महामारी नियन्त्रणमा प्रहरी अस्पतालको अर्जुनदृष्टि



घनबहादुर थापा

मानवीय जीवनमा सेवाको महत्त्व मापन समयसँगै फरक–फरक हुँदो रहेछ । जीवन रक्षाको प्रमुख भूमिकाको रूपमा सदैव स्मरण गरिने स्वास्थ्य सेवा कोरोना महामारीको क्षणमा झन् महत्त्वपूर्ण र अपरिहार्य सेवा साबित हुन पुगेको छ । महामारीको विषम परिस्थितिमा अस्पताल र स्वास्थ्यकर्मीले निर्वाह गरेको भूमिका, त्याग, तपस्या र बलिदान अतुलनीय र प्रशंसनीय त छ नै, कहिलेकाहीँ विवादमा समेत परेको देखिन्छ ।

विश्वब्यापीरूपमा फैलिएको कोभिड–१९ महामारीबाट हरेक अस्पतालको दैनन्दिनी फेरियो । अर्थात् नियमित सेवालाई कोभिड सेवाको रूपमा रुपान्तरण गरी अत्यन्त सजगताका साथ सेवा प्रदान गर्नुपर्ने अवस्था सिर्जना भयो । यस विषम परिस्थितिबाट उत्पन्न चुनौतीको हरेक अस्पताल र स्वास्थ्यकर्मीले सामना गर्नुप¥यो । कोभिड संक्रमितको उपचारलाई लिएर प्रशंसा, सकारात्मक प्रतिक्रिया मात्रै होइन अनेक टीका–टिप्पणीहरूसमेत भए । संक्रमितको उपचारमा अस्पतालले लापरबाही गरेको, स्वास्थ्यकर्मीले बिरामीको उचित वास्ता नगरेको, अक्सिजन उपलब्ध गराउन नसकेको, पर्याप्त बेडको व्यवस्था हुन नसकेको, भनसुनको भरमा भर्ना र उपचार गर्ने गरेको जस्ता आरोप अस्पतालले खेप्नुप-यो ।विषम अवस्थामा उपचारमा लापरबाही भएको विषयलाई लिएर कतिपय अस्पतालमा तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात भएका समाचार पनि आए । विभिन्न लाञ्छना खेप्नुप¥यो । अस्पतालप्रति विषवमन, सामाजिक सञ्जालमा असन्तुष्टिका शब्दहरू पनि यथेष्ट खर्चेको पाइयो । महामारीबाट उत्पन्न चुनौतीको सामना गर्नुपर्ने बाध्यताबाट नेपाल प्रहरी अस्पताल पनि अछूतो रहेन । चौबीसै घण्टा राज्य र नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीको साथै आम नागरिकसमेतलाई सेवा प्रदान गर्ने अस्पतालको सेवा अहिलेको अवस्थामा निश्चय पनि संवेदनशील छ ।

यस तथ्यलाई मनन गरी जटिल अवस्थामा संक्रमण रोकथाम, नियन्त्रण एवं उपचार व्यवस्थापनमा प्रहरी अस्पताल सक्रिय रहँदै आएको छ । कोभिड–१९ को कारण सिर्जित अत्यन्त विषम अवस्थामा अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीहरू बिरामीको उपचार र सेवामा अहोरात्र निष्ठापूर्वक खटिइरहेका छन् । यस खटाइलाई सार्थक तुल्याउन अस्पतालले पनि नवीन अर्जुनदृष्टिका साथ व्यवस्थापन गरी उदाहरणीय काम गरेको तथ्य कसैको सामु छिपेको छैन ।मानव जीवनमाथि आइलागेको विश्वव्यापी महासंकटको यस घडीमा स्वास्थ्यकर्मीहरू दृढ संकल्पका साथ हरपल तत्पर रही सेवामा क्रियाशील रहिरहे । कतै कुनै कमजोरी भएको भए समयमै सम्बोधन गर्नका लागि अस्पताल प्रशासन सचेत रह्यो । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अहिले भगवान्को रूपमा हेरिने गरिएको छ । बिरामीको उचित सेवा तथा उपचार गरी भगवान् बन्ने मौका नछोड्न आग्रह गरियो । नागरिकको अपेक्षा पूरा गर्न स्वास्थ्यकर्मीले अत्यन्तै संवेदनशील भई कोभिड बिरामीको उपचार गर्न, मनग्य काउन्सिलिङ गर्न सतत् प्रयास गर्नुपर्ने अवस्था छ । सोही अनुरूपको काम गर्न अस्पताल प्रशासनले नवीन ऊर्जा र अर्जुनदृष्टिका साथ सेवामा समर्पित रहेको आभास हुन्छ ।

नेपाल प्रहरी अस्पताल आफ्नो पेसागत धर्मका साथ उपचार व्यवस्थापन गर्न चाहन्छ र गरिरहेको छ । यसको ज्वलन्त उदाहरण जब नेपालमा कोरोना संक्रमण देखियो तबदेखि शुरू गरेका हरेक आकस्मिक उपचार सेवालाई लिन सकिन्छ । शुरूमै नेपालमा संक्रमण देखिनासाथ प्रहरी अस्पतालले तत्काल ‘फिभर क्लिनिक’ स्थापना गरी कोभिड र नन–कोभिड बिरामी छुट्याएर विशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध गराइहाल्यो । प्रहरी कर्मचारी तथा तिनका आश्रित परिवारका साथै सर्वसाधारण नागरिकहरूलाई समेत सहज र छिटो सेवा प्रदान गर्न २०७७ असार १६ गतेदेखि नै पीसीआर परीक्षण कार्य शुरू गरेको देखिन्छ ।दक्ष जनशक्ति उत्पादन गरी सेवालाई भरपर्दो बनाउन कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अनुशिक्षण तालिम प्रदान गर्ने, संक्रमित देखिएका प्रहरी कार्यालयलगायत अन्य सम्बन्धित स्थानहरूमा ’डिसइन्फेक्सन’ गर्न अस्पतालबाट टोली खटाउने, आकस्मिकरूपमा उपत्यकाबाहिर समेतबाट मोबाइल स्वाब संकलनको व्यवस्था गर्ने र संक्रमितहरूको सम्पर्कमा आएका व्यक्तिहरूलाई छुट्याई थप संक्रमण फैलन नदिन कन्ट्रयाक्ट ट्रेसिङ युनिटको व्यवस्था गर्ने काम शुरूकै दिनमा गरिएबाट अस्पतालले उपचारमा देखाएको संवेदनशीलता प्रस्ट हुन्छ । शुरूका दिनमा कोरोना भाइरसबारे विभिन्न अफवाह फैलाइए ।

मानिसहरू के गर्ने, के नगर्ने अन्यौलमा परेको अवस्थामा जनचेतनामूलक कार्यक्रमको आवश्यकता प-यो । यसको लागि अस्पतालका चिकित्सकहरूले कोभिड–१९ बाट बच्न दैनिक अपनाउनुपर्ने सुरक्षा प्रक्रियासम्बन्धी सचेतनामूलक भिडियोहरू तयार गरी सामाजिक सञ्जालमा राखेर सहयोग पु-याएको पाइन्छ । यसबाट सेवाग्राही आजपर्यन्त लाभान्वित भएका छन् ।एक स्थानबाट अर्को स्थानमा सहजरुपमा आवतजावत गर्न कठिन भएको अवस्थामा दूरदराजका बिरामीहरू स्वास्थ्य उपचार गर्नबाट वञ्चित भए । उनीहरूलाई अस्पतालका विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन प्रहरी अस्पतालले टेलिमेडिसिन सेवा शुरू गरी निरन्तरता प्रदान गरिरहेको पाइन्छ ।कोभिड–१९ को रोकथाम, नियन्त्रण र समन्वयका लागि स्रोत–साधनको आवश्यकता टड्कारो हुने गर्दछ । यसका लागि अक्सिजनसहित थप बेडको व्यवस्था, संक्रमितहरूका लागि एम्बुलेन्स थप सेवा प्रदान गरिएको पाइन्छ । यसअघि प्रहरी अस्पतालमा जम्मा १ सय ५० बेड थिए । त्यसमा १ सय ५० बेड थप गरी हाल ३ सय बेडको व्यवस्था गरिएको तथ्यांकले देखाउँछ । जसमध्ये २ सय ६४ बेड कोभिडका लागि सञ्चालनमा ल्याइएको देखिन्छ । निर्माणाधीन भवनमा समेत अक्सिजन सिलिन्डरसहित बेडको व्यवस्था गरी उपचार सेवा प्रदान गर्नु, साथै सशस्त्र प्रहरी गण नम्बर २ महाराजगन्ज, महानगरीय प्रहरी पहरा गण सामाखुसी र विपद् व्यवस्थापन महाशाखा सामाखुसीमा समेत आइसोलेसनमा राखी उपचारको व्यवस्था गरिएबाट महामारीमा बढी भन्दा बढी बिरामीले सेवा पाउन सकेको कुरा घाम जत्तिकै छर्लङ्ग छ ।

कोभिड संक्रमण हुने डरले अस्पतालमा बिरामीका आफन्तले बिरामी भेट्न नपाउने अवस्था आइप¥यो । यसको कारण आफन्तलाई सकस हुन पुग्यो । यस समस्याको समाधानका लागि प्रहरी अस्पतालले हेल्पडेस्क स्थापना ग¥योे, जसमार्फत बिरामीका आफन्तले बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी पाउन सके । कोरोना संक्रमणको बेला अपनाउनुपर्ने सजगता र उपचारबारे वास्तविकता हेल्पडेस्कबाटै अवगत गराउन थालियो । यसले बिरामीका आफन्तलाई आफ्ना बिरामीको अवस्थाबारे जानकारी भयो र ढुक्क हुन सके । आवश्यकताअनुसार बिरामीका आफन्तले उपचारको सन्दर्भमा अगाडि गर्नुपर्ने प्रयास समयमै गर्न सके । के–कसो भइरहेको होला भन्ने चिन्ताबाट मुक्त हुन सके ।महामारीको कारण कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा देशभर अक्सिजनको अभाव देखियो । मानिसहरू आफ्ना बिरामी बचाउन आफैँ अक्सिजनका लागि भौंतारिएका समाचार प्रकाशमा आए । यसले प्रहरी अस्पताल प्रशासनलाई चिमोट्यो । यसका कारण बिरामीको ज्यान बचाउने अक्सिजनको जोहो गर्न सक्रियता अपनाइएको देखिन्छ । फलतः ‘युएनओपीएस’को सहयोगमा प्रतिसिलिन्डर ४६ लिटरका १ सय ४० वटा सिलिन्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स पीएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम सञ्चालनमा आयो । दैनिक अक्सिजन उद्योगमा गाडी लाइनमा राखी अक्सिजन ल्याउने व्यवस्थाले अक्सिजन आपूर्तिको साथै बिरामीको मनोबल उकास्न र उपचारमा समेत थप बल मिल्यो ।

समग्र स्वास्थ्य क्षेत्रमा स्वास्थ्यकर्मीको उपस्थिति न्यून हुँदा आवश्यक सेवा प्रदान नभएका गुनासा यत्रतत्र सुनिन थाले । कतै प्रहरी अस्पतालमा पनि यस्तो समस्या आउने त हैन ? अस्पताल प्रशासन यी प्रश्नको जवाफ खोज्न सचेत बन्यो । जुनसुकै बखत उपचारको कमी हुन नदिन १८ जना विशेषज्ञ चिकित्सकको डेडिकेटेड समूह बनाई ५–५ दिनको रोटेसनमा परिचालन गरियो । भीडभाड हुन नदिन अन्य विशेषज्ञ चिकित्सकलाई ‘अनकल ड्युटी’मा राखियो । साथै स्वास्थ्यकर्मीको मनोबल उकास्न थप जनशक्तिको व्यवस्था गरियो ।कोभिड–१९ बाट सिकिस्तरुपमा संक्रमित बिरामीहरूको थप उपचारको लागि प्लाज्मा थेरापी आवश्यक देखियो । प्रहरी अस्पतालको ब्लड बैंकले संक्रमित भई निको भएकाहरूबाट सेवा शुरू गरी बेड भर्नामा रहेका सिकिस्त बिरामीलाई प्लाज्मा थेरापी सेवा उपलब्ध गराइरहेको छ । भर्ना भएका प्रहरी कर्मचारी तथा सर्वसाधारण कोभिड बिरामीहरूलाई रेम्डिसिभिरलगायतका औषधि तथा औषधिजन्य सामानहरूसहित खाना तथा खाजाको व्यवस्था गरी सम्पूर्ण सेवाहरू निःशुल्क उपलब्ध गराउने व्यवस्था अस्पतालले गरेको देखियो ।नेपाल सरकारले कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेपश्चात् अस्पतालमा खोप केन्द्र स्थापना गरियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सवारीचालक र सरसफाइका कर्मचारीहरूका लागि खोप उपलब्ध गराइएकोले नेपाल प्रहरी अस्पताल, अन्य अस्पताल र अस्पतालबाहेक अन्य निकायका कर्मचारीहरूलाई खोप प्रदान गर्न शुरू गरियो । जसअन्तर्गत २६ हजार ३ सय ५९ जनालाई पहिलो खोप र ५ हजार ९ सय ४ जनालाई दोस्रो खोप प्रदान गरियो ।

सङ्क्षेपमा, कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रण एवं उपचार व्यवस्थापनमा मात्र अर्जुनदृष्टि कायम गरी अस्पतालले निर्वाह गरेको भूमिका प्रशंसनीय देखिन्छ । समग्र प्रहरी संगठनको सार्वजनिक प्रतिष्ठा र नेपाल प्रहरी अस्पतालको विश्वसनीयता जोगाउन तथा आमनागरिक एवं प्रहरी कर्मचारीप्रतिको दायित्व कायम राख्न अस्पताल प्रशासन नवीन योजना र अर्जुनदृष्टिका साथ कटिबद्ध रही काममा तल्लीन रहेको देखिन्छ । यसको उचित समीक्षा, मूल्याङ्कन गर्ने पाटो सेवाग्राहीको हो । विषम परिस्थितिमा व्यक्तिगत जोखिम मोलेर अस्पताल र स्वास्थ्यकर्मीले पु¥याएको अतुलनीय योगदानलाई निश्चय पनि हामी सबैले अनिवार्य बुझ्नै पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्