नयाँ कलाकार पुरानो कोरियोग्राफर रुचाउँदैनन् : गोविन्द राई



तीन दशकभन्दा लामो समयदेखि लगातार नृत्य निर्देशन क्षेत्रमा सक्रिय छन् गोविन्द राई। २०४२ सालमा नाटकमार्फत बाल कलाकारको रूपमा कला क्षेत्रमा प्रवेश गरेका गोविन्दले २०४८ सालमा ज्वालामुखी नामक भिडियो फिल्मबाट नृत्य निर्देशन शुरू गरेका थिए।

अभिनयमा रुचि भए पनि नृत्यमा राम्रो गर्न सक्ने प्रतिक्रिया पाएपछि नृत्य क्षेत्र रोजेका गोविन्दले हालसम्म साढे तीन सय फिल्मका सयौं गीतमा नृत्य निर्देशन गरेका छन्। यसका अलावा म्युजिक भिडियो, भिडियो फिल्म, टेलिफिल्म, विज्ञापनका लागि पनि नृत्य निर्देशन गर्दै आएका उनले केही भोजपुरी फिल्ममा नृत्य निर्देशक र लभ इन नेपाल नामक बलिउड फिल्ममा सहायक नृत्य निर्देशकको रूपमा काम गरेका छन्। द एन्जल कला केन्द्र सञ्चालन गरेर थुप्रै कलाकार तथा नृत्य प्रेमीलाई नृत्यमा पोख्त बनाएका गोविन्दले नयाँ र पुरानो दुवै पुस्ताका प्रायः अभिनेता अभिनेत्रीलाई नचाइसकेका छन्। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

– रश्मी थापा

हाल के गर्दै हुनुहुन्छ ?

कोरोनाका कारण खासै काम चलेको छैन। बिहान उठेर पूजापाठ, ध्यान जप र योगालाई समय दिन्छु। केही दिनअघि नवगायक निशाद सिंहको स्वरमा एउटा गीत रेकर्ड गराएँ। पढाइलाई पनि निरन्तरता दिँदै छु। ब्याचलर सेकेन्ड इयरको एक्जामको तयारीमा लागेको छु।

अहिले आएर पढाइलाई निरन्तरता दिने सोच कसरी आयो ?

करिअरमा व्यस्त भएका कारण एसएलसीपछि पढाइलाई निरन्तरता दिन सकेको थिइन। एसएलसी दिएको २४ वर्षपछि ११र१२ देखि पढ्न शुरू गरें। नृत्य निर्देशनको साथमा फिल्म पनि निर्देशन गरेँ। कला क्षेत्रबाट नाम कमाए पनि पढाइको पनि छुट्टै महत्व छ। त्यसैले, पोलिटिकल साइन्स र पत्रकारिता विषय लिएर पढिरहेको छु। देशको राजनीति र पत्रकारिता जगतबारे बुझ्दा मलाई काममा थप सहयोग पुग्छ भन्ने लागेर यी विषय लिएको हुँ। मलाई लाग्छ मबाट पढ्न चाहने धेरैलाई हौसला मिल्नेछ।

पहिले र अहिलेको नृत्य निर्देशनको क्षेत्रमा के कस्ता फरक छन् ? 

पहिला नृत्य भनेको टिभीमा मात्र हेर्न पाउथ्यौं। टेलिभिजनमा हेरिने र हामीले गर्ने नृत्यमा फरक थियोत्यतिबेलाको कोरियोग्राफीमा माटो सुहाउँदो मौलिकता झल्किन्थ्यो। त्यतिबेलाको काम ओरिजिनल हुन्थ्यो । तर, अहिले युट्युब, टिकटक, इन्स्टाग्रामजस्ता विभिन्न माध्यमबाट हेरेर अन्य देशको कपी गर्ने चलन छ। जसले गर्दा कोरियोग्राफीमा मौलिकपन हराएको छ।

अहिले चलिरहेको कोरियोग्राफी र पहिलेकोमा कुन राम्रो ? 

पहिलेकै राम्रो। त्यो बेलाको कोरियोग्राफी आफ्नै शैलीको हुन्थ्यो। त्यो बेला नेगेटिभको जमाना भएकोले तुरुन्तै काम देख्न सकिँदैन्थ्यो। त्यसकारण धेरै मेहनत गरेर काम गरिन्थ्यो, बिग्रेला कि भन्ने डर हुन्थ्यो। तर, धेरै चोटि रिहर्सल गराएको भएर मात्र एक वा दुई चोटिमा ओके गर्दा राम्रो रिजल्ट निस्क्न्थ्यो। अहिले त्यस्तो छैन। डिजिटल प्रविधिको विकासले गर्दा अहिलेको काम अहिले नै हेर्न सकिने भएका कारण पनि नभए फेरि खिचिहालिन्छ नि भन्ने हिसाबले काम गर्ने चलन छ।

कलाकारमा चाहिँ के फरक छ ?

हिरो हिरोइनको प्राइभेट गाडी हुँदैन थियो। प्रोड्युसर डाइरेक्टरहरूले कहिलेकाही आफ्नो गाडीमा शुटिङ स्थलमा लगिदिनुहुन्थ्यो। नत्र हिरो हिरोइनदेखि लिएर स्पट ब्वाईसम्म एउटै मिनीबसमा शुटिङस्थल गइन्थ्यो। सबैले सबैलाई उत्तिकै आदर र माया गरिन्थ्यो।

कलाकारहरूलाई एक अर्कालाई कसरी सम्मान गर्ने भन्ने थियो। त्यही कारण त्यस बेलाका कलाकारहरू सबैको प्रिय छन्। उनीहरूले आफ्नो वेट राख्न जानेका थिए।

नयाँ पुस्ताका कलाकारले नयाँ र पुरानो कोरियोग्राफर छान्नुपर्दा कसलाई रोज्ने गर्छन् ? 

साँच्चै भन्नुपर्दा नयाँ कलाकारले पुरानो कोरियोग्राफरलाई रुचाउँदैनन्। उनीहरूलाई पुरानो कोरियोग्राफरले पुरानो ढर्रामा नचाउँछ, पुरानै सोचाइ हुन्छ भन्ने लाग्छ। नाम त नलिऔँ, तर केही हिरो हिरोईनले गोविन्द राई पुरानो जमानाको मान्छे हो। अहिलेको गीतमा राम्रो काम गर्न सक्दैन भनेको पनि छ। तर ,गोविन्द राई कसरी यहाँसम्म आयो, कसरी आफूलाई अपडेट गरिरहेको छ र कति मेहनत गरिरहेको छ भन्ने उहाँहरूलाई के थाहारु यस्तो भन्नेहरूलाई म थ्यांक यु भन्न चाहन्छु। उहाँहरूको कारण मैले आफुलाई अपडेट गर्दै आएको छु र प्रोगेस गरिरहेको छु। पछिल्लो समय केही निर्देशकले पनि तपाईं त पुरानो जमानाको मान्छे नयाँपन दिन सक्नुहुन्न होला भनेका थिए। तर, काम सकाएपछि सरी हामीले तपाईंलाई अन्डरस्टिमेट गरेका रहेछौँ पनि भनेका छन्।

काम गरेकामध्ये स्टेप सिकाउन सजिलो र अप्ठ्यारो कलाकारहरू ? 

सबैको आ–आफ्नोपन र क्षमता हुन्छ। मैले भुवन केसी, राजेश हमाल, शिव श्रेष्ठ, नीर शाहदेखि विराज भट्ट, निखिल उप्रेती, राजबल्लभ कोइराला, अभिनेत्रीमा विपना थापा, जल शाहलगायत अहिलेसम्मका प्रायः सबैलाई नचाएको छु। उहाँहरूलाई नृत्य सिकाउनुभन्दा पहिले उहाँहरूले पहिले अभिनय गरेको गीत हेर्ने र स्किल कति छ के सम्म गर्न सक्छन्, त्यहीअनुरूप स्टेप बनाएर नाच्न सिकाउने गर्छु। कलाकारलाई आप्mनो शैलीमा ढाल्नुभन्दा पनि उहाँहरूको शैलीमा आफू ढल्किएर कलाकारबाट काम निकाल्ने गर्छु। त्यसकारण कसैलाई गाह्रो भन्ने भएन।

नृत्य निर्देशनका क्रममा भोग्नुपरेको दुःख के—कस्ता छन् ? 

छायांकनको क्रममा टाढा जाँदा विभिन्न सास्ती हुन्छ। एकपटक सिक्किमको उच्च भेगमा शुटिङ गर्न जाँदा हाई अल्टिच्युडको कारण श्वास फेर्न गाह्रो भएकाले काम गर्न समस्या भएको थियो। कलाकारलाई पहिले नै स्टेप सिकाएको कारण तिमीहरू आफँै गर्नु भनेर तल झरेको थिएँ। प्रविधिको कारण दुःख पाएको घटना पनि छ। देशदेखि विदेशसम्म भन्ने फिल्मको एउटा गीतमा धेरै राम्रो काम गरेको थिएँ। विभिन्न ठाउँमा गएर राम्रो राम्रो दृश्यमा गीत छायांकन गरिएको थियो, त्यो गीतबाट एकदमै आशा राखेको थिएँ। नेगेटिभको जमाना भएकोले ६ महिना कुर्नुपथ्र्यो, ६ महिनापछि हेर्दा रिल त ब्ल्यांक रहेछ । निकै दुःख लाग्यो। पछि त्यही गीत हतार हतारमा शुटिङ सकाउनुपर्दा पहिलेको जस्तो दृश्य समावेश गर्न सकिएन।

नृत्य निर्देशनकै क्रममा अनुभव गर्ने सुख ? 

आफूले मेहनत गरेअनुसार गीत सफल भएर सबैबाट तारिफ र कामको मूल्यांकन भएको पल नै मेरो लागि खुसीको पल हो। धेरै गीतबाट मैले राम्रो सह्राना पाएको छु। फिल्म नैना रेशमको ढ्ल्क्यो ढल्क्यो भन्ने गीत मैले कोरियोग्राफी गरेँ, तर फिल्मका नायक विराज भट्टले गोविन्द राईले सक्दैन उसको सट्टामा नयाँ कोरियोग्राफर राखौं, यति राम्रो गीत बिग्रन्छ भनेर मलाई निकाल्न खोजेको थियो। फिल्मको प्रोड्युसरले तपाईंलाई हटाउनको लागि प्रेसर आइरहेको छ एकदम मेहनत गर्नुपर्छ है भन्नुभयो। घर गएर ऐना अगाडि बसेर एउटै गीतका लागि ४/५ ओटा स्टेप गरेर निकै मेहनत गरेपछि उक्त गीत निकै हिट भयो। गोर्खा पल्टनमा पनि मलाई हटाएर अरूलाई राख्न लागेको थियोे। मैले नै गरेँ हिट भयो। होस्टेल रिटन्र्सको बारुली कम्मर भन्ने गीतको पनि त्यस्तै कहानी छ।

नृत्य निर्देशन क्षेत्रमा चुनौती के—के छन् ? 

केही समयअघि मात्र परदेशी—२ फिल्मको गीतमा काम गरियो। त्यो फिल्मका लागि—२ वर्ष पर्खिएको थिएँ। फिल्मको प्रोडक्सनले म पुरानो डान्स डाइरेक्टर भएकोले अहिलेको जेनरेसनअनुरूप काम गर्न सक्ला कि नसक्ला भनेर ममाथि ट्रस्ट गर्न सकेको थिएन। अहिलेको जस्तो कोरियोग्राफी तपाईंले गर्न सक्नुहुन्छ यो गीत नै फिल्मको मुटु जस्तै हो। यसबाट हामीलाई धेरै आशा छ भनेर पटक—पटक सोध्नुभएको थियो। त्यो सुन्दा कुनै बेला नम्बर वन डान्स डाइरेक्टर भएर काम गरेको, एकै दिन ६÷७ ओटा फिल्म साइन गरेको मलाई कस्तो महसुस भयो होलारु यसलाई च्यालेन्जको रूपमा लिन्छु। अहिले नयाँ जेनरेसन आउने क्रममा छ। उनीहरूले हामीलाई च्यालेन्ज गर्छन्। तर, हामीले पनि आफ्नो नाम बचाइराख्नका लागि आफूलाई अपडेट गरिराख्नुपर्छ।

नृत्य निर्देशन गर्दा स्रोत र साधनको कमिमा काममा कम्प्रोमाइज गर्नुपर्ने स्थिति छ कि छैन ? 

अहिले त म कम्प्रोमाइज गरेर काम गर्न सक्दिनँ। अहिलेको प्रोड्युसर डाइरेक्टरले गीतबाट जे खोज्छन्, त्यसमा कम्प्रोमाइज गरेर काम देखाउन सक्दिनँ। फिल्म जाइराको यो मात चढेको साँझमा बोलको गीतलाई पहिले नै १५ लाख खर्च गरेर खिचिएको रहेछ। फेरि मलाई कोरियोग्राफिको जिम्मा दिइयो। मैले गर्दा ७/८ लाख खर्च भयो। यदि मैले कडा मेहनत गर्छु भने कम्प्रोमाइज गर्न सक्दिनँ। तर, पहिला—पहिला निकै कम्प्रोमाइज हुन्थ्यो।

राम्रो नृत्य निर्देशकमा के—के खुबी हुनुपर्छ ? 

डान्स डाइरेक्टर भन्नेबित्तिकै क्लासिक, फोक, मोडर्न डान्सलगायतका डान्सबारे त थाहा हुनुप¥यो। त्यसको साथै एक्स्प्रेसनलाई ध्यान दिनुपर्छ। ताल के हो मात्रा कति छ भावभंगीको बारेमा एकदमै ज्ञान हुन जरुरी छ। अहिलेको जेनरेसनले यी सबै कुरामा ध्यान दिएको पाइन्छ। हामीले गर्न नजान्ने बि बोइङ, कन्टेमपोररी डान्स छन्। तर, डान्स गरिरहँदा उनीहरूको भावभंगीचाहिँ मज्जाले भन्न र बुझ्न सक्छौँ। म नेपाली कोरियोग्राफर भएकोले जुन पनि गीतलाई नेपालीपनमा ढाल्न सक्छु। तर, अहिलेको जेनरेसनले फरक चाहन्छ। फरक चाह्यो भन्दैमा मौलिकतालाई भुलेर काम गर्न चाहिँ म सक्दै सक्दिन।

तपाईंले एउटा फिल्म पनि निर्देशन गर्नुभयो, त्यो त्यति चलेन के कारण थियो होला ?

मेरो फिल्म हेर्ने कृटिक्सहरूले १० मा ४/५ दिनुभएको थियो। त्यति भनेको एभरेज हो।फिल्म कृटिक्स गर्ने दीपेन्द्र लामाले नै उक्त फिल्मको स्कृप्ट लेख्नुभएको हो। म नृत्य निर्देशनबाट आएको मान्छे भएको कारण मैले बनाएको फिल्म मीठो गीतै गीतले भरिएको रोमान्टिक खालको होला भन्ने दर्शकको अपेक्षा रहेछ। त्यो फिल्मको नाम पनि नागबेली थियो। त्यही अपेक्षा लिएर दर्शक हलमा पुग्नुभएको थियो। तर, फिल्ममा गीत धेरै नभएको र युवाका लागि देशलाई माया गर्नुपर्छ भन्ने सन्देश बोकेको थियो। फिल्मको रिलिज डेट सरेर पानी पर्ने सिजनमा रिलिज भएको थियो। मुसलधारे पानी परेकोले त्यो बेला रिलिज भएको सबै फिल्मको अवस्था उस्तै थियो तर त्यो बेला चलेका अन्य फिल्म भन्दा नागबेली राम्रो छ भन्ने प्रतिक्रिया पाएको थिएँ।

अब फिल्म निर्देशन गर्ने सोच छ कि छैन ? 

अहिलेको यहि गर्छु भन्ने अवस्था छैन। तर, प्रोडक्सन हाउसको नामले मलाई चिनोस् भन्ने इच्छा अझै पनि छ। फिल्म बनाउने सोचकै कारण मैले गोविन्द राई इन्टरटेन्मेन्ट नामक प्रोडक्सन हाउस पनि दर्ता गरेँ। केही गीत निर्माण पनि गरेँ। जसमध्ये दुईटा गीत म्युजिक भिडियो बनाएर युट्युबमा राखेको छु। अझै पनि २/३ ओटा गीत फिल्मको लागि भनेर राखेको छु। तर, कोरोनाको प्रकोप आएपछि त्यो सबै कुरा रोकियो। अब के हुन्छ हेरौं।

फिल्म निर्देशन र नृत्य निर्देशनमध्ये एक छान्नुपर्दा के छान्नुहुन्छ ?

डान्स डाइरेक्सन मात्र गर्छु भनेर पनि हुँदैन। किनभने उमेरले गर्दा सधैं यही काम मात्र गर्न पनि नसकिएला। त्यस्तै डान्स छोड्छु, फिल्म निर्देशन मात्र गर्छु भन्दा पनि मन दुख्छ। मलाई यो स्थानसम्म ल्याएर नाम दिने क्षेत्र नृत्य नै भएको कारण छान्नुपर्दा नृत्यलाई नै छान्छु।

प्रतिक्रिया दिनुहोस्