बनेपा घटना :श्रीमती र छोरा मारेर रातभर ओछ्यानमै



मोतीराम तिमल्सिना, काभ्रे । 

‘मरेर गए नि नतोडिने बन्धन माया हो’
यहि गितमा टिकटक बनाएका ६ बर्षिय युवान घिमिरे र युवानको आमा ३० बर्षिया मनिषा कार्की घिमिरे (उपाध्याय) को रहस्यम मृत्यु भएको छ । मृत्यु भएको पाँच दिन पुगिसक्दा पनि मनिषा र युवानको मृत्युको कारण खुल्न सकेको छैन ।३३ बर्षिय कमल भनिने माधवप्रसाद घिमिरे युवानका बाबु हुन् । उनको शिर मेमोरियल अस्पताल बनेपाको आईसियु कक्षमा उपचार भईरहेको छ । मृतक दुवैको शव पोस्टमार्टम पछि असार ४ गते राति बनेपाको उग्रेश्वरमा अन्त्येष्टी गरिएको छ । मनिषाका ससुरा ८२ बर्षिय शान्तप्रसाद घिमिरेले छोरा कमल भनिने माधवप्रसादको बुहारी र नातिको मृत्युमा शंका ब्यक्त गर्दै उचित अनुसन्धान र कारवाहीको माग गर्दै जाहेरी दर्ता गर्नु भएको छ । असार ४ गते जाहेरी दर्ता गरे लगत्तै मृतकद्धयको शव पोस्टमार्टम पछि अन्त्येष्टी गरिएको हो । मृतकद्धयलाई शान्तप्रसाद घिमिरेले नै दागवत्ति दिनु भएको छ । कोरोना र स्वास्थ्य अवस्थाका कारण केहि दिन किरिया बसेर र अन्तिम संस्कार गर्ने योजनामा परिवार छ ।टिकटकमा छोरा युवानले आमा मनिषाको आँखाबाट बगेको आँशु पुछिदिएको अभिनय गर्छन । उनिहरुले गरेको अभिनय साँच्चै बास्तविकतामा परिणत भएको छ । टिकटक भरी उनका यस्ता गितहरुमा गरेको अभिनयले घटना झनै रहस्यमय बनाएको छ । ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक राजन कोईरालाले घटनाका बारेमा अनुसन्धान जारी रहेको बताउनु भयो ।

को हुन् कमल भनिने माधव ?

बनेपा नगरपालिका वडा नम्वर ८ स्थित नाला दोबाटामो फेन्सि पसल गर्दै आएका कमल भनिने माधवप्रसाद घिमिरेको प्रेम विवाह हो । पाँचखाल नगरपालिका वडा नम्वर ७ स्थायी घर भए पनि कमलका बुबाहरु ललितपुर जिल्लाका स्थायी बासिन्दा हुन् । ललितपुरमा रहँदै कमलका बाबु शान्तप्रसाद ५० वर्ष अघि भारतको आसाम पुगे । पुख्र्यौली सम्पती केहि नलिई आसाम पुगेका शान्तप्रसादका उतै हुर्किए सन्तान । तीन छोरा मध्ये जेठो भारतिय सेनामा भर्ति भएका छन् । एउटा छोरा आसाममै आर्युवेदिकमा कार्यरत छन् । कमल अर्काे छोरा हुन् ।आसाममा खासै जग्गा जमिन थिएन । ललितपुरबाट गएका शान्तप्रसादले त्यहाँ पुगेर ब्रम्हाण शिक्षा अध्ययन गरे । जजमानी गर्दै परिवार चलाउन थाले । त्यहाँ पुगेपछि घिमिरेबाट उनि उपाध्याय भए । छोराहरुले आसाममै अध्ययन गरे । अध्ययनकै क्रममा कमलले त्यहि घर भएकी मनिषासँग प्रेम गरे । प्रेम परेको केहि समय पछि परिवारको सहमति वेगर विवाह गरे । मनिषा कार्कीका पाँच दिदीबहिनी हुन् । एक दाजु छन् । उनि कान्छि हुन् । भारतको सोनितपुर जिल्ला तेजपुर स्थित कुठिमारी टोलमा माईती बस्छन् । विवाहको एक वर्ष पछि नै उनिहरुबाट एक सन्तानको जन्म भयो । जन्म घर ललितपुर खोज्दै कमल नेपाल फर्किए । श्रीमती र बच्चा लिएर आएका उनि ललितपुरमा रहेका आफन्त पाँचखाल बसाई सरेको जानकारी पाए । पाँचखाल आएर दाजुभाई तथा फुपुको घरमा बसेको केहि समय पछि कमलले बुबा शान्तप्रसाद र आमालाई ल्याए । अंशबण्डा समेत नभएको अवस्थामा दाजुभाईले उनिहरुलाई अंश दिए । नेपालमै बस्ने गरी परिवार सेटल हुँदै थियो ।

कमल सुत्केरी श्रीमती र बच्चालाई छाडेर बैदेशिक रोजगारीमा गए । केहि वर्ष बैदेशिक रोजगारीमा गए पछि थोरै पैसा पनि कमाए । त्यतिबेला कमलको जेठी भाउजु सासु ससुरासँग बस्ने गरी काभ्रे आईसक्नु भएको थियो । सासु ससुराको उमेर धेरै भईसकेकाले आधा समय आसाममा र आधा समय नेपालमै बस्न थाल्नु भएको थियो । अहिले शान्तप्रसादको श्रीमती उतै छोरासँग आसाममा हुनुहुन्छ । बैदेशिक रोजगारबाट फर्किए पछि केहि गर्ने उदेश्यले दाजुभाईहरुको सल्लाहमा कमलले बनेपाको नाला दोवाटोमा फेन्सी पसल राखे । त्यहि पसलबाट उनले सम्वन्ध विस्तार गर्दै गए । ब्यवसाय राम्रो हुँदै गयो । उनको हौसिने बानीले धोका दिदै गयो । संगत खराव हुँदै गयो । मादक पदार्थको अत्याधिक सेवन, गाँजा, चुरोट जस्ता कुलतमा ध्यान जान थाल्यो । हुँदा हुँदा परस्त्रीसँगको सम्वन्धले श्रीमतीसँग झगडा पर्न थाल्यो । बैकको साझेदारी ऋण, जग्गा र शेयरको कारोवार, कुलत जस्ता कारण उनि मानसिक दबाबमा पर्न थाले । तनावको ब्यवस्थापन उनले श्रीमती माथि पोख्न थाले । केहि महिना अघि मात्रै श्रीमतीका लागि अलग्गै तर सँगसँगै फेन्सि पसल खोलिदिए । तर पनि परिवारसँगको सम्वन्ध सुध्रन सकेन । कमलको आधा परिवार आसाममा छ ।

घटना के हो ?

प्रेम गरेर विवाह गरेको श्रीमतीसँग एक वर्ष देखि सम्वन्ध राम्रो भएन । बनेपा नगरपालिका वडा नम्वर ११ सिनागाल स्थित बानियाँटोलमा १० महिना अघि डेरा सरेका थिए कमल । घरबेटीसँग असाध्यै राम्रो सम्वन्ध बनाउँदै एउटै परिवारजस्तै गरी बसेका कमलको ब्यवहार केहि दिन देखि अस्वभाविक थियो । उनकै डेरा नजिकै भाउजु र बुबबाआमाको डेरा छ । असार २ गते देखि उनले गरेको ब्यवहारका कारण उनी शंकाको घेरामा थिए ।असार २ गते । जिल्लामा निषेधाज्ञा जारी छ । निषेधाज्ञाकै बीच प्रहरीको आँखा छल्दै पसल खोल्ने र सम्पर्कका आधारमा सामान दिने गरेकी थिईन मनिषाले । तर कमलले अघिल्लो लकडाउनमा निरन्तर पसल खोले पनि यो पटक खोलेनन् । छिमेकीहरुले पनि पसल खोलेर ब्यवसाय गर्न सल्लाह दिए पनि उनी तयार भएनन् । बरु असार १ गतेसम्म उनले आफन्त र साथिभाईसँग सापटी भन्दै ५ लाख भन्दा धेरै रकम उठाए । त्यो पैसा के गरे खोल्न सकेको छैन । मनिषा असार २ गते साँझ घर फर्कदै थिईन् । बाटोमा साथिहरु रोकेर कुराकानी गरे छोरा खोई ? उनले श्रीमान बाहिर निस्कने भएकाले छोरा भए पछि डेरामै बस्छन भनेर छाडेर आएको उत्तर दिईन् । सँगसँगै उनले आफुलाई श्रीमानसँग डर लागेको बताईन् । श्रीमानले कुन दिन चितवनकी सविता भण्डारीको जस्तै हालत बनाई दिने हो भन्दै त्रास ब्यक्त गरिन् । मैले जीवनमा हार खाईसकें आत्महत्या पो गर्छु कि समेत भनेको निकटका साथिहरुले बताएका छन् । साथिहरुले उनलाई जीवनबाट हार नखान, श्रीमानले जस्तो ब्यवहार गरे पनि एक्लै बाच्न सकिने भएकाले आफुहरुले साथ दिने ढाडस दिए । डेरामा नजान सल्लाह दिए । तर उनले छोरा र श्रीमानको अगाडी साथिकोमा बस्ने निर्णय गर्न सकिनन् । केहि साथिहरुले कपडा उद्यारो लगेका थिए । त्यसको पैसा पनि भोलिपल्ट विहान अथार्त असार ३ गते दिने सल्लाह भएको थियो ।

डेरामा पुगे लगत्तै मनिषा र कमलको झगडा भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । खाँदा खाँदैको खाना छाडिएको छ । भान्सा कोठामा सेतो औषधी जस्तो देखिने भोमिट छ । सुत्ने कोठाका ओछ्यानमा मनिषा र युवान उत्तानो परेका छन् । युवानले बोलाउलान जस्तो गरी आँखा हेरिरहेका छन् । मनिषको गलित शरिर छ । मुखबाट फिँज आएको छ । कतै पनि विषादी फेला परेको छैन । केहि चक्कि सिटामोल र खाली खोलहरु छन् । शंकास्पद अवस्थामा उनिहरुलाई असार ३ गते राति ११ बजे फेला पारिएको छ । प्रारम्भिक अनुसन्धानबाट कमल मनिषासँग झगडा भए पछि नजिकै होटलमा गएर एकै पटक ७ वटा चुरोट खाएर फर्किएका थिए । होटलबाट फर्किएर ओछ्यानमा सुतिरहेका मनिषा र युवानलाई ब्लान्केटले नाक मुख थुनेर श्वास फेर्नै नदिई मारेको आशंका गरिएको छ । असार ३ गते विहानै सुत्ने कोठामा ताल्चा लगाएर कमल पसल खोल्न भन्दै निस्किएका छन् । घरबेटीले मनिषाका बारेमा सोधखोज गर्दा पसल गईसकेको भनेका छन् भने साथिभाईहरु तथा छिमेकी पसलका ब्यक्तिहरुले सोध्दा सञ्चो नभएर कोठामा सुतिरहेकी छे भनेका छन् । मनिषाको मोवाईल विहानभरी उठ्दैन दिउसो अफ हुन्छ । मोवाईल ओछेयानमै हुन्छ । दिउसो कमल पुनः डेरामा पुग्छन् । उनलाई पुनः मनिषाका बारेमा सोधखोज हुन्छ उनले साथिकोमा गएको जवाफ दिन्छन तर पनि सुत्ने कोठा खोल्दैनन । विस्तारै कोठा खोलेर भित्र पस्छन् । साँझ निस्कन्छन् । राति ८ बजे डेरामा फर्किँदा मनिषा नदेखे पछि घरबेटीले कहाँ गएको केरकार गर्छन । उनले आफन्तको नाम लिदै मनिषा उतै गएको बताउँछन् ।

शंका लागेर उनले फोन गर्छन । उनले मनिषा नआएको बताउँदै आफै कमलको डेरामा आउँछन् । कमल आत्तिन्छन् । त्यसपछि उपस्थित केहि ब्यत्तिले कमललाई चड्कन लगाउँदै सोध्छन् । उनले नाला दोबाटोमा साथिको घरमा बसिरहेको बताउँछन् । कोठाको चाबी समेत मनिषाले लगेकाले खोल्न नसक्ने बताउँछन् ।केहि मोटरसाईकलमा कमल सहित मनिषालाई खोज्न निस्क्छन् । नाला दोबाटो अलिक भित्र पुगेपछि कमल मोटरसाईकलबाट ओर्लेर भाग्छन् । तत्कालै प्रहरीलाई खवर हुन्छ । प्रहरी र तिनै मोटरसाईकलको सहयोगमा उनी पक्राउ पर्छन । कुटपिट पछि उनले भन्छन मैले असार २ गते राति नै उनिहरुलाई मारेर कोठामा ताल्चा लगाएर राखेको छु । आफु पनि मर्ने प्रयासमा कसैलाई भनिन । बरु मरेको श्रीमतीलाई अंगालो हाल्दै रातभर सँगै सुतें । प्रहरी र आफन्तले कोठा फोरेर हेर्दा मनिषा र युवान मृत अवस्थामा आफ्नै ओछ्यानमा फेला परेका थिए । प्रहरीले कमलले खाएको औषधी सहित उनको भोमिट र खाँदा खाँदै छोडेको भोमिट बरामद गरी परिक्षणका लागि पठाएको छ । स्थानीय र आफन्तले कमलले श्रीमती र छोराको हत्या गरी लुकाएर राखेको बताएका छन् । प्रहरीले पनि घटनाका बारेमा त्यहि कोणबाट अनुसन्धान गरिरहेको छ ।

के गर्दैछ प्रहरी ?

शंकास्पद घटनाका बारेमा प्रहरीले नजिकबाट प्रमाणहरु संकलन गरी अनुसन्धान गरिरहेको बताएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक राजन कोईरालाले कमल भनिने माधवप्रसाद घिमिरेको प्रहरी निगरानीमा अस्पतालमा उपचार गराईरहेको बताउनु भयो । उनको उपचार पछि धेरै कुरा आउने अपेक्षा गरिएको छ । शवको पोस्टमार्टमबाट पनि मृत्युको कारण खुल्नेछ । माईती पक्षका मनिषाका दाजु टिकाराम कार्कीले प्रहरीलाई टेलिफोनबाट निश्पक्ष छानविनको माग गरेका छन् । कोरोना भाईरसका कारण भएको लकडाउनका कारण तत्कालै घटनास्थलमा आउन नसक्ने बताउँदै टिकारामले शवको अन्त्येष्टी र नेपालको प्रचलित कानुन अनुसार दोषिलाई हदैसम्मको कारवाही र अनुसन्धानमा कमि हुन नदिन अनुरोध गरेका छन् ।

प्रहरीले मनिषाका ससुरा शान्तप्रसाद घिमिरेको जाहेरीका आधारमा अनुसन्धान अगाडी बढाएको छ । उनीहरुले प्रयोग गर्ने मोवाईलको रेकर्ड, ब्यवहार तथा साथिहरुसँग बताएका कुराहरुका आधारमा पनि अनुसन्धानलाई तिब्र बनाएको छ । पोस्टमार्टम रिपोर्ट र कमलको उपचार पछि घटनाका बारेमा धेरै कुरा खुल्ने इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक राजन कोईरालाले बताउनु भयो । माईती टाढा हुनु, केटीको पक्षमा बोल्ने कोहि नहुनु, तत्कालै शवको अन्त्येष्टी हुनु, केटाको ब्यवहार फरक फरक हुनु, पैसाको कारोवारमा उसको कौशलता देखिनु जस्ता ब्यवहारका कारण घटनामा दोषि उम्कने हो कि ? भन्ने आशंका स्थानीयले गरेका छन् । घटनाका बारेमा सत्यतथ्य बाहिर आउने भएकाले प्रहरीले आशंका नगर्न अनुरोध गरेको छ । कमल अहिले पनि स्थिर कुरा गर्दैनन ।

प्रतिक्रिया दिनुहोस्