सेवा दिने नाममा वित्तीय संस्थाको रजाइँ



हाम्रो देशमा जति पनि सरकारी, निजी बैंक र सहकारीहरु छन्, यी वित्तीय संस्थाहरुको एउटै महत्वपूर्ण उद्देश्य भनेको जनता ठग्ने हो । बैंक, फाइनान्सको जनता ठग्ने एउटै पोलिसी हो– सर्वसाधारणको पैसा लगेर सस्तो ब्याजमा खातामा राख्न लगाउने अनि त्यही रकमचाहिँ आवश्यक परेको व्यक्तिलाई उसको सम्पूर्ण जेथा धितो राखेर महँगो ब्याजमा दिने ।

हामीले मिहिनेत गरेर, खुन–पसिना बगाएर कमाएको थोरै रकम बैंकमा लगेर राख्छौँ । तर हामीले खाई–नखाई जोडेको थोरै रकमको बैंक, फाइनान्सले ब्याज नै दिँदैन । बैंक, फाइनान्समा हरेक वर्ष साधारणसभाजस्ता विभिन्न कार्यक्रमहरुको आयोजना गरेको हुन्छ । तर त्यस्ता कार्यक्रमहरुमा त्यस वित्तीय संस्थाका कर्मचारीहरुका आफन्त र ठूला–ठूला लगानीकर्ताहरुलाई मात्र उपस्थित गराइएको हुन्छ ।
बैंक, फाइनान्सका कर्मचारीहरु सीधासाधी जनतालाई फसाउन निकै नै सिपालु हुन्छन् । सर्वसाधारणको रकम लगेर सस्तो ब्याजमा ८–१० वर्ष मुद्दती खातामा लगेर राख्ने अनि त्यही रकमचाहिँ महँगो ब्याजमा लाउने । बैंक, फाइनान्सले सर्वसाधारणले डिपोजिट गरेको रकम महिनादिन नमरीकन ब्याज दिँदैन । जस्तो मेरो महिना १ गते मर्छ र मै पैसाको खाँचो परेर पाँच दिनअगाडि पैसा निकालेँ भने त्यो पच्चीस दिनको ब्याज मैले पाउँदिन ।

सहकारीले बजारबाट पैसा उठाउनको लागि दैनिक कर्मचारी खटाएको हृन्छ । कसैले सय रुपियाँ राख्छन् भने हुनेखानेले एक लाखसम्म राख्छन् । यसरी राखेको रकमको पनि आमजनताले ब्याज पाएका छैनन् । बैंक, फाइनान्सबाट रकम कर्जा लिएबापत सर्वसाधारणले आफ्नो सम्पूर्ण जेथा धितो राख्नुपर्ने । बैंक, फाइनान्सको निर्देशनअनुसार कागजात तयार गर्नुपर्ने, सेवाशुल्क तिर्नुपर्ने । अनि हाम्रो पैसाचाहिँ बैंक, फाइनान्समा डिपोजिट गर्दा हामीले कै पाउँछौँ ? एउटा शुद्धो चेक र भौचर ।

सर्वसाधारणको एक करोडको सम्पत्ति छ भने भ्यालुएसन गरेर मुस्किलले पच्चिसदेखि तीस लाख दिन्छ । अझै भ्यालुएसनको खर्च पनि सर्वसाधारणकै । पचास लाखको गाडीको भ्यालुएसन गरेपछि सर्वसाधारणको हातमा जम्मा पन्ध्र लाख आउँछ । शेयर र गरगहनाको यस्तै हालत । त्यसपछि त सर्वसाधारणको यी अचल सम्पत्तिहरु बैंक, फाइनान्सकै नाममा पास हुन्छ ।

हामीसँग भएकोे सम्पत्तिको तीन भागचाहिँ बैंक, फाइनान्सले राख्छ र एक भाग लोनको स्वीकृति दिन्छ । मैले धेरै व्यक्तिहरुले भनेको सुनेको बैंक, फाइनान्सबाट लोन स्वीकृत गर्न घूस खुवाउनुपर्छ रे । आफ्नै जमिन जेथा राखेर पनि लोन पास गर्नको लागि यी घूसखोरहरुलाई घूस खुवाउनुपर्ने ।

हामी जस्तो दैनिक कमाएर गुजारा गर्नेहरुलाई त सय रुपियाँ भनेको पनि धेरै हुन्छ । खाई–नखाई दैनिक सहकारीमा सय रुपियाँ जम्मा गर्छौं । आवश्यक परेको बेलामा टार्न हुन्छ भन्ने सोच हामी धेरैमा छ । दैनिक जम्मा गरेको पैसा अलिक धेरै भयो भने कुनै व्यापार व्यवसायमा ल्याउने मानसिकता हामीमा छ । केही गरी रकम अपुग भयो । अनि सहकारीमा लोन माग्न गएबापत दुईजना जमानीकर्ता राख्नुपर्ने । हाम्रो पैसा सहकारीमा डिपोजिट गर्दाचाहिँ जमानीकर्ता नचाहिने । अनि केही गरी लोन चाहियो भने जमानीकर्ता राख्नुपर्ने ।
जमानीकर्ता पनि त्यही बैंक, फाइनान्सको चाहिने । एकजनाको त्यो सहकारीमा बचत रकम पचास हजार छ । उसलाई एक लाख रुपियाँको आवश्यक परेको छ । अर्को दुईजनाको रकम जोड्दा त डेढ लाख रुपियाँ हुन्छ । एक लाख रुपियाँ निकाल्नको लागि डेढ लाख रुपियाँ रोक्का गर्ने । यो त खुलेआम लुटको धन्दा भएन र ?

त्यो पनि कहाँ सजिलै पाइन्छ र ? यति रकम सहकारीबाट निकाल्नको लागि त्यस सहकारीको पाँच हजारको शेयर किन्नुपर्ने रे । एक लाखको तीन प्रतिशत सेवाशुल्क तिर्नुपर्ने रे । चेयरम्यानलाई पनि पाँच हजार घूस खुवाउनुपर्ने रे । अझै लोन लिएको दिनबाटै १८ देखि २० प्रतिशत ब्याज तिर्नुपर्ने रे । बैंक, फाइनान्सले जनतालाई सेवा दिने नाममा जनता ठग्दा पनि राज्य किन नदेखेको जस्तो गरिरहेको छ ?
लोन पास गर्नको लागि हामी सर्वसाधारणले यति पापड बेलेको हुन्छौं । यत्रो दुःख गरेर लोन त पास हुन्छ । तर लोन तिर्ने अवधि पनि सहकारीले नै तोकेको हुन्छ । दिनैपिच्छे एक लाखको किस्ता र ब्याज पनि सहकारीकै नियमअनुसार तिर्नुपर्ने । एकदिनको किस्ता केही गरी ढिलो भयो भने पेनाल्टी हान्छ । पेनाल्टी पनि सहकारीले तोकेअनुसार बीस प्रतिशत तिर्नुपर्ने रे ।

जो ब्यक्तिले १५ देखि २० प्रतिशत ब्याज तिर्ने सर्तमा बैंक, फाइनान्समा लगेर आफ्नो गाडी, घरजग्गा धितो राख्छ । उसको सम्पत्तिको भ्यालुएसन गरेर वित्तीय संस्थाले लोन पास पनि गरिदिन्छ । लोन तिर्ने अवधि पनि मान्छे हेरेर कति वर्ष दिने हो । सम्पूर्ण डकुमेन्ट पूरा भइसकेपछि लोन पास हुन्छ ।

तपाईंहरुले सुन्नुभएको होला बैंक, फाइनान्सले गरेर कत्ति मान्छे रोडमा आएका छन् । कत्तिले आत्महत्या पनि गरेका छन् । कति बौलाएर पनि हिँडेका छन् । कारण के ? बैंक, फाइनान्सले दिएको टर्चर खप्न नसक्नु । आजभन्दा केही वर्षअगाडि भक्तपुरको ठिमीस्थित घटेको यो घटना अझै पनि कतिलाई याद नै होला । घर धितो राखेर बैंकबाट ऋण लिएको एउटा व्यक्तिले बैंकको दबाब सहन सकेन । कतै जाने बाटो नदेखेपछि ऊ आफैंले आत्महत्या ग¥यो । सँगै उसले आफ्नी श्रीमती र एस.एल.सी. पास गरेको छोरालाई पनि मा¥यो ।
ऋण त उसको बाबुले लिएको थियो । त्यसमा छोराको के गल्ती ? तर बैंकको दबाबको कारणले आफ्नो वंश नै मास्नमा ऊ बाध्य भयो । यो त एउटा उदाहरण मात्र हो । बैंकले लोन लिएकोलाई लोन तिर्ने वातावरण सहज गरिदिने हो भने त कसैले आफ्नो बाँच्ने अधिकारमाथि ताला लगाउनुपर्दैनथ्यो कि ?

– अज्ञात

प्रतिक्रिया दिनुहोस्