माफी माग्दा पनि सुख पाएनन् वैद्यले



न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेशसभामा प्रधानमन्त्री केपी ओलीविरुद्ध ‘नाथुराम गोड्से बन्ने’ भनेर दिएको अभिव्यक्तिप्रति आत्मालोचनासहित सभामै माफी मागिसक्नुभएका नेपाली कांग्रेसका सांसद् नरोत्तम वैद्यलाई तत्काल पक्राउ गर्न माग गरिएको छ ।

नेकपा एमालेका जनसंगठनहरु र सामुदायिक संगठनका प्रतिनिधिले प्रदेशसभा सदस्य वैद्यको अभिव्यक्तिप्रति फौजदारी कानुन आकर्षित हुने भन्दै अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।

गृहमन्त्री खगराज अधिकारीलाई सोमबार भेटेर अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल खेलकुद महासंघ, राष्ट्रिय युवा संघ नेपाल, मुस्लिम इत्तेहाद संगठन, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, पेशागत् महासंघ र नेपाल ट्रेड युनियन महासंघ जिफन्टका प्रतिनिधिले ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले आफ्ना सांसद्ले आपत्तिजनक अभिव्यक्ति दिँदा पनि नेपाली कांग्रेसले मौनता साँधेको भन्दै विरोध जनाएका छन् । ‘वैद्यलाई अविलम्ब सांसद्बाट हटाउन माग गर्दछौं,’ उनीहरुको ज्ञापनपत्रमा भनिएको छ ।

प्रहरीमा जाहेरी

बागमती प्रदेशसभा सदस्य वैद्यविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी पनि दर्ता भएको छ । प्रधानमन्त्रीको हत्या गर्न दुरुत्साहन हुने अभिव्यक्ति दिएको भन्दै युवा संघ मकवानपुरका एक सदस्यले वैद्यलाई पक्राउ गरी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेका हुन् ।

उनले वैद्यविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दफा ३५ को उपदफा ३ (ख) बमोजिम कारबाही माग गर्दै आइतबार जाहेरी दर्ता गराएका छन् । युवा संघ मकवानपुर जिल्ला सदस्य अनिल काफ्लेले दिएको जाहेरी मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिं राठौरलाई बुझाइएको छ । युवा संघ नेपाल केन्द्रीय समिति सदस्य सन्तोष चौलागाईं नेतृत्वमा युवा संघआवद्ध समूहले प्रहरी उपरीक्षक राठौरलाई जाहेरी निवेदन बुझाएको हो ।

प्रधानमन्त्रीका सन्दर्भमा आपत्तिजनक अभिव्यक्ति दिएका वैद्यले शुक्रबार बैठकमा आफ्नो अभिव्यक्ति गलत रहेको स्वीकार गर्दै माफी माग्नुभएको थियो । प्रदेशसभामा समय लिएर बोल्दै उहाँले आफूले बोलेका शव्द फिर्ता लिँदै आफूले बोलेका कुरा नीति र संसदीय मर्यादाविपरीत रहेको महसुस गर्दै अभिव्यक्ति रेकर्डबाट हटाउन अनुरोध गर्नुभएको थियो । यद्यपि, उहाँले आत्मालोचना गरेरमात्र नहुने र पक्राउ गरेर कारबाही नै गर्नुपर्ने भन्दै संघले जाहेरी दर्ता गरेको हो । संघले शनिबार कारबाही माग गर्दै प्रहरीमा ज्ञापनपत्र पनि बुझाएको थियो ।

‘राजनीतिक प्रतिशोध’

काठमाडौं निर्वाचन क्षेत्र–४(१) बाट निर्वाचित प्रदेशसभा सदस्य वैद्यले प्रदेश सरकारको आव २०७८/०७९को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा वर्तमान अवस्थामा देशमा व्याप्त चरम निराशा र यसबाट उत्पन्न राजनीतिक परिस्थितिको विश्लेषण गर्दै उदाहरणका क्रममा भाववेशमा आएर प्रधानमन्त्रीलक्षित अभिव्यक्ति कांग्रेसको आदर्श, नीति र संसदीय अभ्यास र गरिमाविपरीत भएको कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले बताउनुभएको छ ।

उक्त विषयको जानकारी हुनासाथ नेपाली कांग्रेस प्रदेश संसदीय दलले वैद्यलाई उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेकोमा निर्देशनबमोजिम प्रदेशसभामा वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएर रेकर्डबाट हटाउन सभामुख सानुकुमार श्रेष्ठलाई औपचारिक अनुरोध गर्नुभएको थियो ।

तत्काल सभामुखले सोही बैठकबाट उक्त भनाइ रेकर्डबाट हटाउन निर्देशन दिनुभएको थियो । ‘वैद्यको अभिव्यक्ति रेकर्डबाट हटाइसकिएको छ । आमरुपमा जानकारी गराउन प्रेस विज्ञप्ति जारी भइसकेको छ । यी सबै कुरा भइसकेको अवस्थामा वैद्यउपर राजनीतिक प्रतिशोधका आधारमा सरकारको दबाब र प्रभावमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा हत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको भन्ने जानकारी आएको छ,’ नेता बानियाँले भन्नुभएको छ–यसप्रति नेपाली कांग्रेस प्रदेश संसदीय दलको गम्भीर ध्यानार्कषण भएको छ ।

प्रदेशसभामा व्यक्त कुनै कुराका आधारमा प्रदेशसभा सदस्यलाई पक्राउ गर्ने र थुनामा राख्ने वा निजउपर कुनै अदालतमा कारबाही चलाइने छैन भन्ने संवैधानिक व्यवस्थाको पूर्णरुपमा बर्खिलाप गर्दै वद्नियतपूर्ण तवरबाट जाहेरी दर्ता भएको छ,’ उहाँले दाबी गर्नुभएको छ ।

प्रदेशसभाको विशेषाधिकार हनन् गर्दै प्रदेशसभाको मानहानि गर्ने कार्य नेपालको संविधानको बर्खिलापमा छ । प्रहरी अनुसन्धान अधिकारीलगायत सरकारका कुनै पनि निकायलाई यसो गर्ने कानुनी अधिकार छैन । संवैधानिक मूल्य/मान्यता र संसदीय अभ्यासमाथि गम्भीर आघात पुर्‍याएको उक्त दलको ठहर छ ।

‘संवैधानिक व्यवस्था, विधिको शासन र प्रचलित कानुनविपरीत गरेको यस्तो कार्यको नेपाली कांग्रेस प्रदेश संसदीय दल घोर भत्र्सना गर्दछ । आबश्यक परे यस्तो गैरसंवैधानिक कार्यको कांग्रेस प्रदेश संसदीय दलले प्रदेशसभामा सशक्त प्रतिवाद गर्नेछ,’ नेता बानियाँद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्