भारतीय मूलकी पत्रकारलाई ‘पुलित्जर’ पुरस्कार



इन्डियन न्युज नेटवर्क । 

भारतीय मूलकी पत्रकार मेघा राजागोपालनले पत्रकारिता क्षेत्रमा अमेरिकाकै सबैभन्दा सम्मानित मानिने ‘पुलित्जर’ पुरस्कार प्राप्त गरेकी छन् । चीनमा उइघुर मुस्लिम र अन्य अल्पमत जातीय समूहका असंख्य व्यक्तिलाई हिरासतमा थुनेर राखेको सम्बन्धी श्रृखलाबद्ध ढंगले महवपूर्ण लेख रचना प्रकाशित गरेबापत उनलाई यस पुरस्कारबाट सम्मान गरिएको हो ।

सन् २०२१ का लागि अन्तर्राष्ट्रिय समाचार लेखन विधातर्फ शुक्रबार पुलित्जर बोर्डले घोषणा गरेका पुरस्कार विजयीमा मेघा राजागोपालन, एलिसन किल्लङ र बजफिड न्युजका क्रिस्टो बस्चेक रहेका छन् ।यी तीनै जनालाई भू–उपग्रह तस्वीर, वास्तुविद विशेषता तथा दर्जनौं पूर्व कैदीलाई अन्तर्वार्ता लिएर थुप्रै संख्यामा मुस्लिमहरूलाई थुनामा राख्न चीन सरकारले विशाल तथा नयाँ भौतिक पूर्वाधार तयार पारेको आधारमा सो पुरस्कारका लागि छनोट गरिएको बोर्डले जनाएको छ ।

राजागोपालन र उनका सहकर्मीहरूले भू–उपग्रह तस्वीर र ३डी आर्किटक्चरल सिमुलेसन गरेर विभिन्न हिरासतमा थुनिएका दुई दर्जन कैदीको विश्वसनीय तरिकाले अन्तर्वार्ता लिएका थिए । ती हिरासत शिविरहरूमा करिब १० लाख उइघुर मुस्लिम र अन्य जातीय अल्पसंख्यक समूहलाई थुनिएको अनुमान गरिएको छ ।राजागोपालनले आफूलाई उक्त पुरस्कार विजयी घोषित गरिएको थाहा पाउँदा आश्चर्य र खुसी दुवै लागेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्