लापरबाही सरकार र अल्लारे युवापुस्ता



आजभोलि प्रायः देशहरुमा दैवी प्रकोपहरुको फेसन चलेको छ । बाढी, पहिरो, डढेलो, आँधी, रोगको महामारीले गर्दा संसारमा मानिसहरु वाक्कदिक्क भएका छन् । यी कारणहरुले गर्दा मानिसहरु मानसिक तनावमा जाने र आत्महत्या गर्नेसम्मको अवस्थामा पुगेको देखिन्छ । यस्तो अवस्थामा पुग्नेहरुको संख्यामा पनि वृद्धि भइराखेको छ । थाहा छैन, भगवान् तथा प्रकृतिलाई यति विघ्न किन रिस उठिराखेको छ, प्राणी तथा हामी मनुष्यहरुप्रति ? अहिले हाम्रो मुलुकको पनि यही हाल छ । रोगको महामारीले तर्साएको तर्सायै छ । रोगीहरु बढी नै राखेका छन् भने मर्नेहरु मरी नै राखेका छन् । तैपनि कतिपय मानिसलाई मतलब नै छैन । राम्रो काम तथा समाज सेवा गर्नेहरुलाई भ्याई नभ्याई नै छ । उनीहरु एक हिसाबले व्यस्त नै छन् । नराम्रो काम गर्नेहरुलाई पनि कोभिड महामारीको वास्ता छैन ।

यस्तो बेलामा पनि देश चलाउनेहरुको संख्या बढी हुनुको कारण र एक–आपसमा कलहका कारण अझै कोभिड–१९ को लडाइँमा सफताल हासिल हुन सकिराखेको छैन । हुन त आश्वासन दिइन्छ जनतालाई तर ढिलो भइराखेको छ । एक हिसाबले भन्ने हो भने, नेताहरुले आफ्नो खुट्टामा आफैंले बन्चरो हिर्काइराखेका छन् । देशमा कम नेता, कम कार्यकर्ताको संस्कार बसाएको भए हरक्षेत्रमा यस प्रकारको डामाडोल हुँदैनथ्यो होला । सरकारले कोभिड–१९ ले गर्दा जनताप्रति सहानुभूति दर्शाएको राम्रो कुरा हो, तर हाम्रो मुलुकमा यसबाहेक अरु पनि धेरै कामहरु छन्, जुन पेन्डिङ परिराखेका छन् । राजमार्गका समस्या, तराईमा बाँध समस्या, तुइन समस्या, पुलहरुको निर्माण एवं मर्मत, कृषि तथा उद्योग आदि क्षेत्रमा देश अघि बढ्न सकिराखेको छैन । अन्यथा करौडौं, अर्बौं रुपियाँ खाद्यान्न सामग्री आयातमा खर्च हुँदैनथ्यो होला, राजमार्गहरुमा दुर्घटना हुँदैनथ्यो होला, तराई डुबानका कारण मानिसहरुको बिचल्ली हुँदैनथ्यो होला, उद्योगहरु बन्द हुँदैनथे होला, युवापुस्ता विदेश पलायन हुँदैनथ्यो होला ।

त्यसकारण नेताहरु तँछाडमछाड गरेर प्रधानमन्त्री मात्र हुन कोशिश गर्ने होइन, बल्की मुलुक र जनताका लागि केही गरौं भन्ने भावना लिएर यो ठाउँमा आउनुपर्दछ । साथै म केहीचाहिँ मुलुकको लागि चमत्कार गर्छु भन्ने मनमा संकल्प राख्नुपर्दछ । यसबाहेक मन्त्री, सांसद, सचिव आदिजस्ता सरकारी कर्मचारीहरुले पनि कालो मनलाई सेतो मन बनाउनु जरुरी छ । खाली कमिसनमा अल्झिनुहुँदैन । अनि मात्र मुलुक उँभो लाग्नेछ ।हाम्रो मुलुकमा एउटा ठूलो विडम्बना के छ भने, सरकारी कुर्सीहरु राम्रा भइराखेका हुन्छन् तर गलत मानिसहरुको राज भइराखेको हुन्छ ती कुर्सीमा । यस्ता कुराहरुमा गाह्रो भए पनि प्रधानमन्त्रीहरुले ध्यान पु¥याउनुपर्ने हुन्छ । यस्ता कुराहरुको कमी–कमजोरीले गर्दा प्रायः सरकारहरु फ्लप हुने गर्दछन् र प्रधानमन्त्रीहरु जोकर हुने गर्दछन् । त्यसकारण प्रधानमन्त्रीहरुले आफ्नो मानिस नभनी खुला प्रतियोगितामार्फत सरकारी कुर्सीहरुमा राम्रा मानिसलाई मनोनीत गर्नुपर्दछ । अनि मात्र त्यो सरकार सफल हुनसक्छ । यसमा प्रतिपक्ष पनि आफ्नो मान्छेका लागि भनेर स्वार्थी हुनुहुँदैन । स्वार्थी मानिसहरुले गर्दा नै सबैलाई अप्ठ्यारो परिराखेका हुन्छन् ।

हाम्रो मुलुकमा जतिसुकै लोकतन्त्र–गणतन्त्र आए पनि, राम्रा–राम्रा न्यायाधीश भए पनि, अधिवक्ताहरु भए पनि कानुनहरु अझै फितला नै छन् । सुन प्रकरण, निर्मला हत्याकाण्ड, बालुवाटार ललिता निवास प्रकरण, नेवानि वाइड बडी काण्ड तथा ठूला–ठूला भ्रष्टाचार र बलात्कारजस्ता अपराध बिलाएर जाने ठाउँ हो यो । फेरि हामीले यो देशको कानुनलाई कसरी तारिफ गर्ने ? जब कि कानुन बनाउनेहरु नै सुतेर बसेका हुन्छन् । अब यसो हुनुभएन । छोटो अवधिको सरकार भए पनि सरकार अर्थात् प्रधानमन्त्रीले कानुनलाई मजबुत बनाउनेतर्फ अग्रसर हुनु आवश्यक छ । अन्यथा राज्यले यत्रा नेताहरु पालेर राखेको के औचित्य भयो र ?एकपल्ट फेरि भन्नुपर्दा, अहिले राज्यको मुख्य उद्देश्य नै खाद्यान्न, फलपूmल, जडीबुटी आदिलाई राम्ररी निर्यात गरी प्रशस्त धन आर्जन गर्नु हो । त्यसकारण पनि सरकारले कडा भएर उदार मन लिई राजमार्ग तथा कृषिमा राष्ट्रिय धन खन्याउने हो । यो असम्भव भन्ने कुरा नै भएन, खाली राम्रा–राम्रा विज्ञहरु च्यापेर, यी कुराहरुका लागि राम्रो नीति लिएर अघि बढ्नुपर्छ । अब यति काम गर्न पनि सरकार अघि बढ्दैन, खाली राजनीतिक कलहमा मात्र अल्झेर बस्छ भने भोलिको भविष्य कस्तो हुने हो ? त्यो आफैंले सोच्ने कुरा हो ।

अहिलेको परिप्रेक्ष्यमा सरकार जनताप्रति बेवास्ता हुने हो भने, राष्ट्रधनको सदुपयोग राम्ररी नगर्ने हो भने हाम्रो राष्ट्रिय रकम घ्याम्पोबाट पानी चुहेसरह भइराख्नेछ । त्यसकारण मुलुकमा करबाट उठेको रकम र रेमिट्यान्सबाट उठेको रकमलाई सही ठाउँमा प्रयोग गर्ने हो, नकि सधैँ विलासिता र सरकारी भत्ताहरुमा खर्च गर्ने हो । हामी सधैँ युवापुस्ताको मुखमात्र ताक्ने गर्दछौं तर युवापुस्ता कि नेताका पछि हुन्छन्, या विदेशमा हुन्छन्, या आफ्नै दुनियाँमा मस्त हुन्छन् । हुन त यो उनीहरुको इच्छा र अधिकारको कुरा हो । एउटा सत्यतथ्य कुरा के छ भने, संसारमा जति पनि आविष्कार, सुविधायुक्त कुरा, टेक्नोलोजीको विकास आदि आदि छन्, यी पुरानै देन हुन् । एउटा कुरा, युवापुस्ताको पनि हाम्रो मुलुकका लागि केही राम्रो योगदान होस् भन्ने हामी सबैको चाहना हो । सधैँ हामी अल्लारे मात्र भएर बस्ने हो भने के औचित्य भयो र ?
अन्त्यमा हामी भगवान्सँग एउटा मात्र प्रार्थना गर्दछौं– यहाँका मानिसहरुलाई मासुभातको लागि अल्लारे र स्वार्थी नबनाऔं । कुनै पनि सरकारहरुलाई द्रुत विकास गर्नका लागि यिनीहरुको हातगोडा नबाँधिदिऔं । कारण धेरै नेताहरु भएकाले सरकारहरुले काम नै गर्न सकेनन् । सधैँ यस्तो हुने हो भने हामी भोलि नयाँ–नयाँ पार्टी र नयाँ व्यक्तिहरुलाई मौका दिन तथा भोट दिन बाध्य हुन्छौं । सरकारमा रहनेहरुले आफ्नो स्वार्थका लागि युवाहरुलाई मासुभात खुवाएर लठ्ठ पार्ने गरेको सबैलाई थाहा भएकै कुरा हो । उनीहरुलाई आफूहरुको समर्थनमा विभिन्न नारा–जुलुसमा सहभागी गराउने गरेको पनि पाइन्छ । ती युवाहरुलाई दीर्घकालीन योजना बनाएर उपलब्धिमूलक कार्यमा लगाउन म अनुरोध गर्दछु ।
– रमेशकेशरी वैद्य, छत्रपाटी, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्