै कोठामा आफ्नै आफन्त बस्छन् भनी राजस्व छली गर्ने । बाहिरबाट घरधनीहरु जति सुकिलामुकिला भएर हिँड्छन् उनीहरुको भित्री नियत त्यति नै खराब हुन्छ । जनता शोषण गरेर खाने । अनि मलाई सुगर, प्रेसर लाग्यो भनेर बिहान मर्निङ वाक जाने ।

हामी भाडामा बस्नेले खुट्टामा एकजोर चप्पल नलगाई, एक छाक मीठो नखाई घरबेटीलाई भाडा तिरेका हुन्छौँ तर पनि घरधनीले भाडामा बस्नेलाई दासीको रुपमा हेरेका हुन्छन् । के हामी फोकटमा बसेका हौं र ? जहिले पनि यिनीहरुसँग डराएर दबाबमा बस्नुपर्ने । घरधनीहरुले यिनीहरु सुकुम्बासी हुन्, यिनीहरुको कहीँ पनि घरजग्गा छैन भन्ने सोच राख्छन् । हामीले यी शोषकहरुको दबाब कति दिन सहेर बस्ने ?
अझै कति घरधनीले त बैंकबाट कर्जा लिएर घर बनाएका हुन्छन् रे । उनीहरुको भनाइअनुसार उनीहरुको बैंकको किस्ता तिर्नको लागि महिनाभन्दा अगावै भाडा तिर्नुपर्ने रे । के हामी सर्वसाधारणले बैंकबाट कर्जा लिएर घर बनाउनु भनेका थियौं ? त्यो किस्ता चुक्ता गरिसकेपछि त्यो घर कसको नाममा नामसारी हुन्छ ? घरधनी कि भाडामा बस्नेको ?

एकातिर महिनाभन्दा अगाडि नै तलब माग्न अप्ठ्यारो । तलब मागे पनि अफिसका साहुहरुले महिना नसिद्धीकन तलब दिँदैनन् । जहिले पनि हामी जनता नै किन पिल्सिनुपर्ने बाध्यता ? हामी बहालमा बस्नेलाई घरधनीको घर बैंकमा होस् कि फाइनान्समा, हामीलाई के मतलब । घरभाडा तिर्न सकुन्जेल त्यहाँ बस्छौँ नभए छोडेर अन्तै जान्छौँ ।

नगरपालिका पनि कुन घर भाडामा छ, त्यस घरमा कति कोठा भाडामा छ भनी अनुगमन गर्न आउँदैन । आइहाले पनि घरबेटीहरु राजस्व छली गर्नका लागि विभिन्न बहाना बनाउन थाल्छन् । पाँचवटा कोठा भाडामा भए पनि दुईवटा कोठा भाडामा छ, अरु सबै कोठामा आफन्त बस्छन् भनी झुट बोल्छन् ।

कोठामा किला ठोक्न मिल्दैन । धाराको टुटी र ढोकाको चुकुल बिग्रियो भने पनि भाडामा बस्ने आफैंले व्यहोर्नुपर्छ । घरभाडामा लाउँछन् तर पानीचाहिँ किनेर खार्नपर्छ । लुगा धुन र नुहाउन पनि पानी किन्नुपर्छ । पानी दिन नसक्नेले किन घर भाडामा लगाउनु ? हामी कतिन्जेल सहेर बस्ने ? यस्ता चोर घरबेटीहरुलाई कारबाही गर्न नसक्नु भनेको वडा र मेयरहरुको कमजोरी हो ।

– अज्ञात

प्रतिक्रिया दिनुहोस्