मन्त्री आलेको पहलमा डोटी अस्पतालमा अक्सिजन प्लान्टका लागि बजेट



विमल विष्ट, काठमाडौं ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट (कारखाना) स्थापना हुने भएको छ । पछिल्लो समय कोरोना सङ्क्रमणका बिरामीलाई अक्सिजन अभावमा समस्या उत्पन्न भएपछि मन्त्रीआलेको पहलमा जिल्ला अस्पतालमा अक्सिजन पाइप लाईन तथा प्लान्ट (कारखाना) स्थापनाका लागि अर्थ मन्त्रालयले रु एक करोड ५० लाख बजेट विनियोजित गरेको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

जिल्लामा अक्सिजन पाइप लाईन र प्लान्ट स्थापना भएपछि यहाँका बिरामीका लागि निकै सहज तथा उपचारमा सहज हुने जिल्ला अस्पताल डोटीका मेडिकल सुपरीटेन्डेन्ट कृष्णराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीज्यूको पहलमा अर्थ मन्त्रालयले अक्सिजन पाइप लाईन र प्लान्ट स्थापनाका लागि बजेट विनियोजन भएको छ, यो निकै खुशीको कुरो हो, अब अक्सिजनका लागि सहज हुने भएको छ ।”

मन्त्री आलेको पहलमा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएपछि जिल्लामा खुशीयाली छाएको जिल्ला अस्पतालका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार अक्सिजन प्लान्ट कम्तिमा पनि एक महिना भित्रमा स्थापना भइसक्ने छ । पछिल्लो समय जिल्लामा अक्सिजन नभएका कारण कोरोना सङ्क्रमणका बिरामीले अकालमै ज्यान गुमाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्