क्रसरमा हिउँद वर्षा सधैँ पहिरो, राजमार्ग र यात्रु जोखिममा



मोतीराम तिमल्सिना, काभ्रे ।

राजनीतिक शक्तिको आडमा राजमार्गसँग जोडेर क्रसर संचालन गरेको क्रसरमा गएको पहिरोले जोखिम निम्तिएको छ । क्रसरले रोशी खोला रोकेर डस्ट राखेर संकट निम्त्याईरहेको बेला वर्षातमा गएको पहिरोले राजमार्ग र राजमार्गमा यात्रा गर्ने यात्रु थप जोखिममा छन् । नाङशाल ढुंगा रोडा उद्योग प्रालीले विपी राजमार्गको खार्पाचोक सडक खण्डमा थुपारेको डस्टले रोशी खोलाको जोखिमसँगै असार १७ गते देखि परेको अविरल वर्षातका कारण गएको पहिरोले अरु जोखिम निम्त्याएको छ ।

अख्तियार तथा अन्य निकायले पटक पटक अनुगमन गरे पनि उक्त क्रसरले पु¥याएको क्षति न्यूनिकरण गर्न क्रसरलाई सचेत समेत गराएका छैनन । निरन्तर झण्डै एक दशक देखि क्रसरले राजमार्गमा क्षति पु-याउँदै आएको छ । ‘पहुँच र शक्तिका आडमा क्रसरको दादागिरीले सर्वसाधारण जोखिममा छन्’–स्थनीय खड्गबहादुर लामाले भन्नुभयो–‘क्रसरका कारण बस्ति, सडक र राजमार्गमा यात्रा गर्ने यात्रुहरु जोखिममा परेका छन् ।’

सर्वसाधारणहरुले विरोध गर्न नसक्ने गरी क्रसर संचालकहरुले धम्कि दिने गरेको स्थानीयहरुले बताएका छन् । साविक खार्पाचोक २ हाल रोशी गाउँपालिका वडा नम्वर ८ डिप्सामा रहेको नाङशाल ढुंगा रोडा उद्योग प्रा.लि को क्रसरमा गएको पहिरोका कारण बस्ति पनि जोखिममा परेको छ । रोशी खोलाको दुबैतिर थुपारिएको डस्टले खोला छेकिएको छ ।

जसका कारण विपी राजमार्ग र त्यस आसपासको बस्ति जोखिममा परेको छ । असार १ गते रोशी मेलम्ची र इन्द्रावती खोलाले बगाएको लेदोका कारण मेलम्ची बजार पुरिए जस्तै उक्त क्रसरले खोलामा थुपारेको डस्टका कारण सडक र रोशी खोला आसपासको बस्ति जोखिममा परेको छ । क्रसरमा आएको पहिरोका कारण सर्वसाधारण त्रासमा छन् । २०७६ माघ ११ गते उक्त क्रसरले विपी राजमार्ग रोकेर ‘डाईभर्सन’ सडक संचालन गरेको थियो ।

सडक छेकेको क्रसरले लगातार खोला छेकेर डस्ट गोदाम गरेको छ । राजमार्ग नै अवरुद्ध गरेर डाईभर्सन गरेको विषयमा क्रसर संचालकहरुलाई कारवाहीको चेतावनी सहित स्पस्टिकरण सोधिएको थियो । कारवाहीको चेतावनी पछि डाईभर्सन रोकिएको थियो । तर लगातार क्रसरबाट उत्पादित डस्ट खोलामा थुपारिएको छ । खोलाको दायाँबायाँ थुपारिएको डस्टका कारण बस्ति र राजमार्ग दुबै जोखिममा परेको स्थानीयहरुले बताएका छन् ।

पुर्व माननियहरु तिर्थ लामा, शंकर भण्डारी सहितको लगानीमा संचालन भएको क्रसर उद्योगका कारण विपी राजमार्ग २०७६ माघ ११ गते देखि सुख्खा पहिरोका कारण अवरुद्ध थियो । उद्योगको उद्घाटन भण्डारीले नै गर्नु भएको संचालक वाङचु लामाले जानकारी गराउनु भएको छ ।

खानी तथा क्रसरमा नेपाली कांग्रेसका क्षेत्रिय सभापति एवं पुर्व सांसद तीर्थ लामाको २२ प्रतिशत, ग्राण्डी अस्पतालका संचालक दिपक कुँवरको ६३ प्रतिशत (सोहि प्रतिशतमा नेपाली कांग्रेसका नेता एवं पुर्व मन्त्री शंकर भण्डारीको पनि शेयर छ ।), तीर्थ लामाका भाई नानिबाबु लामा २ प्रतिशत, नेकपा नेता सुजन लामा २ प्रतिशत, भिम लामा ५ प्रतिशत, सेराप लामा १ प्रतिशत, वाङचु लामा ४ प्रतिशत शेयर छ ।

गाउँपालिका अध्यक्ष डिबी लामाले क्रसर तथा खानीहरुका कारण उत्पन्न समस्या समाधानका लागि पटक पटक छलफल गरेको बताउनु भयो । २०६६ साल असोज ६ गते घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरिएको उद्योगले बार्षिक १ करोड २८ लाख २० हजार क्युफिट रोडा, ढुगा उत्पादन गर्ने भने पनि उद्योग नै नविकरण भएको छैन ।

प्रतिक्रिया दिनुहोस्