स्वास्थ्य सचिवमा डा. पोखरेल



काठमाडौं, (नेस) ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सचिवमा डा. रोशन पोखरेल नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकोे बढुवा समिति बैठकको सिफारिसमा डा. पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले मन्त्रालयअन्तर्गत कार्यरत १२औं तहका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई पहिलो नम्बरमा, दोस्रोमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह र तेस्रो नम्बरमा महेन्द्रप्रसाद श्रेष्ठलाई सिफारिस गरेको थियो । सिफारिस गरिएका तीनै जना स्वास्थ्य क्षेत्रका अनुभवी र नियमनुसार योग्यता पुगेका वरिष्ठ व्यक्तिहरू भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको थियो ।

सचिवको नामावली छनोट कमिटीमा पूर्वस्वास्थ्य सचिव डा. किरण रेग्मीलाई विज्ञका रूपमा मनोनय गरिएको थियो । यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले स्वास्थ्य सचिवको जिम्मेवारी प्रशासनिक क्षेत्रको व्यक्तिलाई दिँदा ३ वर्षमा ७ जना सचिव परिवर्तन भएका थिए । जसले गर्दा स्वास्थ्य मन्त्रालयको काम–कारबाहीमा नकारात्मक असर पर्नुका साथै कोरोना भाइरसविरुद्धको स्वास्थ्य उपकरण खरिदमा ठूलो परिणाममा घोटाला भएको आरोपमा सर्वोच्च अदालतमा मुद्दासमेत दर्ता भएको थियो ।

स्वास्थ्यतर्फका तत्कालीन सचिव डा. पुष्पा चौधरीलाई तत्कालीन प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयमा जगेडामा राख्ने निर्णयविरुद्ध सर्वोच्च अदालतले स्टेअर्डर लिएर पुनः स्वास्थ्य मन्त्रालयमै हाजिर गराएको थियो । तर, मन्त्रालयमा उहाँलाई कामै गर्न नदिएपछि डा. चौधरीले राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा स्वीकृत भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यतर्फको सचिव पद रिक्त रहेको थियो ।

एक साताअघि ओली सरकारकै नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यतर्फको सचिव नियुक्त गर्ने निर्णय गरेको थियो । सोहीअनुरूप सचिव छनोट कमिटीले तीन जनाको नाम सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्