नेपालका लागि लोकतन्त्र कि साम्यवाद !



दामोदर पौडेल 

ऐमाले प्रतिपक्षमा बस्ने निर्णय भएछ । प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली हुनेछन् । सरकारमा माधवकुमारहरुले लगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको केवल केपीलाई हटाउन मात्र हो कि आफू सरकारमा जानको लागि हो भन्ने अझै व्यावहारिकरुपमा प्रस्ट हुन सकेको छैन ।

तर एउटै दलका सांसदहरुमध्ये केहीलाई सरकारमा र केहीलाई प्रतिपक्षीको लहरमा देखिनु पनि विश्वको लागि नयाँ राजनीतिको थालनी नै हुनेछ । वास्तवमा यस्तै भइसकेको छ । माधवकुमार नेपालले केपीलाई हराएर देउवालाई जिताए । अब नेपाल पक्षले सरकारलाई विश्वासको मत नदिनु भनेको ओलीलाई हटाएको कारण चुनाव देउवाको नेतृत्वमा गराउने भन्ने मात्र एक सूत्रीय लक्ष्य रहेछ भन्ने प्रस्ट हुनेछ ।आफ्नो बहिनी वा भाइको लागि साथीलाई विवाह गरिदिएर कुनै साथीलाई अझै आफ्नो बनाउन सकिएला तर स्वास्नी वा लोग्ने दिएर कसैलाई अझ नजिकको आफ्नो साथी बनाइँदैन भन्ने चलन थियो । अब रात्रि क्लबहरुमा साटिने वस्तुहरु थपिएका छन् भनिन्थ्यो केही समय पहिले । राजनीतिमा पनि त्यस्तो हुँदो रहेछ भन्ने अब मात्र थाहा पाइयो । प्रचण्ड आफ्नो टाउकोको मूल्य तोक्ने देउवाको घर बुढानीलकण्ठमा दौडेर जान्छन् । हिजो कम्युनिस्टको नाममा अतिवादी भनिएका प्रचण्ड नै माधवकुमार नेपालका विश्वासपात्र र ओलीका दुश्मन देखिन्छन् भन्नेहरु धेरै छन् ।

राजाको गोडामा पैसा राख्ने देउवा र माधवकुमार नेपालको एकता त स्वाभाविक हुनसक्छ । प्रचण्ड र देउवा एकठाउँमा बसेर, पछि विचार नमिले पनि मिल्ने विचार खोजेर, आफूले जित्ने २–४ सिटमा बार्गेनिङ गरेजस्तो गरेर, अरु जित्ने ठाउँमा प्रचण्डलाई पठाएर, बहुमत वा ठूलो दलका नेताहरुको हैसियतले भन्दा प्रचण्डको मायाले प्रधानमन्त्री बन्न देउवालाई आनन्द आउँछ भन्ने त विगतको चुनावले देखाएको हो । पाँचपटक प्रधानमन्त्री भइसकेका र अब दुईपटक अझै प्रधानमन्त्री बनेर ज्योतिषीलाई खुशी बनाउन चाहनेलाई पनि एउटा अवसर छ । काम चलाउजस्तो प्रधानमन्त्री अहिले भएकोमा चुनावको घोषणा गरेर चुनाव गराउँदा कामचलाउ प्रधानमन्त्रीको शपथ लिएमा ६ पटक पुग्न सक्छ ।
यो पार्टीको नाम अलग–अलग राखेको किन होला ? देउवाको मान्छे भएका माधव र प्रचण्ड ओलीका लागि कम्युनिस्ट नै होइनन् । देउवाजस्तो प्रतिक्रियावादी भनिनेको लागि काँध थाप्नेहरु कम्युनिस्ट नहुनु स्वाभाविक भए पनि ओलीलाई कम्युनिस्ट नै होइनन् भनेर उनलाई प्रचण्ड, वैद्यजस्ताले अस्वीकार गरेपछि ओली त कम्युनिस्ट हुने कुरै भएन । नेपालमा एउटा यस्तो ज्योतिषी गुरु चाहियो, जसले यो पक्का कम्युनिस्ट हो र यो पार्टी मात्र कम्युनिस्ट हो भन्न सकून् ।

सीधा जनतालाई अप्ठ्यारोमा पार्ने र यो कम्युनिस्ट, ऊ कम्युनिस्ट भनेर झगडा गर्ने पनि कम हुनेछ ।त्यसो त राजाले प्रधानमन्त्रीबाट हटाउँदा प्रतिगमन र पुनः प्रधानमन्त्री बनाउँदा राजालाई अग्रगमनका प्रतीक देख्नेले देशका धेरै नै लोकतन्त्रका मसिहाहरुलाई खुशी बनाएका छन् । लोकतन्त्रमा दल हुनु र दल फुट्नु भनेको स्वाभाविक हो । पदको लागि दल फुटाइन्छ, पदकै लागि नै कहिले एउटालाई राष्ट्रवादी र कहिले अर्कोलाई राष्ट्रवादी भनिन्छ । विदेशी दलाल पनि कुनै दलले अर्को दललाई सहयोग नगरेकोले त्यसरी सहयोग नगर्दा पाइरहने पगरी हो । यी दुवै शब्दहरु भलिबल खेलका खेलाडीजस्तै हुन्, जो रोटेसन खेलमा बदलिइरहन्छन् । कहिले कृष्ण रेफ्री, कहिले माधव र कहिले शेर, यो चलिरहन्छ । प्रतिक्रियावादीहरुको विरुद्धमा समानताकामी जनताको इच्छा र चाहनाअनुसार राष्ट्रवादी कम्युनिस्ट शक्तिहरु एक भएकाले केही सभ्य नागरिकहरुलाई पर्दा सजिलो मात्र भयो । नारायण भट्टराई नाम गरेका एकजना नेताको नाम सबैले सुनेको हुनुपर्छ । त्यस्तै खाँड थरका कुनै पक्किया कम्युनिस्ट साथीले पनि नारायणजीको जस्तै गरेर बीबीसीको कार्यक्रममा नै भन्नुभएको थियो कि म कम्युनिस्ट भएर नै मर्न चाहन्छु र मर्नभन्दा पहिला कम्युनिस्टको बहुमतको सरकार देख्न चाहन्छु ।यस्ता मानिसहरुको लक्ष्य पूरा भयो । उनीहरुले कम्युनिस्टको बहुमतको सकार देखे, कम्युनिस्टले कम्युनिस्टलाई देश बेचुवा, प्रतिक्रियावादी भनेको पनि बुझे । तीमध्ये सच्चा कम्युनिस्ट कुन हुन् भन्ने पनि फरक–फरक किसिमले जानकारी पाए ।

उनीहरुले भाषण सुनेअनुसार कम्युनिस्ट मुक्तिदाता हुन्, खालि पेटमा खाना र शरीरमा नाना मात्र होइन राम्रो विद्यालयमा पढाउने, बिरामी भएर उपचार नपाएर मर्न नपर्ने पनि हुन् भन्ने सुने । सर्वहाराहरुले छोराछोरी राम्रो विद्यालयमा पढाएको पनि जनताले देखे, मार्सी चामल खाएको पनि सुने । लाखौं पर्ने सामान लिएको र उपचारको लागि सर्वहाराहरु विदेशमा उपचार गर्न गएको पनि त देखे । तर ती सबै सरकारमा पुगेपछि भूतपूर्व सर्वहाराहरु भएका हुन् । उनीहरुलाई कम्युनिस्ट भनेको के हो भन्ने पनि राम्रोसँग थाहा भयो । एकथरीहरु सत्तामा नपुगेसम्म चाहिनेभन्दा बढी कम्युनिस्ट हुँदा रहेछन् र सत्तामा पुगेपछि कम्युनिस्ट आएपश्चात् सबै सुखी हुने मन्त्र आफूमा लगाउँदा रहेछन् । हुन पनि हो, लक्ष्य लागू गर्न समय लाग्छ । पहिला नेताहरुले लक्ष्यलाई लागू गर्नु कुनै अस्वाभाविक पनि त हैन ।जनताले भाषण मात्र पाएनन् बरु परिभाषामा पनि सत्तामा जान नपाउनेहरुले सधैँ सत्तामा जानेहरु कम्युनिस्ट होइनन् भनेको कम्युनिस्टहरुबाटै सुन्न पाए । एकथरी कम्युनिस्ट किताबमा लेखेको जस्तो हुन्छ तर व्यवहारमा कुनै दिन आउँछ होला भन्ने विश्वास गर्ने जमातहरु पनि भए ।

कल्पनाको स्वर्गजस्तो हो कम्युनिस्ट र कम्युनिजम भनेको । सरकारमा बस्नेहरु कम्युनिस्ट नै होइनन् भन्ने सुन्दा राम्रो लाग्ने धुनहरु पनि आए र नाम राखेपछि कम्युनिस्ट भइहाल्यो नि भन्नेहरु हैन मनमा राख्नेहरु त सबैतिर छन् ।कम्युनिस्ट भनेका आफूले भनेको नमानेमा मार्नेहरु हुन्, त्यसैले उनीहरुको विरोध नगर भन्ने पनि कुनै दिन देखे । अब राजनीति न हो, पद पाउने भएमा चोरहरुलाई र विदेशी दलाल भनिएकालाई असल भन्न पछि पर्दैनन् । असललाई कमसल हो मात्र हैन, बरु किन यसरी जे मन लाग्यो त्यही भनेको भन्दा यो सामान्य हो, हामीले हिजो लाल गद्दार भनेका पुष्पलाललाई अहिले कम्युनिस्टका मसिहा भनेकै छौं । मनमहोन पनि पहिला त गद्दार नै हुन् र कांग्रेसको पुच्छर पनि भनेकै हौं तापनि पछि प्रधानमन्त्री बनाइयो । यस्तो चल्छ राजनीतिमा । कुरा त कडा र गहिरो बन्न पुग्यो ।एकजना आदरणीय लोकतन्त्रवादी नेताले प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाइदिनासाथ उनलाई नेपालको राजनेता भन्न पछि परेनन् । भूमिगतका बेला मार्न चाहेकोमा पछि तिनैलाई प्रचण्डले पितातुल्य भन्न पछि परेनन् । जनताको लोकतन्त्र भनेको जनताको व्यवस्था हो । त्यसैले जनताबाट चुनिएपछि उनीहरुले जे गरे पनि हुंन्छ भन्ने पनि जाने । भ्रष्टाचार र कमिसनको खेलको लागि जनताले मत दिएर जिताउनुपर्दछ भन्ने पनि थाहा पाए ।

कम्युनिस्ट सबैभन्दा राम्रो हो, किनभने यसले जनतालाई केही दिन नसके पनि राम्रो गफ दिन्छ भन्नेसमेत जनताले थाहा पाए । कांग्रेस भनेको प्रवासमा बस्ने, गोली थाप्ने र जेल बस्ने हो, उसले जनतालाई नचिने पनि मत उसैलाई नै दिनुपर्दछ भन्ने कुरा पनि जनताले राम्रोसँग जानकारी पाए । यस अवस्थामा नेपालका लागि लोकतन्त्र कि साम्यवाद ठीक ?राजा मान्नेहरु अगाडि आउन कस्सिएका छन् । लोकतन्त्र र साम्यवादलाई नेपालमा कसरी थोत्रो र काम नलाग्ने वस्तु हो भनेर प्रमाणित गर्नेहरु नै राजा भनेको प्रतिगामी हो र लोकतन्त्रको विरोधी हो भनिरहेका छन् । हेर त राजाले कति गल्ती गरेको छ ? उसले जे पनि गर्छ, लगौटी र गन्जीबाहेक केही पनि देखाउन बाकी छैन भन्दै छन्, आफूहरु नाङ्गै बसेर हातले लाज छोप्नेहरु ।

यी वास्तविकतालाई केही सुरक्षित अवतरण त चाहिएला । जनतालाई भनेजति मात्र होइन त्योभन्दा धेरै भनिसकेको देखिन्छ तर गर्नेहरु पनि चाहियो । राजाले गरेमा के घाटा छ र ? गाई नै माने पनि दूध नदिने थारो गाई हुँ भनेर गाईले घरको रक्षा गर्ने कुकुरलाई नराम्रो र सानो सम्झन पाउँदैन ।

प्रतिक्रिया दिनुहोस्