निवर्तमान मन्त्री आलेद्वारा उपचार सहयोग



विमल विष्ट, डोटी ।

निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले दुवै खुट्टा भाँचिएर घाइते भएका हुम्लाको सिमकोट गाउँपालिका–७ का ११ वर्षीय बालक युद्ध शाहीको उपचारका लागि आर्थिक सहयोग गर्नु भएको छ । आर्थिक अभावका कारण घाइते बालकको उपचारमा समस्या भएको जानकारी पाएपछि निवर्तमान मन्त्री आलेले रु १५ हजार उपचारका लागि प्रदान गर्नु भएको हो ।

हुम्लाका राससकर्मी दाने बोहराको राष्ट्रिय बाणिज्य बैंक हुम्ला शाखाको खातामा उपचारका लागि उक्त रकम पठाउनु भएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । निज बालक माटो खन्ने क्रममा यहि जेठ २९ गते दुवै खुट्टा भाँचिएर घाइते भएका थिए । केही दिन अगाडि जबु गाउँका विशाल शाहीको आगलागी भएको घर नयाँ मर्मतका लागि माटो खन्न गएका युद्ध शाहीको खुट्टा भाँचिएर हड्डी बाहिर निस्किएको र उपचारमा समस्या भएको स्थानीयवासी तथा पत्रकार दाने बोहराले जानकारी दिनुभयो ।

घाइते बालकका बुवाको केही वर्ष अगाडि नै निधन भएको तथा आमाले अर्कैसँग विवाह गरेका कारण उनको जिल्ला बाहिर थप उपचारका लागि लैजान आर्थिक सहयोग गर्ने कोही नभएका कारण आर्थिक सहयोग जुटाउनु परेको पत्रकार बोहराले खबर गरेपछि निवर्तमान मन्त्री आलेले उक्त रकम सहयोग गर्नु भएको हो । आलेले यस अघि पनि थुप्रै पीडितहरुलाई उपचारका लागि आर्थिक सहयोग गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्