नर्वे सेनामा पहिलो पटक ८ नेपाली युवा भर्ती



न्युज अफ नेपाल, काठमाडौँ ।

नर्वे सेनामा पहिलो पटक ८ जना नेपाली युवा भर्ती भएका छन् । नर्वे सरकारले विश्वभरका ११७ देशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने गरी सेनामा भर्ती खुलाएको थियो । जसमा ८ जना नेपाली युवा भर्ती हुन सफल भएका छन् । उक्त कोटाका अनुसार भर्ती भएका सैनिकले पाँच वर्षका लागि कन्ट्रयाक्ट साईन गरेका हुन्छन् । सो अवधि सकिएसँगै उनीहरु घर फर्किन पनि पाउँछन् भने थप कन्ट्रयाक्ट लिन पनि सक्छन् । तर, यस भर्तीमा भने पेन्सनको व्यवस्था हुँदैन । भर्ती हुनका लागि अन्तर्वार्ता, शारिरिक व्यायामलगाएतका विभिन्न टेस्टहरु पास गर्नुपर्ने हुन्छ ।

भर्ती भएका किरण राना मगर

भर्ती भएका आठ जनामध्ये रोल्पाका किरण राना मगर पनि रहेका छन् । उनी रोल्पाबाट नर्वे सेनामा भर्ती हुने पहिला व्यक्ति समेत हुन् । नर्वे सेनामा भर्ति हुन सफल किरणले सो ठाउँमा पुग्न पाउँदा आफूले निकै गर्वको महसुस गरेको जनाएका छन् । ‘मेहनतका साथ यस ठाउँसम्म पुग्न पाउँदा निकै गर्वको महसुस भएको छ’ उनले भने ,‘नेपालीले विश्वको जुनसुकै कुनामा भए पनि आफ्नो मेहनत र परिश्रमले केही गर्छ है भन्ने लाग्छ । नर्वे सेनामा भर्ती हुनु म लगाएत मेरो परिवार र देशका लागि समेत गर्वको विषय हो ।’

ब्रिटिस आर्मी र ईण्डियन आर्मीले नेपाली युवाका लागि विभिन्न समयमा भर्ती खुलाउदै आए पनि अन्य विभिन्न देशहरुले भने आधिकारिक रुपमा नेपालीका लागि सेनामा भर्ती खुलाएका छैनन् । कतिपय नेपालीहरु केही समयका लागि कन्ट्रायाक्टमा विभिन्न देशको सेनामा भर्ती भने हुँदै आएका छन् । विदेशी सेनामा भर्ती भएका व्यक्तिलाई कतिपय देशहरुले कम समयमै आफ्नो देशको नागरिकता समेत उपलब्ध गराउँदै आएका छन् । नर्वे विश्वकै विकसित देशमध्ये एक हो । मानव विकास सूचकांक (ह्यूमन डेभलपमेन्ट ईन्डेक्स)मा समेत नर्वे पहिलो नम्बरमा रहेको छ ।

नर्वे सेनामा पहिलो पटक नेपाली युवाको समूह समेत भर्ती भएर आफ्नो देशलाई चिनाउन सफल भएका छन् । यो सबैका लागि गर्वको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्