स्वास्थ्य सामाग्री पु-याउन गएकी अस्मिताको विभत्स हत्या, चार दिनपछि सामुदायिक वनमा शव भेटियो



राम धामी, डडेल्धुरा ।

डडेल्धुरा जिल्लाको भित्रिमधेस क्षेत्र परशुराम नगरपालिका–८ जमिरानीस्थित आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी अस्मिता धामीको विभत्स अवस्थामा शव फेला परेको छ । आधारभुत स्वास्थ्य केन्द्र जमिरानीबाट बुधबार स्वास्थ्य सामाग्री बोकेर फिर्ता गराउन परशुराम नगरपालिको केन्द्र जोगबुडा आएकी २६ बर्षीया धामीको शनिबार परशुराम नगरपालिका–९ स्थित हट्वानी सामुदायीक वनमा शव भेटिएको हो ।

कोरोना महामारी बिरुद्धको खोप लगायतका स्वास्थ्य सामाग्री बोकेर जोगबुडा आएकी उनी सम्पर्कमा नआएपछि परिवारजनले खोजबिनका लागि प्रहरीलाई निवेदन दिएका थिए । घरपरिवार तथा स्थानीयले खोजी गर्दा शनिबार अस्मिताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।

प्रहरी घटनास्थलमा पुगिसकेको छ । स्थानीयले उनको हत्या गरिएको आशंका गरेका छन् । तर, प्रहरीले भने पोष्टमार्टमपछि मात्रै हत्या वा अन्य कारणले मृत्यु भएको हो भन्ने खेल्ने जनाएको छ । इलाका प्रहरी कार्यालय जोगबुडाले घटनास्थलबाट शव जोगबुडा अस्पताल पुगाईएको र पोष्टमार्टम भईरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक हर्ष चन्दको नेतृत्वको प्रहरी टोली पनि पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी महेन्द्र नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्