भर्चुअल कार्यक्रम गरेर सौन्दर्य जगतलाई चलायमान बनाउनु पर्छ:अश्विनी झा



फिल्मको हिरो बन्ने सपना बोकेर सर्लाहीबाट काठमाडौैं हानिएका अश्विनी झा अन्ततः फेसन कोरियोग्राफी क्षेत्रको हिरो बन्न पुगे। झा छोटो समयमै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका फेसन शो तथा सौन्दर्य प्रतियोगितामा कोरियोग्राफी गर्ने क्रममा आफ्नो नाम भिन्नै तरिकाले स्थापित गर्न सफल भएका छन्। मोडेल हुँदै कोरियोग्राफीमा सक्रिय हुँदै आएका उनी भारतमा गएर चर्चित कोरियोग्राफर कौशिक घोषसँग कोरियोग्राफी सिकेपछि कौशिककै साथमा भारतमा लामो समय कोरियोग्राफीको अनुभव बटुले। झाले भारतमा मोडलिङ र कोरियोग्राफीको अनुभव बटुलेपछि नेपाल आएर विगत एक दशकभन्दा बढी समयदेखि फेसन तथा ब्युटी प्याजेन्टको कोरियोग्राफी गरिरहेका छन्। कार्यक्रम सञ्चालनसमेत गर्दै आएका उनले मिस ब्युटिफुल नेपाल, मिस्टर एन्ड मिस इन्डिया एटिच्युड, मिस्टर एन्ड मिस आइकन, मिसेस नेपाल आइकन, मिसेस नेपाल इन्टरनेसनललगायत दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता फेसन शोका साथै मोडलिङ शो, विभिन्न उमेर समूह र समुदायका सौन्दर्य प्रतियोगिताका लागि कोरियोग्राफी गरिसकेका छन् भने विभिन्न सौन्दर्य प्रतियोगितामा निर्णायकको भूमिकासमेत निर्वाह गरेका छन् । फेसन कोरियोग्राफी करियर अगाडि बढाउने क्रममा युवा तथा खेलकुद मन्त्रालयबाट प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट पुुरस्कृत आश्विनी फेसन कोरियोग्राफीको क्षेत्रमा दिएको योगदानका लागि विभिन्न संस्थाबाट सम्मान तथा अवार्ड चुमेका छन्। उनै आश्विनीसँग नेपाल समाचारपत्रका लागि संवाददाता रश्मी थापाले गरेको कुराकानी यहाँ प्रस्तुत छ:

हाल के गर्दै हुनुहुन्छ?

लकडाउन अनि कोरोना जोखिमका कारण भौतिक रूपमा केही काम भएको छैन। तर, लक डाउनका कारण रोकिएका कार्यक्रमको तयारीका साथै मिसेस वल्र्ड नेपाल, मिसेस युनिभर्स तथा एसईईसम्बन्धि प्रतियोगिताको तयारीमा छु।

तपाईं हिरो बन्न आउनुभएको मान्छे, फेसन कोरियोग्राफीमा कसरी जोडिनुभयो?

सानैदेखि एक्टरहरूको प्रभाव थियो। त्यस कारण हिरो बन्न चाहन्थे तर, डाइरेक्ट हिरो बन्छु भनेर जानुभन्दा आफूलाई ग्रुम गरेर जाँदा राम्रो हुने भएकोले मोडलिङमा लागे। त्यो बेलाका नेपाल तथा बलिउडका हिरोमा पनि ग्रुम थिएन। त्यही कारण सिकेर जाँदा राम्राे हुन्छ भन्ने हिसाबले मोडलिङ शुरू गरे। काम गर्र्दै जाँदा मोडलको रूपमा मात्र काम गर्नुभन्दा टिचरको रूपमा अरूलाई सिकाऊँ भन्ने सोचले मोडल कोचको रूपमा सक्रिय हुन थाले। यही क्रममा फेसन कोरियोग्राफीमा लागियो र यही क्षेत्रमा भिज्दै गइयो।

हिरो बन्ने रहर जीवितै छ?

भविष्यमा केही त्यस्तो मिल्यो भने अभिनयमा आउन सक्छु। वास्तवमा रहर जीवित नै छ। अभिनय गर्नका लागि एज चाहिँदैन। यस कारण मिल्यो भने अवश्य पनि काम गर्नेछु।

कोरोनाका कारण कोरियोग्राफी क्षेत्रमा कस्तो असर गरेको छ?

कोरियोग्राफी क्षेत्रमा मात्र नभई अन्य विभिन्न क्षेत्रमा कोभिडको असर उत्तिकै छ। हिजोका दिनमा जस्तो भौतिकरूपमा दर्शकको उपस्थितिमा कार्यक्रम गर्न नसकिएला, तर यसलाई वैकल्पिक माध्यमको रूपमा भर्चुअल रूपमा सम्पन्न गर्न सकिन्छ। अब भर्चुअल रूपमा भए पनि यस्ता कार्यक्रमको शुरुआत गरे फेसन तथा सौन्दर्य जगतलाई चलायमान बनाउनुपर्छ।

फेसन कोरियोग्राफीको क्षेत्रमा अवसर कत्तिको छ?

नेपालमा द्वन्द्वकालको समापनपछि विस्तारै ब्युटी प्याजेन्ट फेसन शो बढ्दो रूपमा हुन थाले। इन्टरनेटको प्रयोगका कारण विश्वभरि भइरहेको प्याजेन्ट इभेन्टको बारेमा जानकारी राख्न सकिन्छ। हिजोका दिनमा भौतिक उपस्थितिमा मात्र आफ्नो काम देखाउन सकिन्थ्यो भने आज इन्टरनेटको पहुँचका कारण विभिन्न माध्यमबाट आफ्नो काम छिनको छिनमै विश्वभर देखाउन सकिन्छ। यो काम नेपालमा मात्र गर्न सकिने होइन, आफूमा क्षमता छ भने प्रतिभा देखाएर विश्वभर राज गर्न सकिन्छ। यसकारण फेसन कोरियोग्राफीको क्षेत्रमा निकै अवसर छन्।

कोरियोग्राफीको काम सजिलो कि निर्णायकको भूमिका?

पक्कै पनि कसैको प्रतिभाको मूल्याकंन गर्ने काम सजिलो त छैन। तर, प्रतियोगीहरूको आ आफ्नो समान प्रतिभाको वाबजुद व्यक्तिअनुसार फरक-फरक विचार र प्रतिभा हुन सक्छन्। उनीहरूलाई सोधिएको प्रश्नको जवाफ र्निर्णायकलाई एकदमै चित्त बुझे पनि अडियन्सलाई ठीक नलागेको हुन सक्छ या निर्णायकलाई राम्रो नलागेको जवाफ अडियन्सलाई राम्रो लागेको हुन सक्छ। सकेसम्म आफू तथा अडियन्सलाई समेत सन्तुष्ट हुने गरी विजेता छान्नुपर्ने हुन्छ। अर्को कुरा भोलि उक्त प्रतियोगीलाई नेपालको तर्फबाट अन्तराष्ट्रिय जगतमा प्रतिनिधित्व गराउन पठाउनुपर्ने भयो भने उसले नेपाललाई कसरी चिनाउन सक्छ, देशलाई के दिन सक्छ भन्ने कुरामा पनि विचार गर्नुपर्ने हुन्छ। कोरियोग्राफीको कुरा गर्दा डिजाइनरले तयार गरेको सिर्जनालाई प्रभावकारी रूपमा मोडलहरूबाट प्रभावकारी ढंगले स्टेजमार्फत प्रस्तुत गर्नुपर्ने हुन्छ। धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ। यसकारण दुवै काम च्यालेन्जिङ नै छन्।

एउटा फेसन शो सफल रूपमा सम्पन्न गर्नका लागि के–कस्ता कुरामा ध्यान दिनुपर्छ?

फेसन शो भनेको डिजाइनरले तयार पारेको नयाँ-नयाँ डिजाइनका कपडाहरू मोडलको माध्यमबाट प्रभावकारी ढंगले अडियन्ससम्म पु-याउनु हो। यो काम प्रभावकारी र आकर्षक रूपमा दर्शकसामु पु-याउन सकियो भने त्यसलाई सफल भएको मान्न सकिन्छ। कोरियोग्राफरले मोडलको हाउभाउ प्रस्तुति आदिमा निकै ध्यान दिनुपर्छ। जसका लागि कोरियोग्राफरमा लगातारको मेहनत, निरन्तरता तथा अपडेटको पनि खाँचो पर्दछ भने लाइट, साउन्ड, म्युजिक, स्टेजलगायत प्राविधिक कुराले पनि फेसन शोको सफलता निर्धारण गर्छ। यसरी भन्दा फेसन शो सफल हुन कोरियोग्राफर र प्राविधिक पक्ष दुवैको तालमेल मिल्नुपर्छ।

कोरियोग्राफी क्षेत्र कतिको चुनौतीपूर्ण छ?

डिजाइन र मानिसको रुचि भनेको परीवर्तन भइरहने चिज हो। फेसन भनेको परिवर्तन भइरहने कुरा हो। यसकारण हामीले आफूलाई समयअनुसार परिवर्तन गर्दै लान सक्नुपर्छ। विश्व बजारमा कस्तो फेसन चलिरहेको छ भन्ने कुरा तुरुन्तै थाहा पाउन सकिन्छ भने हामीले गरेको काम नेपालमा मात्र होइन विश्वभर पुगिरहेको हुन्छ। त्यसकारण विश्व मञ्चमा के कस्तो कुरा भइरहेका छन्, त्यो बुझेर काम गर्नुपर्ने हुन्छ। केहि हदसम्म चुनौतीपूर्ण नै छ।

कमाइको हिसाबमा यसमा मात्र निर्भर हुन सकिन्छ?

यही क्षेत्रमा निर्भर हुन सकिने अवस्था छ। तर, हाल नेपालमा यही क्षेत्रमा मात्र निर्भर हुने कमै मात्र फेनि कोरियोग्राफर छन्। लगातार मेहनत र यही क्षेत्रलाई निरन्तरता दिने सोचले काम गर्ने हो भने यही क्षेत्रमा निर्भर हुन सकिन्छ। म पनि लामो समयदेखि फेसन कोरियोग्राफीकै क्षेत्रमा निर्भर भइरहेको छु। एक्टिङ गर्न आएको मान्छे मोडल हुँदै कोरियोग्राफीमा जमिरहेको छु। यदि, मलाई यसबाट सर्भाईभ हुन गाह्रो हुन्थ्यो भने पक्कै पनि अन्य क्षेत्र रोज्थे हाेला।

पछिल्लो समय सौन्दर्य प्रतियोगिता उल्लेख्य रुपमा भएको पाइन्छ। यसको विकृति के–कस्तो छ?

हो, पछिल्लो समय हरेक वर्ष फेसन शो ब्युटी प्याजेन्टको संख्या बढ्दै गइरहेको अवस्था छ। पहिला पहिला विशेषगरी राजधानीमा आयोजना हुने यस्ता प्रतियोगिता अहिले देशैभरि वार्षिक ५-१० हजारको हाराहारीमा हुन्छन्। मेरो क्षेत्रले फड्को मा-यो, सबैतिर फैलियो भन्ने कुरामा म खुसी छु। तर, हचुवाको भरमा ज्ञान सीपविना गरिने धेरै कार्यक्रमले यो क्षेत्रमा विकृति पनि पक्कै ल्याएको छ। विकृति भनेको आफूलाई चिनाउन र पैसा कमाउ भन्ने उदेश्य भएका व्यक्तिका कारण आउने हो। ट्रेनिङ र एक्सिपिरिएन्स विना गरिने यस्ता कार्यक्रमबाट प्रतियोगी र दर्शकले के सिक्ने? प्रतियोगीहरूले भाग लिँदा पनि अर्गनाइजर कस्तो त कतिको एक्सिपिरियन्स्ड छ, यसमा भाग लिएर मैले के पाउछु भन्ने कुरामा विचार गरेर भाग लिँदा राम्रो हुन्छ।

सौन्दर्य प्रतियोगितामा पहुँच र सेटिङको आधारमा विजेता छानिन्छन रे नि?

यही क्षेत्रमा नै टिक्नु छ, यही क्षेत्रबाट नै जीविका गर्नु छ भने त्यस्तो व्यक्तिले त पक्कै पनि यो क्षेत्रलाई नराम्रो हुने काम गर्दै गर्दैनन्। अनुभवीहरूले त झन् यस्तो काम गर्दै गदैैनन्। पैसा र नामका लागि मात्र गलत बाटो अपनाएर कार्यक्रम राख्छ र विजेता घोषणा गर्छन् भने त्यस्तो व्यक्ति र संस्था धेरै टिक्दैन। केही व्यक्तिले जुरी प्यानलले प्रभावित पारेर हुन सक्छ। तर, यस्तो भएको छ भने रोक्ने कोशिस गर्नुपर्छ। यदि, सेटिङ र पहुँचको आधारमा विजेता चुनिएको छ भने त्यसलाई कानुनको दायरामा ल्याउनुपर्छ।

सौन्दर्य प्रतियोगिताले त्यसको विजेताको जीवनयापनमा सहयोग पुग्छ त?

मिस नेपालजस्तो ठूला प्रतियोगिताका विजेताहरूलाई टाइटलकै कारणले नै सेलिब्रेटी बनाएको हुन्छ र त्यही टाइटलकै कारणले उनीहरूको साइड बिजनेसलगायत अन्य कुरामा धेरै मद्दत गर्छ। मिस्टर नेपाल, म्यान हन्टजस्ता विजेतालाई केही न केही रूपमा आर्थिक उपार्जनको क्षेत्रमा मद्दत गरिरहेको हुन्छ। उनीहरूले अन्तर्राष्ट्रियस्तरमा समेत भाग लिने हुँदा व्यावसायिक पाटोमा पनि धेरै इम्पाक्ट पारेको हुन्छ। तर, जिल्ला र अञ्चल स्तरीय प्रतियोगिताले आर्थिक रूपमा त्यति सहयोग नगरे पनि व्यक्तित्व विकास लगायतमा चाहि मद्दत गरिरहेको हुन्छ।

नेपालमा फेसन क्षेत्र माथि उठ्न नसक्नको कारण के होला?

नेपालको फेसन क्षेत्र माथि उठ्न नसक्नुमा मेन त हाम्रो आफ्नो प्रोडक्ट छैन र सरकारीस्तरबाट फेसन क्षेत्रलाई रिकग्नाइज गरिएको छैन। अहिले लागू भएको क्लिन फिडको नीतिका कारण केही आशा पलाएको छ। हामीले विभिन्न प्रोडक्टको विज्ञापनका लागि हाम्रो मोडलहरूलाई काम दिन सक्छौँ। स्वेदेशी उत्पादनको रूपमा अहिले हामीसँग गलैंचा र ह्यान्डक्र्राफ्ट मात्र छन्। द्वन्द्व कालअघि नेपाली कपडाहरू पनि विदेश निर्यात हुन्थे तर अहिले त्यो अवस्था छैन। हाम्रो उत्पादनहरू मजबुत नभएका कारण पनि नेपालमा फेसन क्षेत्र माथि उठ्न सकिरहेको छैन।

यो क्षेत्रलाई माथि उठाउनका लागि के गर्न सकिएला?

मुख्य कुरा हाम्रो आफ्नै प्रोडक्ट हुनुप-र्यो। उत्पादनको क्षेत्रमा मजबुद हुन सकियो भने मात्र हाम्रो आफ्नो उत्पादनमा हाम्रा मोडल तथा डिजाइनरहको वर्चश्व कायम हुन्छ। बंगलादेश चाइनाजस्ता देशले गार्मेन्ट सेक्टरमा नाम बनाएका छन्। हामी पनि आफ्नो उत्पादनमा नाम बनाएर मजबुत हुन सकियो भने मोडल, डिजाइनर तथा यो सेक्टरका अन्य व्यक्तिले पनि रोजगार पाउन सक्छन्। त्यो भयो भने यो क्षेत्रमा भविष्य देखेर धेरैको सहभागिता बढ्नेछ र यो क्षेत्र माथि उठ्नेछ।

अबका दिनमा यो क्षेत्र कसरी अगाडि बढ्ला?

लामो समयदेखि जारी लकडाउनका कारण फेसनको क्षेत्रमा कु्नै पनि कार्यक्रमहरू हुन नसक्दा मानिसहरू निराशाबाट गुज्रिएको र यो क्षेत्रमा भविष्यय नदेखेको अवस्था छ। तर, म भने अब झन् यो क्षेत्रमा सुनौलो दिन आउँदै गरेको देख्छु। अब विस्तारै विभिन्न क्षेत्रजस्तै यो क्षेत्र पनि जुर्मुराएर उठ्नेछ। अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न प्याजेन्ट तथा फेसन शो सम्पन्न हुन शुरू भइसकेको छ। नेपालमा पनि अब विस्तारै राम्रो दिन आउनेछन्। हामी पनि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी हुनेछौं र यो क्षेत्र अझ राम्रो स्थानमा पुगनेछ।

प्रतिक्रिया दिनुहोस्