कमेडीबाट खान पुग्छ, दिन पुग्दैन: मनोज गजुरेल



क्यारिकेचर होस् या स्ट्यान्डअप कमेडी, चोटिलो व्यंग्यले भरिएको मुक्तक होस् या दरो राजनीतिक व्यंग्य। यस्ता प्रस्तुतिका लागि हास्यव्यंग्यकार मनोज गजुरेललाई कसैले जित्न सक्दैन। पूर्वराजा ज्ञानेन्द्रदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्म होस् या भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि चिनियाँ राष्ट्रपति सी जिङपिङसम्म किन नहोस्, त्यसैगरी, प्रशासक लोकमान सिंहदेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु सम्म जो कोहीको हाउभाउ र बोली दुरुस्तै उतारेर तथा हाँसो र व्यंग्यको फोहोरा छरेर लोकप्रियता कमाउँदै आएका छन् गजुरेलले।

२०५२ सालमा पहिलोपटक गाईजात्रा कार्यक्रममा प्रस्तुति दिन प्रज्ञा भवनको स्टेज चढेका मनोजले तीन दशक लामो हास्यव्यंग्य करिअरको क्रममा देशदेखि विदेशसम्मका कयौं स्टेज मेला महोत्सवको स्टेज चढ्दै उचाइ कायम गर्दै आएका छन्। विभिन्न स्टेज, रेडियो कार्यक्रमसँगै क्यासेटको जमानामा फोटोकपी, मनोरञ्जन, हा हा हा जस्ता अडियो क्यासेटबाट हास्यव्यंग्य प्रस्तुत गरेका उनले समय र परिस्थितिअनुसार विभिन्न माध्यममार्फत दर्शक रिझाउँदै आएका छन्।

मनोजको लोकप्रियता यति धेरै छ कि उनलाई अमेरिकी अनलाइन सीबीएस न्युजले विश्वका १८ ट्रम्प प्रतिरुपणकर्ता हास्यकलाकारको सूचीमा राखेको छ। करिअरलाई अगाडि बढाउने क्रममा फिल्म १०० कडा १० मा अभिनय गरेका उनी चर्चित कमेडी रियालिटी शो कमेडी च्याम्पियनको निर्णायकसमेत रहेका छन्। उनी हाल भने आगामी गाईजात्रे कार्यक्रमको तयारीमा जुटेका छन्। दोस्रो चरणको कोभिड–१९ को चपेटामा परी हाल तंग्रिदै गरेका उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ:

 रश्मी थापा

ठूलो संघर्ष गरेर कोभिडमुक्त हुनुभयो । पोस्ट कोभिडको समस्या छ कि छैन?

खासै ठूला समस्या छैनन्। तर, चिसो, धुलोले चाँडै समात्छ। खानपान र साधनालाई व्यवस्थित गर्न परेको छ।

कोभिडसँग जुध्दाको समयलाई कसरी सम्झनुहुन्छ?

पीसीआर चेक गर्नुअघि रुघा, खोकीजस्तै सामान्य समस्याजस्तो लागेको थियो। पोजेटिभ आएपछि डर बढ्ने नै भयो। दुखाइ, डर र अत्यासले मनलाई अस्थिर बनाउँदो रहेछ।

कोभिडसँग लडिरहेका बेला तपाईंका विषयमा अफवाह पनि फैलाइए है?

अनियन्त्रित सामाजिक सञ्जाल र अपुष्ट अनलाइनहरुले कालोलाई गोरो र ज्युँदोलाई मृत बनाउने पुरानै रोग हो। म पनि त्यसको शिकार भएँ। त्यस्तो सुन्दा हाँस उठ्यो। तर, हाँस्न खोज्दा घाउ दुख्यो।

कोभिडलाई जित्न के गर्नुपर्दो रहेछ?

लाग्नै नदिन योग, ध्यान, प्राणायाम, खानपान र कामलाई नियमित गर्नुपर्छ। कोभिड भइहालेमा डाक्टर, स्वास्थ्यकर्मीको सहयोग लिनुपर्छ। उच्च मनोबल, उपचारप्रति विश्वास र चिकित्सकको नियमित सम्पर्कमा रहनुपर्छ।

देश विदेशका कार्यक्रमले भ्याइ-नभ्याइ हुने तपाईंलाई कोभिड र लकडाउनका कारण अहिले त फुर्सदै फुर्सद भयो होला?

फुर्सद त भयो तर अनुत्पादक फुर्सद भयो। फुर्सदलाई उत्पादनमूलक बनाउन खोज्यो, बाहिरी वातावरणले मनलाई अस्थिर बनाइहाल्छ। यस्तो फुर्सदको के काम?

तपाईं आफूलाई क्यारिकेचरिस्ट भन्न रुचाउनुहुन्छ कि व्यग्यंकार?

हास्यव्यंग्य मेरो विधा हो। यसै विधामार्फत नागरिक जिम्मेवारी निर्वाह गर्छ। हास्यव्यंग्यका धेरै रुपमध्ये क्यारिकेचर एउटा विधा मात्र हो।

 

तपाईं एउटै मानिस कहिले पूर्व राजा, कहिले प्रधानमन्त्री, नेता, भारतीय प्रधानमन्त्री, अमेरिकी र चिनियाँ राष्ट्रपति बन्नुहुन्छ। दुरुस्त ती पात्र बन्न के कस्ता तयारी गर्नुहुन्छ? त्यस्तो सोच कसरी बनाउनुहुन्छ?

विषयको स्तरीयता, पात्रको चयन चर्चा वा लोकप्रियताका आधारमा चयन हुन्छन्। दर्शकका नजरमा परेका पात्रलाई विषय बनाउँदा ती प्रस्तुतिले सफलता पाएका हुन् जस्तो लाग्छ।

तपाईंको क्यारिकेचर र स्ट्यान्डअप कमेडीका लागि पछाडि बसेर सघाउने हात र दिमाग पनि होलान् कि?

अवश्य छन् । सिस्नुपानी नेपालका साथीहरु, साहित्यकार रवीन्द्र समीर, नयाँ तथा पुराना लेखकहरु। सबैभन्दा बढीचाहिँ सर्वसाधारण जनता नै हुनुहुन्छ, जसका भोगाइ र बुझाइलाई म हास्यव्यंग्यको रंग लगाएर प्रस्तुत गर्छु।

व्यंग्य र पात्रको कन्सेप्ट कुन समयमा बनाउनुहुन्छ?

मसँग मेरो मोबाइलको नोटप्याडमा दैनिक अनुभव, अनुभूति, भावना, कल्पना, रचनाहरुको भण्डारण छ । दिमागमा कुनै विषय फुर्नासाथ नोट गरिहाल्छु। यो वा त्यो बेला भन्ने छैन।

यति सफल हास्यव्यंग्यकार भएर पनि तपाईंलाई फिल्म वा कमेडी सिरियलमा नदेखिनुको कारण के हो?

सायद म मञ्चकै लागि जन्मेको हुँला। त्यसैले मञ्चमै रमाइरहेको छु।

एउटा फिल्म पनि खेल्नुभयो, तर त्यो फिल्म खेल्ने तपाईंको निणर्य सही थियो त? तपाईंले निर्वाह गर्नुभएको भूमिका तपाईंको क्षमताअनुसार तपाईंलाई सुहाउने खालको थियो र?

मैले खेलेको फिल्म १०० कडा १० भ्रष्टाचार विरोधी सिनेमा हो। व्यावसायिक रुपमा जे भए पनि सन्देशका रुपमा त्यो सिनेमा नराम्रो थिएन। निर्देशक रामशरणजीको बोली, व्यवहार र कन्भिन्सिङ कलाले पनि म एकपटक सिनेमा टझाई मार्न उत्सुक भएँ। कथाले मलाई दिन मानेन कि मैले कथालाई दिन जानिन, त्योचाहिँ तपाईंहरुले नै भन्दिनुपर्छ।

स्ट्यान्डअप कमेडी र क्यारिकेचर जस्ता कमेडीबाट कमाइ कत्तिको हुन्छ?

खान पुग्छ, दिन पुग्दैन।

हास्यव्यंग्य कलाकारिता सँगसँगै व्यंग्य लेखनलाई पनि अगाडि बढाइरहनुभएको छ, समय व्यवस्थापन कसरी गर्नुहुन्छ?

हास्यव्यंग्य कलाकारिता मेरो पेशा हो भने लेखन रुचि। पेशा र रुचि मिलेपछि समय आफैं मिल्दोरहेछ।

अभिनयमा जम्ने सोच पनि छ कि?

क्यारिकेचर पनि अभिनय नै हो, जुन गरिरहेको छु। यदि, सिनेमाको कुरा गर्नुभएको हो भने सोच्नुपर्छ।

तपाईंले क्यारिकेचर गर्न चाहेको तर नमिलिरहेको कसैको छ?
ठ्याक्कै यहीको भन्ने त छैन तर समय अनुसार चर्चित पात्रको नै क्यारिकेचर गर्ने हो। त्यस्तो त धेरै भइरहन्छन्। कसैको स्वर मिल्दैन। कसैको स्वरुप मिल्दैन। कसैको विषय मिल्दैन।

राजनीतिक र सामाजिक व्यंग्य खुब गर्नुहुन्छ? तपाईंको नजरमा देशको राजनीति कता गइरहेको छ?

देशमा धेरै खालका व्यवस्था प्रयोग भए। राजतन्त्र, लोकतन्त्र, जनयुद्ध, बहुमत, अल्पमत सबै देखियो। तर, पनि जनता खुसी छैनन्, अन्योल छ । नेपाल आमा अहिले प्रसव वेदनामा छिन्। के जन्मिने हो, थाहा छैन। प्रार्थना छ, जे भए पनि आमालाई नराम्रो केही नहोस् ।

राजनीतिक व्यंग्य गर्दागर्दै आफैं पनि राजनीतिमा आउने सोच छ कि?

म विद्यार्थी जीवनमा राजनीति क्षेत्रमा पनि लागेको हुँ। मसँग राजनीतिक अनुभव छ। राजनीति छोडेर कलाकारितामा आएको हुँ।

सुनिन्छ, तपाईं नयाँ दाम्पत्य जीवन शुरु गर्दै हुनुहुन्छ?

यसैलाई हेडलाइन नबनाउने शर्तमा भन्न चाहन्छु, तपाईंहरुले जानकारी पाइहाल्नु हुन्छ नि।

प्रतिक्रिया दिनुहोस्