तीजका गीतहरुमा बढ्दो छ छाडापन



तीजमा दोहोरी गीत कि रत्यौली गीत ? जताततै यस्तै सुनिन्छ । तीजका गीत त बजारमा पाइँदैनन् । पछिल्लो समय बजारमा तीज गीतको नाममा बजिरहेका गीतले तीजको मर्म बोल्दैनन् । संस्कृति र परम्पराअनुसार मनाइने तीज लोप भएको छ ।

मनपरि तरिकाका छाडा तीज गीतले गर्दा तीजको परम्परा नै ह्वीस्की खाएर इङ्लिस गीतमा नाच्नेजस्तो भइसकेको छ । कि त रत्यौलीमा डान्स गरेर तीज मनाउन थालिएको छ ? तीज आउनुभन्दा लामो समय अघिदेखि नै रेडियो, टीभी र युट्युबमा तीजका नाममा गीत बज्न थाल्छन् तर तीजको मर्म बोकेका गीत भेट्न भने गाह्रो छ ।तीज गीतका नाममा उच्छृङ्खल शब्द र दोहोरो अर्थ लाग्ने गीतहरूको बाढी आएको छ । तीजको गीतमा यसरी विकृति फैलनुमा सञ्चारमाध्यमकै हात र कमजोरी पनि देखिन्छ । जस्तो पायो त्यस्तो गीतलाई प्राथमिकता दिँदा पनि समस्या आएको छ । तीजका अवसरमा आएका अधिकांश गीत रत्यौली शैलीका छन् । यिनलाई सञ्चारमाध्यमले अनावश्यक प्रचार गरिदिएका छन् । त्यसैले पनि विकृति थप मौलाएको छ ।

पहिलेको तुलनामा अहिले तीज गीतमा धेरै लगानी गर्न थालिएको छ । संगीतदेखि भिडियोसम्म धेरै पैसा खर्च गरेर तयार हुने गरेका छन् । प्रतिफल कमाउन बजारमा बिक्ने गीत निकाल्नुपर्ने बाध्यता पनि होला । तर, यही कारणले संस्कृति मास्न हुँदैन । यो विषयमा गीत निकाल्नेले ठण्डा दिमागले सोच्न जरुरी छ । निजी सञ्चारमाध्यमले त बजारलाई ध्यानमा राखेर यस्ता गीत बजाऊलान्, सरकारी सञ्चारमाध्यमसमेत जिम्मेवार नभएको देखिएको छ ।
– रुपा शर्मा, कलंकी, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्