बिपन्न वर्गको सहारा बन्दै खुमा फाउण्डेसन



अमृत अर्याल, स्याङ्जा । 

कोरोना संक्रमणले देश आक्रान्त अवस्थामा रहेको छ । संक्रमणलाई न्युनिकरण गर्न नेपाल सरकार र स्थानीय सरकारले गरेको निषेधाज्ञाको समय डेढ महिना पुगेको छ । यो स्वास्थ्य संकटका बेला सामाजिक संघसंस्था र विपद्मा सहयोग गर्ने मनकारीहरु प्रायजसो स्वास्थ्य सामाग्री वितरणमा व्यस्त रहेका छन् । यो समयमा विपन्न वर्ग र दैनिक मजदुरी गरेर खाने वर्गको लागि भने खासै चासो दिएको पाईदैन । समाजको शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद लगायतका क्षेत्रमा आर्थिक, भौतिक र सामाजिक सेवा गर्दै आएको खुमा अर्याल फाउण्डेसनले भने यो विपद्मा रचनात्मक काम गरेको छ । दैनिक मजदुरी गरेर खाने वर्गका लागि यो निषेधाज्ञाले खाद्यान्नको अभाव भएको खबर पाएपछि त्यस्ता बस्तीमा पुगेर खाद्यान्न वितरण गरेको छ ।

स्याङ्जाको वालिङ नगरपालिका १ मा रहेको माझी बस्तीमा फाउण्डेसनले खाद्यान्न सामाग्री वितरण गरेको हो । जिल्लामा संक्रमितको संख्या बढ्दै जादा प्रशासनले निषेधाज्ञा थप गरिरहेको छ । यसबाट दैनिक मजदुरी गरेर खाने वर्ग खाद्यान्नको चपेटामा परेको खबर पाएपछि एक महिनालाई पुग्ने चामल, नुन, तेल लगायत खाद्यान्न सामाग्री सहयोग गरेको फाउण्डेसनका संरक्षक डाक्टर लुना अर्यालले बताउनुभयो । जिल्लाको समग्र विकासमा फाउण्डेसनको सहयोग रहने बताउदै डा.अर्यालले पहिलो र दोस्रो कोभिड संक्रमणमा हरेक स्वास्थ्य चौकी देखि अस्पतालमा कोभिड उपयोगी स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको बताउनुभयो । कमाउने मात्रै ठुलो कुरा नभएको तथा दिनदुखीको सहयोगमा साथ दिनु नै सामाजिक उत्तरदायीत्व हो भन्ने फाउण्डेसनको उदेश्य रहेको डा.अर्यालको भनाई छ । बेसाहाराका लागि साहारा भन्ने ध्येय रहेको उल्लेख गर्दै डा.अर्यालले स्वास्थ्य उपचारमा कठिनाई भएमा पनि फाउण्डेसनले सहयोग गर्ने प्रतिवद्धता व्याक्त गर्नुभयो ।

फाउन्डेसनको सहयोगमा १५ घरका माझी समुदायलाइ खाद्यान्न सामाग्री वितरण गरिएको वालिङ नगरपालिकाका नगर प्रवक्ता तथा वडा अध्यक्ष केदार काफ्लेले बताउनुभयो । फाउण्डेसनले माझी समुदायलाई खाद्यान्न सहयोग गरी उनीहरुको दैनिकीमा खाद्यान्नको अभाव हुन नदिने गरी गरेको सहयोग प्रती आभार व्यक्त गर्नुभयो । फाउण्डेसनले जिल्लाका ११ ओटै पालिकामा त्यस्ता बस्तीको खोजी गरि खाद्यान्नको अभाव हुन नदिने गरी अगाडी बढेको जनाएको छ । अत्यन्तै विपन्न वर्ग र दैनिक मजदुरी गर्ने वर्गलाइ जुनसुकै सहयोग गर्न तयार रहेको फाउण्डेसनका अध्यक्ष कमल ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्