सदाबहार गीत प्रस्तुत गरी सम्झिईयो अरुण थापालाई



पुष्कर बुढाथोकी, भक्तपुर ।

थोरै भए पनि कालजयी गीत गाएर लोकप्रिय र अमर बनेका गायक हुन् स्व. अरुण थापा भक्तपुर सांगीतिक समाजले उनै सदावहार गायक थापाको सम्झनामा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ । थापाको २२औं स्मृती दिवसको अवसर पारेर मंगलबार समाजले यो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा गायक थापाले गाएका लोकप्रिय गीतहरुलाई बिभिन्न नयाँ तथा पुराना कलाकारहरुले प्रस्तुत गरेका थिए ।राष्ट्रिय गीत करोड मुटुहरुको एउटै ढुकढुकी नेपाल बोलको धुनबाट शुरु भएको सांगीतिक श्रद्धाञ्जली कार्यक्रममा गायक शम्भोचरण राजभन्डारीले तिमी राम राम भजि बाँच भन्ने कामना गरे भने वरिष्ठ गायक सत्य नारायण प्रजापतिले चोट के हो ब्यथा के को मार्फत गायक थापाको निधनबाट सांगीतिक क्षेत्रमा परेको चोट सम्झाए ।भक्तपुर सांगीतिक समाजका उपाध्यक्ष समेत रहेका गायक कपिल कसपालले ऋतुहरुमा तिमी हरियाली बसन्त हौँ मार्फत गीतसंगीत क्षेत्रका बसन्त बनेका थापाप्रति श्रद्धासुमन व्यक्त गरे भने गायक बिजेन्द्र चवालले भुलु भुलु लाग्यो गाउँदै गायक थापालाई भुल्न नहुनेमा जोड दिए ।यसैगरी गायक कुबेर राइले जति माया लाए पनि जति कसम खाएपनि बोलको गीत स्वर्गीय थापाको स्मृतीमा समर्पण गरे भने आखाँको निंद चोरी लाने बोलको गीतलाई गायक श्रीजल मधिकर्मीले प्रस्तुत गरे ।

कार्यक्रममा गायक सुनिल लोहलाले लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो, फक्रिएर वसन्तमा झर्ने फूलजस्तो’ गाउँदै गायक थापाको अभावले खट्किएको संगीत क्षेत्रकै कथा सम्झाए ।सांगीतिक कार्यक्रमलाई निरन्तरता दिंदै थापाको संझनामा गरिएको समाजको यो चौथो कार्यक्रम हो ।नेपाली गीत संगीतको संरक्षण र संवद्र्धनमा समर्पित संस्था समाजले गीतसंगीत मार्फत सदावहार गायक अरुण थापाप्रति सम्झना, सम्मान र श्रद्धाञ्जली प्रकट गर्न कार्यक्रम गरिएको समाजका सचिव अल्बर्ट बज्राचार्यले बताए ।कोभिड १९ का कारण विगतको जस्तो धेरै संख्यामा उपस्थिति गराएर कार्यक्रम गर्न नसकिएको भन्दै उनले संख्यात्मक रुपमा थोरै मानिसहरुको उपस्थिति रहेपनि गुणात्मक रुपमा कार्यक्रम सम्पन्न गरिएको बताए ।भक्तपुर दुधपाटीस्थित होटल ‘दि तिशा इन’ मा सम्पन्न भएको कार्यक्रममा किबोर्डमा वरिष्ठ संगीतकार कृष्ण सुन्दर सुखुजु,हार्मोनियममा शम्भोचरण राजभण्डारी, रिदम गितारमा सुनिल लोहला,गितारमा सरोज केसी र तबलामा रोशन भाशिमाले साथ दिएका थिए ।

थापालाई उनैले गायका गीतसंगीत मार्फत सम्झना गरिएको हो । २००८ सालमा जन्मिएका थापाको २०५६ साल साउन ५ मा काठमाडौंमा निधन भएको थियो ।उक्त अवसरमा गायक थापाको कर्णप्रिय गीत चोट के हो ब्यथा के हो का रचनाकार समेत रहेका वरिष्ठ गीतकार सुवास चन्द्र ढुंगेल र अर्का वरिष्ठ गीतकार एवं गायक रोशनकुमार राजभण्डारीले गायक थापा जस्तै अन्य सदाबहार गायक गायिकालाई पनि समाजले सम्झनुपर्ने बताए ।सांगीतिक समाजका अध्यक्ष गायक रहेका गायक प्रविण शाहीको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा सचिव अल्बर्ट बज्राचार्यले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन किरण सुवालले गरेका थिए । उक्त अवसरमा समाजका आजीवन सदस्यद्वय रुकेश रन्जीत र रविन थापालाई सम्मान गरिएको थियो ।कार्यक्रमको स्पोन्सर गुडविल कन्सल्टले गरेको थियो भने फोटोग्राफ पार्ट्नर क्याप्चर मोसन नेपाल र साउण्ड पार्टनर आराधना समूह रहेको थियो । त्यसैगरी मिडिया पार्टनरमा भक्तपुर पोस्ट र जनसंचार टिभी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्