मौद्रिक नीति ढिला आउने



काठमाडौं, (नेस) । 

चालू आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति आउन केही ढिलाइ हुने संकेत देखिएको छ । राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरिरहेका बेला सरकार परिवर्तन भएपछि नीति आउन ढिलाइ भएको हो ।

नयाँ सरकार गठन भएपछि सरकारको नीति र प्राथमिकतालाई समेट्नका निम्ति राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्न ढिलाइ गरेको स्रोतको भनाइ छ । ‘सामान्यतया साउनको पहिलो सातामै मौद्रिक नीति आउने गरेको थियो । तर, राजनीतिक परिवर्तनले यसपटक केही ढिलाइ हुने देखिएको छ ।’ राष्ट्र बैंक स्रोतको भनाइ छ । मौद्रिक नीति पछाडि धकेलिनुमा सरकारले बजेट प्रतिस्थापन अध्यादेश ल्याउने तयारी गरेकाले पनि हो । अघिल्लो सरकारले अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८-७९ को बजेट ल्याएको थियो । तर, बजेट कार्यान्वयन हुने बेलामा सरकार परिवर्तन भयो ।जसले गर्दा नयाँ सरकारको नीति र प्राथमिकता पनि फेरिएकाले सरकारले पूरक बजेट ल्याउनका लागि बजेट प्रतिस्थापन अध्यादेश ल्याउने तयारी गरेको छ । सरकारले ल्याउने नीतिलाई सहयोग पु-याउनका लागि केन्द्रीय बैंकले वित्तीय क्षेत्रलाई मार्गनिर्देश गर्ने गरी मौद्रिक नीति ल्याउने गरेको छ ।

बजेट प्रतिस्थापन अध्यादेश ल्याउने तयारीका साथै मौद्रिक नीति आउन ढिलाइ भएपछि वित्तीय क्षेत्रमा त्यसको नकरात्मक असर पर्ने विज्ञहरूको भनाइ छ । सरकारले बजेटको पहिलो त्रयमासिक समीक्षामा आफ्नो नीतिलाई सम्बोधन गर्न सकिन्छ । तर, कोरोना कहरका कारण अर्थतन्त्र संकटमा परेका बेला आर्थिक पुनरूत्थानका निम्ति मौद्रिक नीति ल्याउन ढिलाइ गर्न नहुनेमा उनीहरूको छ । केन्द्रीय बैंकले बजेटमा छुटेका राहतका प्याकेज तथा अन्य नीतिगत व्यवस्थालाई मौद्रिक नीतिमार्फत् सम्बोधन गर्न सक्छ । अहिले सिंगो अर्थतन्त्र सरकारले ल्याउने राहतको प्याकेजलाई पर्र्खिएर बसेको छ । यो अवस्थामा मौद्रिक नीति आउन ढिलाइ हुँदा सिंगो आर्थिक क्षेत्र अलमलमा परेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्