पार्टी लोकतान्त्रिक, व्यवहार अलोकतान्त्रिक कहिलेसम्म ?

क्रियाशील सदस्यता स्वेच्छिक हुनुपर्छ !



गौरीप्रसाद दवाडी, काठमाडौं ।

गौरीप्रसाद दवाडी, काठमाडौंको वडा तहदेखिको राजनीतिक अनुभव समेट्दै क्षेत्रीय सचिव, जिल्ला सदस्य, जिल्ला सचिव, जिल्ला उपाध्यक्ष भई पाँच दशकदेखि नेपाली कांग्रेसको सांगठनिक काम गरेका व्यक्ति हुनुहुन्छ । पेसाले प्राध्यापक भई राजनीति, समाजसेवा र शिक्षा सेवालाई निरन्तरता दिँदै आएका दवाडी नेपाली कांग्रेसको प्रशिक्षण विभाग, शिक्षा विभागमा रहेर काम गरी अहिले काठमाडौं शिक्षा क्याम्पस चन्द्रागिरिमा आबद्ध हुनुहुन्छ । प्रस्तुत छ, उहाँको पार्टीभित्रको विवाद र चौधौं महाधिवेशनको तयारीलगायतका विषयमा नेपाल समाचारपत्रले उहाँसँग गरेको कुराकानी:

नेपाली कांग्रेसलाई समाजवादी पार्टी भनिन्छ तर यसका लागि ठोस कार्यक्रम देखिँदैन ?

नेपाली कांग्रेसको आदर्श राष्ट्रियता लोकतन्त्र र समाजवाद हो । नेपालका अन्य पार्टीहरु पनि समाजवाद भन्न रुचाउँछन् । भिन्नता के हो भने, नेपाली कांग्रेस प्रजातन्त्रमा विश्वास राख्ने हुँदा कांग्रेस पार्टी प्रजातान्त्रिक समाजवादी हो । समाजवाद जनता केन्द्रित राज्य व्यवस्था हो र लोक कल्याणकारिता पार्टीको प्राप्ति हो । नागरिकको सुरक्षा स्वतन्त्रता, वृत्ति विकास, मानव अधिकारका लागि कांग्रेसको ध्यान केन्द्रित रहेको हुन्छ । सामाजिक सुरक्षाअन्तर्गत मानवीय आधारभूत आवश्यकता परिपूर्ति गर्ने नागरिक तयार गर्ने अभिप्रायले कांग्रेस पार्टीले शिक्षा स्वास्थ्य सामाजिक विकास केन्द्रित कार्यक्रम ल्याएको हुन्छ जसले मानिसको वृत्ति विकासमा सहजता ल्याओस् र सरल जीवनयापन गर्न सकोस् भनेर कांग्रेसले संख्यात्मक विद्यालय सञ्चालन गर्ने नीति बनायो जसअन्तर्गत हजारौं संख्यामा विद्यालय, युनिभर्सिटी खुले, त्यस्तै स्वास्थ्य क्षेत्रमा स्वास्थ्य केन्द्र, अस्पताल खोल्ने नीति तय गरियो । त्यसै गरी, हजारौंको संख्यामा सहकारी खोल्ने नीति कांग्रेसले नै ल्याएको हो । ठूला उद्योग, व्यवसाय, जलपरियोजनाको विकासबाट अर्थ आर्जन गरेर विपन्नता, गरिबी निवारणतर्फ लगानी गरेर जनताको जीवनस्तर उकास्ने कांग्रेसको नीतिगत गन्तव्य हो । प्रजातान्त्रिक अभ्यासको साथसाथै आय आर्जन गर्ने उद्देश्यले हजारौं वन उपभोक्ता समिति गठन भए, यो पनि कांग्रसकै नीति हो । समाजमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रम कांग्रेसले ल्यायो तर राजनीतिक प्रतिस्पर्धा, कांग्रेसविरोधी प्रतिस्पर्धा, राजनीतिक दलका प्रपोगण्डाका कारण कांग्रेस पछि पर्दै गएको हो । अहिलेको बजारमुखी अर्थ व्यवस्था र समाजवादी व्यवस्था परस्पर विरोधी व्यवस्था भएकाले पनि कांग्रेसका समाजवादी कार्यक्रम ओझेलमा परेका छन् । तर, हामीप्रति चासो राख्नेलाई थाहा छ, कांग्रेसको राजनीति समाजवाद, निष्पक्ष निर्वाचन, जनउत्तरदायी सरकार हो । आर्थिक समाजवादअन्तर्गत प्रगतिशील कर प्रणाली, उत्पादनबाट आर्जन गरिएका अर्थ विधाजन विपन्न वर्गलाई प्राथमिकता दिँदै आधारभूत आवश्यकता परिपूर्तिमा प्राथमिकता दिँदै समाजका सबै वर्ग क्षेत्रको आवश्यकता सुनिश्चित गरी वितरण गर्दै निजी क्षेत्र सहकारी र सरकारको समन्वयात्मक आर्थिक नीति तय गरी राष्ट्रिय विकास गर्ने यसको नीति हो । सामाजिक समाजवादअन्तर्गत आफ्नो शासन आफैं गर्ने अवधारणाले स्थानीय अधिकार सम्पन्न सरकारले विभिन्न संघ–संस्था र समितिको माध्यमबाट विविधताको समाजलाई एकताको सूत्रमा बाँधी आत्म विकास गर्दै सामाजिक भावनाले प्रेरित समाज सिर्जना नै सामाजिक समाजवाद हो जो नेपाली कांग्रसले अंगीकार गरेको छ ।

विसं २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट बनेको नेपाली कांग्रेसमा स्थापनादेखि आजसम्म दुई धार देखिन्छ । आज सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल मात्र नभएर अरू पनि खेमा छन् । यसै गरी अघि बढेर नेकाले आगामी राष्ट्रिय निर्वाचन जित्न सक्छ ?

संगठनको नेतृत्व र उसको व्यक्तिको प्रभावले पार्टीमा धार बन्दछ र प्रतिस्पर्धाका लागि पनि व्यक्तिहरु धारमा आबद्ध हुन्छन् । अहिले नेपाली कांग्रेसमा विभिन्न व्यक्तिले धार बनाएका छन् । परम्परागत रामचन्द्र पौडेल र शेरबहादुर देउवाको व्यक्तिगत धारमा तेह्रौं अधिवेशन आएपछि कृष्णप्रसाद सिटौलाको वैचारिक धार निर्माण हुन गयो । आगामी चौधौं अधिवेशनमा डा. शेखर कोइरालाले क्रियाशीलताको आधारमा अर्को धार निर्माण गर्दै हुनुहुन्छ भने अन्य व्यक्तिहरुले पनि आफ्नो समूहभित्रको नेतृत्वको खिलाफमा उम्मेदवारी दिने तयारी गरिरहेछन् । यसको बुझाइ कांग्रेस पार्टीमा नेतृत्व गर्छु भन्ने आँट थपिँदै गएको छ । जसका कारणले ५–६ समूह पनि हुन सक्छ । जहाँसम्म समूह भएर चुनाव जित्न सक्छ भन्ने प्रश्न सम्बन्धमा कांग्रेस पार्टी नेता प्रधान पार्टी हो । पार्टीले निर्वाचन क्षेत्रको सक्रिय नेता जसलाई जनताले पत्याएका छन्, कार्यकर्ताले पत्याएका छन् त्यस्ताले टिकट पाएमा निर्वाचनमा सफल हुन्छन् ।

नेपाल तरुण दल र नेविसंघ अस्तित्वमै नभएसरह छन् । यिनीहरुलाई पुनर्जीवित कसरी गर्ने ?

नेताहरूको संकीर्ण मानसिकता र आफ्नो पक्ष जिताउन नसकिने मानसिकताका कारण अधिवेशन नगराएर नेविसंघ, तरुण दल सक्रिय नदेखिएका हुन् । राजनीतिक पार्टी जीवित संस्था भएका कारण औपचारिक संगठन नदेखिए तापनि हरेक तरुण नेता, विद्यार्थी नेताका आ–आफ्ना समूह छन् ती समूह आ–आफ्नो स्थानीय, क्षेत्रीय, जिल्लामा स्वतः परिचालित हुन्छन् । संस्था परिचालनका लागि अधिवेशन गराउन चौधौं महाधिवेशन पछि मात्र हुने आँकलन गर्न सकिन्छ । आम चुनाव परिचालनका लागि क्षेत्रीय समिति र उम्मेदवारले तरुण, विद्यार्थी महिला आदिका छुट्टाछुट्टै समिति बनाउने प्रचलन छ ।

२०७४ सालको निर्वाचनमा नेकाले २ सय ७५ सिटको प्रतिनिधिसभामा ६३ मात्र पाएको थियो, अब आगामी निर्वाचनमा कति पाउँला ?
जनतामा परिवर्तनको आशाको दियो जलिरहेको अवस्थामा अस्थिरता र सरकार परिवर्तनले वाक्कदिक्क भएका जनतामा एमाले, माओवादी केन्द्र दुई कम्युनिस्ट पार्टी एकीकरणले आपूmहरु मुक्ति पाउने आँकलनले जनताले कम्युनिस्ट पार्टीलाई व्यापक मतदान गरे जसको परिणाम कांग्रेसले २०७५ मा ६३ सिट लिएर खुम्चिनु प¥यो । कम्युनिस्ट पार्टीहरु झण्डै दुई तिहाइको संसद् बनाउन सफल भए तर त्यसको परिणाम जनताले देखेका छन् । आगामी निर्वाचनमा कम्युनिस्ट कांग्रेसमध्ये छनोट गर्नुपरेमा कांग्रेस नै छनोट गर्ने छन् । तर, कांग्रेसले सडेगलेका, जनताले नपत्याएका र पटक–पटक चुनाव लडेर जनताको इच्छाविपरीत काम गरेका भ्रष्टाचार र अन्य नैतिक पतनबाट गन्हाएका व्यक्तिलाई टिकट दिएमा जनता कांग्रेसविमुख भएर मतदान गर्न बाध्य हुनेछन् । अन्यथा कम्युनिस्ट सरकार र एमालेको अकर्मण्यताका कारण हालै बनेको सरकारको क्रियाकलापले पनि आगामी निर्वाचनमा प्रभाव पार्ने हुनाले अहिले यति नै सिट भनेर आँकलन गर्न नसकिए पनि कांग्रेसले सम्मानजनक स्थान सुरक्षित गर्ने निश्चित छ ।

नेपाली कांग्रेसको आगामी महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन के कुरामा ध्यान दिनु पर्ला ?

२०४६ सालको जनआन्दोलनपश्चात् खुलारूपमा आठौं महाधिवेशन भएको थियो सोही अधिवेशनमा प्रतिस्पर्धाका लागि व्यक्ति छनोट क्रियाशील सदस्यको आधारमा हुने हुँदा यो प्रक्रिया विवादित हुन पुग्यो र आजसम्म यसको उपचार भएन । जबसम्म क्रियाशील सदस्य स्वेच्छिक गरिँदैन जुन व्यक्ति कांग्रेस सदस्यता लिन चाहन्छ स्वतः प्राप्त गर्ने र प्रतिस्पर्धामा सहभागी हुने वातावरण बन्दैन तबसम्म कांग्रेसको संगठनमा अपनत्वको भावना निर्माण हुन सक्दैन । पार्टीमा लामो समयसम्म पद हडपेर बस्ने परिपाटीले नेतृत्व परिवर्तन अप्ठेरो अवस्था छ । पार्टी लोकतान्त्रिक भए पनि व्यवहार अलोकतान्त्रिक भएकाले क्रियाशील सदस्य स्वेच्छिक हुनुपर्छ । क्रियाशील सदस्यबाटै नेतृत्व चयन गर्ने व्यवस्था नभएसम्म कांग्रेस एकता अधिवेशन हुन सक्दैन । अहिलेका अधिवेशन नेता र कार्यकर्ता बीचको प्रतिस्पर्धा हो । यसको परिणाम स्वामित्वमा गाँसिएको जस्तो देखिन्छ केन्द्रमा हालिमुहाली गरेर बसेको कांग्रेससँग संगठन गरेर स्थानीय तहमा बसेर काम गरिरहेको बीचको अन्तरद्वन्द्व नमेटिएसम्म कांग्रेस एकता हुन सक्दैन । अहिले महाधिवेशन पनि प्रतिस्पर्धा विगतजस्तै हुन ता पनि नेपालको संविधानले प्रत्याभूति गरेका समावेशीताका कारणले स्थानीय तहदेखि नै सगठनमा सहभागिता बढ्ने छ र विगतभन्दा परिणाममूलक कांग्रेस बन्नेछ ।

पार्टीमा युवाको नेतृत्व नभएका कारण पार्टीले पछिल्ला वर्षमा कमजोरी भोग्नु परेको हो भनिन्छ, तपाई के भन्नुहुन्छ ?

नेपाली कांग्रेसमा अहिले हजारौं युवा विभिन्न संगठनमा बसेर काम गरिरहेका छन् स्थानीय तह, क्षेत्रीय तह पालिका तहमा काम गर्ने सबै युवा नै हुन् । संगठन गरेर जनताको मन जित्ने ठाउँमा युवा नै छन् तर युवाले काम गरेर र संगठन बनाएर जनतामा प्रभाव पार्ने तथा प्रतिस्पर्धामा उत्रने आँट गरेका छैनन् । युवा–युवाबीच सहकार्य एवं एकता कायम गर्न सकेका छैनन् र नेतृत्वमा जनताले आँकलन गरेका युवा नेता पनि अरूको समूहमा टाँसिएर केन्द्रीय पदाधिकारी हुन प्रयत्न गरिरहेका छन् । वैचारिक नेतृत्व क्रियाशीलताभन्दा पनि कुन समूहमा रहेर आफूलाई सुरक्षित गर्ने भन्नेमा उनीहरुको मनोविज्ञान बुझिन्छ र नेताको दान उनीहरुले खोजिरहेछन् । नेतृत्व त प्रतिस्पर्धा गरेर लडेर प्राप्त गरिने हो, नेता दिएर बनाएर बन्ने होइन भन्ने युवाहरुले बुझेका भए पनि प्रतिस्पर्धामा आउन सकेका छैनन् । यसपटकको चौधौं अधिवेशनमा पदाधिकारीसम्मको प्रतिस्पर्धामा केही युवा आउन खोजेका छन् तापनि समूहकै भरोसामा छन् । पार्टीको तलका निकायमा रहेका युवाले पार्टी जोगाएका छन् तर यिनको तालमेल केन्द्रीय नेतृत्वसँग नमिल्नुले पार्टी सुदृढ हुन सकेको छैन । युवाको आवश्यकता केन्द्रीय नेतृत्वले बुझेका भए पनि सत्तामा रहने महत्वाकांक्षाले नेतृत्वबाट नहट्नु प्राकृतिक स्वभाव नै हो । युवाले आँट गरेमा मतदान गर्न कार्यकर्ता तयारै रहेका छन् । तर, आँटको र विधानको कमजोरी रहेसम्म युवा जोस–जाँगरको नेतृत्व कांगे्रेसले पाउन अझै समय लाग्नेछ ।

नेपाली कांग्रेस बारम्बार सरकारमा आयो, निकै महत्वका राष्ट्रिय निर्णय र कार्यान्वयन पनि ग¥यो, तर त्यसको राम्रो क्यास गर्न नसकेका कारण पनि निर्वाचनमा कमजोर रह्यो भनिन्छ नि ?

२०४६ सालको जनआन्दोलनपश्चात् प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको एक वर्षे सरकार र २०४८ को आमनिर्वाचनबाट गठित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ३ वर्षे कार्यकाल नेपालको परिवर्तनमा महत्वपूर्ण रह्यो । सम्पूर्ण पञ्चायती कानुन २०४७ को संविधानअनुसार सोही समयमा बनेका हुन्, त्यसैको आधारमा आजसम्म देश चलेको छ । त्यसपछि अस्थिर सरकारका कारण नियम कानुन त्यति बन्न पाएनन् । कांग्रेस सरकारले गरेका महत्वपूर्ण कार्यहरु धेरै छैन् । समाजवादको अवधारणाले सहकारी ऐन जारी गरियो जसका कारणले आज देशभर ५० हजारभन्दा धेरै सहकारीमा लाखौं सदस्यहरु कार्यरत छन् । उपभोक्ता समितिहरु गठन गर्ने व्यवस्था नेपाली कांग्रेसले ल्याएको हो, आज देशमा हजारौं सख्यामा वन उपभोक्ता समिति निर्माण छन्, खानेपानी उपभोक्ता समिति गठन भई आ–आफ्ना क्षेत्रमा कार्यरत आर्थिक सामाजिक विकासमा क्रियाशील छन् । शिक्षाको विकास र सबैलाई उच्च शिक्षासम्म पहुँच पुगोस् भन्ने उद्देश्यले उदार शिक्षा नीति कांग्रेसको सरकारले ल्याएको हो जसका कारण निजी र सामुदायिक क्षेत्रमा हजारौं विद्यालय, महाविद्यालय खुले । त्यसै गरी, विश्वविद्यालयको संख्यात्मक वृद्धि व्यवस्थापन नीति कांग्रेस सरकारकै हो । आर्थिक उन्नतिका लागि बजारमूखी अर्थ व्यवस्था, आर्थिक उदारीकरण, प्रतिस्पर्धात्मक आर्थिक व्यवस्था, सरकारी, निजी र सहकारी ३ खम्बे आर्थिक र व्यापारिक नीति नेपाली कांग्रेसकै अवधारणा हुन् । आयकर नीति मौजुदा ट्याक्स, म्याटको नीति नेपाली कांग्रेसकै पालाको उपज हो जुन नीति १० वर्षे जनयुद्धमा पनि देशमा उठ्नुपर्ने कर प्रणालीमा असर परेन । भ्रष्टाचार निवारणका लागि अधिकार सम्पन्न अख्तियार अनुसन्धान आयोग कांग्रेसले गठन गरेको हो । राष्ट्रिय सतर्कता केन्द्र, महिला हकहितका लागि महिला आयोग आदिवासी जनजाति आयोग, मानव अधिकार अयोग कांग्रेस सरकारकै उपज हो । यस सम्बन्धमा उल्लेखनीय विषय श्रम सम्झौता गरेर विदेशी कामदार पठाउने व्यवस्था पनि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा निर्णय भई कार्यान्वयन भएको हो । युवा पलायनको भाषण र चिन्ता भए पनि देश चलाउन आज सोही युवाले पठाएको रेमिटेन्सले धानेको छ । यी अन्ततः लोकतान्त्रिक, जन उपयोगी काम र नीतिहरु कांग्रेसले गरेको भए तापनि प्रचार शैली नमिल्दा, नेताले गरेका खराब कामको प्रपोगण्डा हुँदा, राजनीति गर्नेको नैतिकतामा ह्रास आएका कारण कांग्रेस बदनाम हुँदै गएको र सबै राजनीति गर्ने उस्तै हुन् भन्ने जनधारणाका कारण कांग्रेस प्रभावित भएको हो ।

राजपालगायतका तराईवादी पार्टीको गठनले तराईमा नेपाली कांग्रेस कमजोर भएको प्रमाणित गर्छ ? कांग्रेस नेतृत्वमा रहेका महन्थ ठाकुरले नेका छाडेर जानुका कारण के हो ?

नेपालको राजनीति व्यवस्थालाई चिरफार गर्दा लामो समयसम्म देश अलोकतान्त्रिक र गरिबीको चपेटामै रह्यो । देशको बनोट, भू–राजनीतिक अवस्थाका कारण काठमाडौं केन्द्रित राज्यव्यवस्था केन्द्रमुखी नेताका कारण देशको विकास पनि समानान्तर भएन जसका कारण राजनीतिक दलका जातीय, क्षेत्रीय, लैंगिक विभेदको ऐजेन्डाले प्रश्रय पायो, विकास विभेद अन्त्यका नामले मधेस आन्दोलन संघीयताको एजेन्डा लिएर अघि बढ्यो । कांग्रेस सत्ताधारी पार्टी नै रहेकाले यो पार्टीबाट समस्या समाधान नहुने आँकलन गरी मधेस पार्टी जन्मिएको हो । आफ्नो अस्तित्व कांग्रेस, कम्युनिस्टमा नरहने देखेर अधिकांश नेताहरु क्षेत्रीय पार्टीमा लागे । गत आम निर्वाचनमा पनि कम्युनिस्ट पार्टी हुने सम्भावनाहरु देखेर मधेस पार्टी कम्युनिस्ट पार्टीसँग जोडिएर कांग्रेस कमजोर देखिएको हो । वास्तवमा तराई कांग्रेस विचारले प्रेरित जनता रहेको ठाउँ हो । सत्ता भोगका लागि नेताहरु अवसरवादी भएकाले तराईको विकास हुन नसकेर जनता पछौटेपन र गरिबी भोगिरहेका छन् ।

मुलुकको समृद्धि र अग्रमनका लागि नेकाको भिजन के हो वा के हुनुपर्छ ?

संसदीय लोकतन्त्रका केही आधारभूत मूल्य–मान्यता छन् त्यही मूल्य–मान्यता, सिद्धान्त र विश्वव्यापी मानव अधिकारको संरक्षण गर्दै लोकतान्त्रिक समाजवादको अवधारणाले देश विकास गरी लोक कल्याणकारी राज्यको निर्माण कांग्रेस पार्टीको गन्तव्य हो । जबसम्म जनता स्वतन्त्र हुँदैनन् लोकतन्त्रको प्रत्याभूत जनतामा हुँदैन, देश मेरो हो भन्ने भावना जनताले महसुस गर्दैनन् त्यहाँ राष्ट्रियताको भावना जागृत हुँदैन, जनताले आफूलाई रैती अर्थात् शासित शोषित ठान्छन् । त्यसैले कांग्रेसको उन्नतिको पहिलो सर्त लोकतन्त्र अर्थात् स्वतन्त्रता हो । स्वतन्त्ररूपले निर्भय भएर बोल्न पाउने, लेख्न पाउने काम गर्न पाउने, उत्पादन गर्न पाउने वातावरण बनेपछि ऊ स्वयं उत्पादक नागरिकमा परिणत हुन्छ, राज्यले उसलाई आवश्यक सीप, सुरक्षा प्रदान गर्ने वातावरण तयार गरिदिने हो । समाजवादी राज्य व्यवस्थामा राज्यको दायित्व सबै प्रकारका नागरिकको समस्या बुझी उनीहरुको चाहना अनुसारको नीति–नियम र परिपाटी बसाल्ने व्यवस्था मिलाउने हो । यसमा परिवर्तनका लागि कांग्रेस प्रस्ट छ ।

नेपाली कांग्रेस पार्टीलाई सत्तामा जान हुँदैन भन्ने जनदबाब थियो । शेरबहादुर देउवा प्रधानमन्त्री स्वीकारेर सत्तामा जानुभयो यसले पार्टीलाई नोक्सान पु-याउँदैन ?

राजनीति पनि एक प्रकारको खेल हो जसरी खेल खेल्दा नियम पालना गर्नुपर्छ, योग्यता पुगेकाले मात्र खेल खेल्न पाउँछ, राजनीति पनि त्यस्तै हो । जनताबाट निर्वाचित भएर संसद्मा पुगेपछि संसद्को नियमअनुसार चल्नुपर्छ । कांग्रेसलाई संख्यात्मक आधारमा प्रमुख प्रतिपक्षको भूमिका प्राप्त भएको यियो । त्यसैले ऊ रचनात्मक प्रतिपक्षकै भूमिकामा बस्यो । सत्ताको कुनै चाहना राखेको थिएन । जब नेपाल कम्युनिस्ट पार्टी आन्तरिक कलह र अकर्मण्यतामा झेलिएर टुटफुटको संघारमा मात्र पुगेनन्, गैरसंवैधानिक प्रक्रियाले सत्ता कब्जा गर्न खोजे, तब अन्य संसद्मा ओली सरकारका विपक्षमा रहेका सांसदको र पार्टीहरुको आग्रह कांग्रेसले स्वीकार्नुपर्ने बाध्यता आइपरेकाले सत्तामा जानुपरेको हो । यदि कांग्रेसले सत्ता नसम्हाल्ने हो भने नेपालको संविधान र वर्तमान राज्य व्यवस्था नै संकटमा पर्ने अवस्था सिर्जना भएबाट सरकारको भूमिकामा कांग्रेस जानुपरेको हो ।

सर्वोच्च अदालतको फैसला कार्यपालिका माथिको हस्तक्षेप हो भनेर केही मानिस सडक आन्दोलनमा आएका छन्, यसबारे तपार्इंको धारणा के छ ?

नेपालमा २००७ सालको क्रान्तिले प्रजातन्त्र प्राप्त भए तापनि २०७२ सालको संविधान बनाउने समयसम्म आउँदा नेपालले सात दशकसम्म शासन गर्ने प्रधानमन्त्रीहरूले पूर्ण समय काम गर्न पाएनन् । २०४६ सालको संविधान र २०६२÷०६३ को आन्दोलनले बनाएको गणतान्त्रिक संविधानका प्रधानमन्त्रीले पनि पूर्णकाल सत्ता चलाउन पाएनन्÷सकेनन् भन्ने समस्यामा संविधानसभाका सदस्यले छलफल गरी वैकल्पिक सरकार बन्न सक्ने अवस्था रहेसम्म संसद् विघटन नगरिने आशयले संविधानको धारा ७६ मा कार्यपालिकाको प्रावधान राखियो । जसअनुसार बहुमत दलको प्रधानमन्त्री, संयुक्त २ वा २ भन्दा बढी दलको प्रधानमन्त्री, अल्पमतको प्रधानमन्त्री र संसद् सदस्यहरुको समर्थनको प्रधानमन्त्रीको व्यवस्था गरियो । तर, यो व्यवस्थाको प्रतिकूल अल्पमतमा परेका प्रधानमन्त्रीले मनपरी ढंगले संसद् विघटन गरी सत्ता कब्जा गरिनै रहेको अवस्थामा प्रधामन्त्री केपी ओलीको सरकारको विरुद्धमा वैकल्पिक सरकार हुन सक्ने अवस्था अतिक्रमण भएको सन्दर्भमा सर्वोच्च अदालतले न्यायिक फैसला गरेको हो जसका कारण नेकपा एमाले ओली समूहका कार्यकर्ता आफ्नो संगठन क्रियाशीलता बढाउन राजनीतिक उद्देश्यले सडकमा आएका हुन् । अदालतको फैसला स्थीर सरकारको आशयअनुसार नै छ ।

प्रतिक्रिया दिनुहोस्