स्काभेटरको बकेटमा खोप, ट्याक्टरबाट ढुवानी



दुर्गाप्रसाद शर्मा, पर्वत  । 

मुस्ताङका स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप एस्काभेटरको बकेटमा राखेर खोला तारी ट्याक्टरबाट ढुवानी गरेका छन् । तोकिएकै समयमा खोप केन्द्रमा खोप पु¥याउनुपर्ने बाध्यताले हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङका स्वास्थ्यकर्मीले एस्काभेटरको बकेटमा राखेर खोला तार्दै ट्याक्टरबाट खोप ढुवानी गरेका हुन् ।

एक महिनाअघि पनि खोलाको दुईतिरबाट लठ्ठीमा राखेर खोप ढुवानी गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि मुस्ताङका स्वास्थ्यकर्मीको प्रयासलाई विश्व स्वास्थ्य संगठनले प्रशंसा गरेको थियो । फेरि हिलाम्मै बनेर स्वास्थ्यकर्मीले खोप लगेको अर्को फोटो सामाजिक सञ्जालमा चर्चित बनेको छ । अत्यधिक वर्षाका कारण सडकमार्ग अवरुद्ध भएपछि खोला तार्न स्काभेटर प्रयोग गर्दै ट्याक्टरमा राखेर ढुवानी गरिएको स्वास्थ्यकर्मीले बताएका छन् । खोला तर्ने उपाय नलागेपछि विकल्पका रूपमा एस्काभेटर प्रयोग गरिएको लोमान्थाङ गाउँपालिकाका स्वास्थ्य प्रमुख तेन्जिङ नोर्बुले बताउनुभयो । ‘पाण्डाखोलामा बाढी आएपछि कर्मचारीहरु पालैपालो एक्साभेटरको बकेटमा बसेर खोला तरे’, उहाँले भन्नुभयो– ‘उनीहरु खोप बोकेर हिँड्दै थिए, त्यही बेलामा ट्रयाक्टर भेटियो । उनीहरुले नागरिकका लागि काम गरिरहेको र खाजा खानका लागि केही सहयोग गर्ने भनेपछि ट्याक्टरले केही दूरी माथिसम्म खोप लगिदियो । ’

लोमान्थाङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख तेन्जिङ नोर्बु करिब ४–५ दिन अगाडि गाउँपालिकाबाट एम्बुलेन्स लिएर खोप लिन सदरमुकाम जोमसोमतर्फ झरेको बताउनुहुन्छ । ‘बाटोमा वर्षामा मात्तिने र हिउँदमा सुक्ने पान्डा खोला पर्छ । कर्मचारीहरु झर्दै गरेको बेलामा खोला उर्लिएर आएको देखें । एम्बुलेन्स खोला तर्न नसक्ने भएपछि गाडीमा रहेका साथीहरुले एक–अर्काको हात समात्दै लहरो बनाएर खोला तारेका थिए’ –उहाँले सुनाउनुभयो । ‘जोखिम मोलेर दुःखको साथमा नागरिकका लागि काम गर्न पाउँदा खुसी लागेको छ’, तेन्जिङ भन्नुहुन्छ ।
सामान्यतः वर्षा नहुने र भएमा पनि नगण्य मात्रामा हुने हिमालपारिको जिल्ला मुस्ताङमा समेत यस वर्ष भारी मात्रामा वर्षा भयो । उर्लिंदै आएका खोलाले कहीं बाटो भत्काएका छन् त कहीं पहिरो गएको छ । विकट तर पर्यटकीय ठाउँका रूपमा रहेको मुस्ताङका स्थानीय तहमा खोप लैजान नै कठिन भइरहेका बेलामा मिहिनेतका साथ जसोतसो खोप लैजाने काम चलिरहेको स्वास्थ्य कार्यालय मुस्ताङका सूचना अधिकृत सुभद्रा दुलालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्