हलिउडका फिल्मको भीएफएक्स पनि नेपालमा भइरहेको छ : करुण थापा



फिल्म सम्पादक, एनिमेटर, कम्प्युटर विज्ञ, गीतकार, गजलकार, प्रविधि तथा मिडिया प्रशिक्षकजस्ता थुप्रै विधामा छरिएको छ बेनी, म्याग्दीका ५६ वर्षीय करुण थापाको । कुशल र अनुभवी कम्प्युटर सफ्टवेयर प्राविधिक थापा नेपालकै पहिलो थ्रीडी एनिमेटर र पहिलो डिजिटल फिल्म सम्पादक हुन्। कम्प्युटरमा ३० वर्षभन्दा बढी तथा फिल्म सम्पादन र एनिमेसनमा २५ वर्षभन्दा लामो अनुभव संगालेका करुण हाल सिल्भरगेट सफ्टवेयर प्रालि र सिंक्लेयर एकेडेमी प्रालिका सिइओ तथा बुकबर्ड नेपालका उपाध्यक्षसमेत छन्। अढाई दर्जनभन्दा बढी फिल्म सम्पादन गरेका करुणलाई थ्रीडी एनिमेसन प्रविधि तथा डिजिटल प्रविधि भित्र्याएर नेपाली श्रव्य-दृश्यलाई प्राविधिक उचाइमा पु-याउने श्रेय जान्छ। नेपाल टेलिभिजनलगायत आधा दर्जन नपाली टेलिभिजन च्यानलको लोगो एनिमेसन सिर्जना गरेका करुणले नेपाल प्रहरी, नेपाली सेना, बीबीसी, यूएनडीपी तथा नेपाल र दक्षिण एसियाका विभिन्न टेलिभिजनका लागि प्रशिक्षण दिँदै आएका छन् भने दर्जनौं फिल्म अवार्ड र गीत गजल प्रतियोगितालगायत विभिन्न अवार्डमा निर्णायकका रुपमा भूमिका निर्वाह गर्दै आएका छन्। फिल्म तथा विभिन्न एल्बमका लागि एक सयभन्दा बढी रेकर्ड गराइसकेका थापाको बतासले चोट लाग्छ गजल संग्रह प्रकाशोन्मुख छ भने एक गीतको पुस्तक प्रकाशनका लागि तयार छ। थापासँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ:

  • रश्मी थापा

तपाईंको प्राविधिक काम भएकाले लकडाउनमा पनि घरमै बसेर काम अगाडि बढाइरहनु भएको छ होला ?

घरैबाट काम गरेको एक वर्षभन्दा बढी भयो। बीचमा २ महिना जति अफिस खोलियो, फेरि बन्द गर्नुपर्ने भयो। घरबाट काम गर्दा सोचे जति प्रभावकारी नभए पनि अलिअलि काम भएको छ। लकडाउनले असर परेको छ, तर काम ठप्पै भएको छैन। केही एनिमेसन तथा सफ्टवेयरको काम चलेको छ।

पछिल्लो समय तपाईंले एनिमेसनकै कामलाई फोकस गरिरहनुभएको छ। नेपालमा एनिमेसनको कत्तिको स्कोप छ ?

हिजोआज एनिमेसनसँगै सफ्टवेयरको काम पनि गरिरहेको छू। एनिमेसनको स्कोप निकै राम्रो छ। वास्तवमा एनिमेसनको क्षेत्र एकदम फराकिलो छ। मान्छेहरुलाई एनिमेसन भन्नेबित्तिकै कार्टून या एनिमेटेड फिल्मको सम्झना आउँछ। तर एनिमेसनमा ब्रोडकास्ट ग्राफिक्स, क्यारेक्टर एनिमेसन, प्रडक्ट एनिमेसन, वाकथ्रू, भीएफएक्स, कम्पोजिटिङ, म्याट पेन्टिङ जस्ता विभिन्न क्याटेगोरी छन्। यी कामको फरक–फरक विधामा फरक किसिमको स्कोप छ। नेपालमा धेरै टीभी च्यानल खोलिएकाले ब्रोडकास्ट ग्राफिक्समा पनि स्कोप छ।

विज्ञापनमा आवश्यक प्रडक्ट एनिमेसन तथा क्यारेक्टर एनिमेसनको पनि त्यत्तिकै स्कोप छ। नेपालमै पनि हलिउडका फिल्मका भीएफएक्सका काम भइरहेका छन्। ती कामबाट नेपाली एनिमेटरले अन्तर्राष्टिझय काम गर्न सक्छन् भन्ने पनि प्रमाणित गरेका छन्। हिजोआज त घरबाटै पनि अन्तर्राष्टिझय काम पनि गर्न सकिन्छ।

घरमै बसेर विभिन्न देशका ग्राहकलाई एनिमेसन सेवा दिएर प्रशस्त कमाइ गरेको उदाहरण पनि धेरै छन्। नेपालमा यसको स्कोप विज्ञापन, फिल्म, म्यूजिक भिडियो तथा टिभीका लागि बढी भएको छ। अझ क्यारेक्टर एनिमेसनमा स्कोप बढी हुनुपर्ने हो तर त्यसमा नेपाली एनिमेटरहरु जति लाग्नुपर्ने हो, त्यति लागेका छैनन्।

एनिमेसन प्रविधि किन यती धेरै महंगो ?

एनिमेसन भनेकै निकै समय लाग्ने विषय हो। कुनै पनि एनिमेसनको विधा होस्, त्यसमा एकभन्दा बढी व्यक्तिको संलग्नता जरुरी हुन्छ। धेरै विधाका मानिसबाट भिन्न भिन्न विधाको काम गर्न समय लाग्छ।

समय नै पैसा हो र कामले जति समय लिन्छ त्यति नै महंगो हुने भएकोले एनिमेसन महंगो हुन पुगेको हो। अर्को कारण चाहिँ एनिमेसनका लागि चाहिने सफ्टवेयर तथा हार्डवेयर दुवै महंगो पर्नु हो। र पनि हिजोआज पहिलेजस्तो महंगो भने छैन।

नेपाली फिल्ममा एनिमेसनको प्रयोग यथेष्ट नहुनुको कारण के हो ?

पहिलो कारण त कथा र पटकथाले एनिमेसन माग्नु प-याे। कथा र पटकथा लेखकले नै एनिमेसन प्रयोग हुने कुनै सोच नराखेपछि त्यसमा एनिमेसन प्रयोग हूने कुरै भएन। दोस्रो कथा पटकथाकारहरुले एनिमेसन नै गर्ने हिसाबले कथा लेख्न एनिमेसनको बारेमाबुझ्नु पनि प-याे नि। हाम्रा थोरै मात्र कथाकार र पटकथाकारले यो सोच्नु हुन्छ।

तेस्रो चाहिँ एनिमेसन महँगो हो भन्ने सोच हामी सबैमा विद्यमान छ। यो विधा सस्तो त हैन, तर सोचे जत्तिको महँगो पनि छैन। चौथो कारण चाहिँ एनिमेसन चाहिने किसिमको फिल्मको निर्माण भएकै छैनन् हामी कहाँ। साइन्स फिक्सन या काल्पनिक लोक कथा, भूतप्रेतका कथा या धार्मिक कथामा बढी एनिमेसन चाहिन्छन्, यस्तो किसिमका फिल्म हामी कहाँ कम बनेका छन्।

भुवन केसीले क्याप्टेन फिल्म बनाउँदा नेपालमा सोचेजस्तो एनिमेटर छैन भन्नुभयो, साँच्चै नै नेपालमा दक्ष एनिमेटर छैनन् ?

उहाँको यो भनाइप्रति भने मेरो असहमति छ। नेपालमा हलिउड फिल्मको भीएफएक्स् भएका छन्। नेपालमै हलिउडस्तरको काम हुन्छ भने दक्ष एनिमेटर छैनन् भन्न मिल्दैन। क्याप्टेन फिल्ममा सायद एनिमेसनका लागि पर्याप्त बजेट भएन कि ? या जहाँ स्तरीय एनिमेसन सेवा पाइन्थ्यो, त्यहाँ भुवन दाइको पहुँच भएन कि? खासमा नेपाली फिल्ममा मूख्य समस्या बजेट विनियोजनमा छ।

जहाँ बजेट पुग्नु पर्ने हो, त्यतिबेला निर्माताको बजेट सकिइसकेको हून्छ। मैले आफ्नो पोस्ट प्रोडक्सन कम्पनी चलाउँदाको अनुभव ६ पहिला अनुमान गरिएको बजेट शुटिङ सक्दा सकिइसकेको हुन्छ। पोस्ट प्रडक्सनका महत्वपूर्ण काम हुने बेलासम्म निर्माताको बजेट सकिएकाले काममा कम्प्रोमाइज हुने गर्दछ। क्याप्टेनको पनि त्यही अवस्था हुन सक्छ।

फिल्मलाई प्राविधिक रुपले स्तरीय बनाउन एनिमेसन कत्तिको आवश्यक छ ?

एनिमेसन भए फिल्म स्तरीय हुने, नत्र नहूने भन्ने हुँदैन। एनिमेसन त फिल्ममा आवश्यक भीएफएक्स या कुनै दृश्य जुन हामीले कल्पना गर्न सक्छौं तर खिच्न सक्दैनौं, त्यतिबेला चलाउने प्रविधि हो।

कूनै फिल्ममा अनुभूति नहुने गरी एनिमेसन गर्न पनि जरुरी हुन्छ। एनिमेसनका लागि एनिमेसन हैन, फिल्मले मागेको अवस्थामा चलाउन सके एनिमेसनको सही प्रयोग भएको मानिन्छ। कुनै अवस्थामा एनिमेसनले नसोचेको कुरा देखाएर या इफेक्ट थपेर स्तरीयता प्रदान गर्न सकिन्छ।

कस्तो कस्तो सिनका लागि एनिमेसनको जरुरत पर्दछ ?

मानिस उडेको, गाडी, हेलिकप्टर या हवाईजहाज पड्केको, ठूला घर तथा बिल्डिध्र या शहर नै ढलेको, अन्तरिक्ष यात्रा या असम्भव किसिमका आकाश या पानीमा बस्ने प्राणी या भूत प्रेत या बाहिरी ग्रहका प्राणी या ठूला ठूला सेट, हजारौं योद्धा आदि सिनका लागि एनिमेसन जरुरी हून्छ। एनिमसनको प्रयोग हामी कसरी प्रयोग गर्छौं भन्नेमा भर पर्छ।

एनिमेसनको काम गर्दा तपाईं स्वयंको सिर्जना हुन्छ कि निर्माता निर्देशकको कल्पनाअनुसार गर्नुहुन्छ ?

डिजिटल सम्पादन भन्नुहोस् या एनिमेसन यी दुवै, मैले नेपालमा भित्र्याएका क्षेत्र हुन्। त्यसको नाताले कतिपय निर्माता निर्देशकले एनिमेसन गर्दा मलाई पनि आफ्नो सिर्जना नै गर्न दिनुहुन्छ र कल्पना गर्दा पनि सल्लाह नै गरेर गर्ने गरिन्छ।

तर, फिल्म भनेको निर्माता निर्देशक तथा पटकथाकारको कल्पना हो र त्यो कल्पनालाई साकार गरिदिने काम भनेको सम्पादक या एनिमेटरको हो। तसर्थ, अधिकांश बेलामा निर्माता निर्देशकको कल्पनालाई नै मूख्य आधार मानेर आफ्नो सिर्जना पनि जोडेर एनिमेसन गरिन्छ।

नेपालमा पूर्णतया एनिमेसनमा आधारित फिल्म बन्न सक्ला? आफैँले त्यस्तो फिल्म बनाउने सोच पनि बनाउनुभएको छ कि ?

नेपालमा पूर्णतया एनिमेसनमा आधारित फिल्म बन्न नसक्ने कुरै छैन। एनिमेसनको लागि सुहाउने राम्रो कथा, एनिमेसनलाई ध्यानमा राखेर बनेको पटकथा र राम्रो बजेटको खाँचो मात्र हो। यति हुन सके नेपालमा पनि एनिमेसनमा आधारित फिल्म बन्न सक्छ। मैले यस विषयमा धेरै सोचेको पनि हो र भारतमा भएका मेरा एनिमेटर साथीहरुसँग पटक–पटक चर्चा पनि नभएको हैन।

तर, यसका लागि निर्माताहरु पनि तयार हुनुपर्छ। निर्माताहरुले अर्को कुरा के बुझ्नुपर्छ भने युनिभर्सल विषय लिएर एनिमेसन फिल्म बनाउन सकियो भने संसारको जुन देशमा पनि चल्न सक्छ र सबै संसारको बजार नै लिन सक्छ। यो एनिमेटेड फिल्मको एकदम बलियो पक्ष हो। मलाई एउटा एनिमेटेड फिल्म बनाउने रहर छ, जुन सबै देशमा चलोस् र नेपाल तथा नेपालीलाई संसारभर चिनाओस्। सही कथा, सही निर्माता र सही समयको पर्खाइमा छु ।

एनिमेसनको काम गर्दा तपाईंको छनोट फिल्म हुन्छ या विज्ञापन र अन्य प्रोजेक्ट ?

एनिमेसनमा अहिलेसम्म धेरै विज्ञापन, टिभीमा ब्रोडकास्ट ग्राफिक्स, बालबालिका लागि केही एनिमेटेड बालगीत तथा केही भीएफएक्स गरिएको छ। मलाई हिजोआज फिल्मभन्दा बढी एनिमेटेड बालगीत तथा क्यारेक्टर एनिमेसन गर्न इच्छा लाग्छ।

एनिमेसनको काममा कमाइ कत्तिको हुन्छ? तपाईंले कत्तिको कमाउनुभयो ?

शुरु शुरुमा एनिमेसनमा विज्ञापन र टिभीका लागि ब्रोडकास्ट ग्राफिक्स बढी गरिन्थ्यो र आम्दानी ठीकै थियो। अहिलेचाहिँ कमाइ खासै छैन भने पनि फरक पर्दैन। मसँग त्यति ठूलो टिम पनि छैन र त्यति धेरै लगानी पनि गरेको छैन। यसले गर्दा कमाइ पनि छैन र गुमाएको पनि धेरै छैन।

आर्थिक दृष्टिकोणले नेपाली प्रोजेक्टको एनिमेसन गर्नु फाइदा कि विदेशी प्रोजेक्ट ?

एनिमेसनका सबै विधामा नेपाली प्रोजेक्ट गर्नुभन्दा काम लिन सकियो भने त विदेशी प्रोजेक्टमा फाइदा हुन्छ। नेपाली प्रोजेक्टमा बजेट कम तर क्वालिटी अन्तर्राष्टिझय खोज्ने बानी छ।

बजेट राम्रो भए त नेपाली प्रोजेक्टमा काम गर्न मजा आउँछ। विदेशी प्रोजेक्ट च्यालेन्जिङ पनि हुन्छ। एकपटक राम्रो क्वालिटीको काम र तोकेको समयमा दिन सके काम पाइरहन पनि सजिलो हुन्छ।

गीत र गजल लेख्नुहुन्छ। एनिमेसनमा पनि भ्याइनभ्याई छ तपाईंलाई। समय व्यवस्थापन कसरी गर्नुहुन्छ ?

म एनिमेसनका साथसाथै सफ्टवेयरको काम पनि व्यवस्थापन गरिरहेको हुन्छु। हिजोआज आफैभन्दा पनि टिमले काम गर्ने भएकाले म टिम व्यवस्थापन तथा सुपरभिजन गर्ने काम बढी गर्न थालेको छु।

यही समयबाट अलि अलि समय निकालेर गीत गजल पनि लेख्छु तथा गीतहरु रेकर्ड गर्ने, गजल वाचन तथा रेकर्ड गराउने आदि काम गर्ने गर्छु।

तपाई सफल गीत र गजलकार कि सफल एनिमेटर ?

म बढी सफ्टवेयर र न्यू मिडियामा दखल राख्ने व्यक्ति हुँ। गीत र गजल मेरा सोख हुन्। मलाई गीत गजल र संगीतले शान्ति दिन्छ। सफ्टवेयर तथा एनिमेसन मेरा व्यवसाय हुन् र व्यवसायमा पनि राम्रो काम भएको बेला सन्तुष्टि पाइन्छ। म सफलचाहिँ खासै केहीमा भएको जस्तो लाग्दैन।

नेपालमा हुने फिल्मसम्बन्धी सबैजसो अवार्डमा तपाईंलाई जुरी सदस्यका रूपमा देखिन्छ। जुरी बस्दा आयोजक वा सहभागीबाट अवार्डका लागि कत्तिको दबाब आउने गर्छ ?

म करिब १५ भन्दा बढी भिन्न भिन्न अवार्डमा जुरीको रुपमा बसेको छु। मेरो अनूभवमा आयोजकबाट अवार्डको लागि जुरी सदस्यमाथि दबाब आएको अनूभव छैन। एक–दुई पटक सहभागीले फोन गरेर हेरि दिनुपर्याे भन्ने दबाबको सामना गरेको छु। तर, त्यसलाई म खासै महत्व दिने गर्दिन। दबाब दिने व्यक्तिमाथि मेरो सकारात्मक नजर जाँदैन।

एनिमेसन या यस्तै प्राविधिक क्षेत्रमा आउन चाहनेका लागि के भन्न चाहनुहुन्छ ?

अबको भविष्य भनेको प्रविधि हो। कम विकसित देश नेपालमै हेर्नूभयो पनि गत एक दशकमा प्रविधिमा हामी निकै अघि बढेका छौं। अहिले सबै अनलाइन छ, अझ यो कोभिड-१९ को असरले सबै प्रविधिको सहारामा छौं। पढाइ अनलाइन, तरकारी तथा सामान अर्डर अनलाइन, पैसा तिर्न अनलाइन, बैंकमा खाता खोल्न अनलाइन, सेयर बजार अनलाइन, सरकारी कर तथा तथ्यांक अनलाइन, यसर्थ अहिले नै यो अवस्थामा प्रविधि छ भने भविष्यमा के होला त्यो कल्पना बाहिरको कुरा हो।

यसर्थ प्रविधिमैत्री हुनु र प्रविधि पढ्नु या प्राविधिक क्षेत्रमा आफ्नो व्यापार व्यवसाय या पेसा अपनाउनु नै बुद्धिमानी हुन्छ। कुनै पनि प्राविधिक सीप हातमा छ भने घर बसी बसी काम गरे मनग्ये कमाइ गर्न सकिने भएकोले सबैलाई प्राविधिक ज्ञान लिन या प्राविधिक क्षेत्रमा बिना हिचकिचाहट प्रवेश गर्नुस् भन्न चाहन्छु।

प्रतिक्रिया दिनुहोस्