१० महिना कोमामा रहेकी महिला ब्युँझिइन्



मिलान, (एजेन्सी)  । 

लगातार १० महिनादेखि अचेत अवस्थामा रहेकी एक इटालियन महिला पूर्णरूपमा होसमा आएकी छन् । स्थानीय सञ्चार माध्यमका अनुसार ३७ वर्षीया क्रिस्टिना रोजीलाई गत वर्षको जुलाईमा सात महिनाको गर्भ बोकेको अवस्थामा ह््रदयाघात भएको थियो ।

आपतकालीन सिजरिन प्रविधिबाट उनकी छोरी क्याटेरिनाको जन्म गराइएको थियो । उनका पति ग्रावियल सुसीले ला नाजीवन अखबारलाई भनेका छन्– ‘सम्भवतः मस्तिष्कमा आघात पुगेको कारण उनी कोमामा पुगेकी थिइन् । ब्युँझिनासाथ उनले पहिलो शब्द, ‘आमा’ बोलेकी थिइन् । हामीले यस्तो पनि क्षण आउँछ कि भनेर आशा गरेका थिएनौं । लामो दुःखद क्षणपछि यो हाम्रो वास्तविक खुसी थियो ।’

उपचारकै क्रममा रहेका बेला गत अप्रिलमा उनलाई विशेष उपचारका लागि अस्ट्रियाको एउटा क्लिनिकमा सारिएको थियो । उनले होसमा आएर पहिलोपटक बोल्दा उनको साथमा उनका पति र आमा दुवै थिए ।उनको विदेशमा भएको उपचारका लागि खर्च क्राउडफन्डिङ पेजले संकलन गरिदिएको थियो । कुल २ लाख ८ हजार अमेरिकी डलर संकलन भएको थियो । जन्मेका बेला शरीरमा पर्याप्त अक्सिजन नपुगेको कारण तिनीहरूका छोरीको पनि महिनौंसम्म अस्पतालमा उपचार गर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्