लुम्बिनीबाट एमाले एकता कायम गर्ने अभियान शुरु



यमलाल भुसाल, बुटवल ।

प्रतिनिधिसभा विघटनपछि विभाजित भएको एमालेलाई बचाउन आग्रह गर्दै लुम्बिनीबाट एकता अभियानको थालनी भएको छ । युवा बुद्धिजिवी मञ्च बुटवलले एमाले विभाजनको संघारमा पुगेको भन्दै त्यसले कसैलाई हित नगर्ने भन्दै एकता अभियानको थालनी गरेको हो । एमालेभित्र गुटबन्दीले पार्टी विभाजनको संघारमा पुगेकाले विभाजन रोक्न शिर्ष नेताहरुलाई दबाब दिन अभियान शुरु गरिएको युवा बुद्धिजिवि मञ्चले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपि शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षमा विभाजित नेताहरु विच संवाद गरि भएका कमजोरी सच्चाएर एकताबद्ध हुन अपिल समेत गरिएको छ । मञ्चले शनिबार बुटवलमा ‘एकताबद्ध एकताबद्ध एमाले र सुदृढ संगठनका लागि अन्तरसंवाद’ कार्यक्रम गरि कार्यकर्ता एकताकै पक्षमा रहेको बताएका हुन ।

कार्यक्रममा एमालेका पूराना नेता तथा पूर्व सांसद देवेन्द्रराज घिमिरेले जनाधार र नेताको पुच्छर समाएर नेता हुन खोजेकाहरुले एमालेलाई फुटाउन खोजेको बताउनु भयो । उहांले २०५४ सालमा पार्टी फुट हुँदा कसैलाई फाइदा नभएको स्मरण गर्दै कम्यूनिष्ट सिद्धान्त र बहुदलीय जनवाद एमालेले भुलेको आरोप समेत लगाएका छन ।

उहांले एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपि शर्मा ओलीले आफू प्रधानमन्त्री हुनकै लागि माओवादी केन्द्रसँग पार्टी एकता गर्नु नै पहिलो गल्ती भएको औल्याए । उनले भने ओलीले तीन गल्ती गरेको औल्याए । –‘पहिलो गल्ती प्रचण्डसँगको सहमती, दोस्रो प्रतिनिधिसभा विघटन र तेस्रो नागरिकता अध्यादेश जारी गर्नु हो’ घिमिरेले भन्नु भयो ।

संविधानसभा सदस्य नेत्र पन्थीले नेपालमा कम्यूनिष्ट पार्टीहरुको आचरण र संस्कार बिग्रेको बताउँदै एमालेमा पनि त्यो हावी भएको बताउनु भयो । उहांले शिर्ष नेताहरुले गरेको गल्तीलाई आत्मसमिक्षा गर्दै नवौं महाधिवेशनको नेतृत्व र नितिमा पार्टीलाई फर्काएर एकता कायम गर्नुपर्ने बताउनु भयो । एमालेका नेता समेत रहेका पन्थीले अहिले आफू पार्टी एकताको पक्षमा रहेको बताउनु भयो ।

यस्तै प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष तथा बरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईले पार्टी नेतृत्वले गरेको गल्ती औल्याएकै आधारमा गुटमा भिडाउने प्रचलन गलत भएको भन्दै बुटवलबाट पार्टी एकताको सन्देश दिनुपर्ने बताउनु भयो । उहांले महाकाली सन्धि हुँदा पनि गलत भएको भनेको तर पार्टी एकता कायम राख्नुपर्छ भन्ने मान्यतामा अडि रहेको स्मरण गराउनु भयोे ।

युवा बुद्विजिवि मञ्च बुटवलका संरक्षक कमल गौतमले नेतृत्वका कारण पार्टी विभाजन हुन लागेको तर, तल्लो तहको कार्यकर्ता विभाजनको विपक्षमा रहेकाले एकताको सन्देश दिन बुटवलबाट अभियानको थालनी गरिएको बताउनु भयो । एमालेका पनि कुनै पक्षमा नलागेका जिल्लाका बुद्धिजिवि र सम्बद्ध व्यक्तिहरुले एमालेको एकता कायम गर्न अभियान शुरु गरेको मञ्च बुटवलका अध्यक्ष हरि ज्ञवालीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्