प्रशासनको निषेधाज्ञा उल्लङ्घन गर्दै वडा



न्युज अफ नेपाल, हेटौंडा ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको निषेधाज्ञा नै उलघन हुने गरी थाहा नगरपालिकाको ७ नम्बर वडा कार्यालयले छुट्टै निर्णय गरी पालनाका लागि सर्वसाधारणलाई सूचना गरेको छ । वडाध्यक्ष सनमसिं मुक्तानद्वारा जिल्ला प्रशासन कार्यालयकै निषेधाज्ञा उलंघन हुने गरी सूचना जारी भएको हो । जिल्ला प्रशासनले बैशाख ३० गते जारी गरेको निषेधाज्ञामा अत्यावश्यक पसलहरु (खाद्यान्न, अन्न, दूध, फलफुल, तरकारी, माछामासु) विहान ५ बजेदेखि ८ बजेसम्ममात्र खोल्न पाउने व्यबस्था छ ।

तर, वडा कार्यालयले किराना पसल विहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका साढे ४ बजेदेखि साढे ७ बजेसम्म खोल्न आदेश गरेको छ । ‘व्यबहारिक विषय एकपक्षीय कुरा हो तर, माथिल्लो निकायको आदेश उलंघन गरी सूचना जारी गर्नु हास्यास्पदमात्र नभइ कानुनकै उलंघन भएको हो,’ एक सरकारी अधिकारीले भने ।

वडाले पनि बैशाख ३० गतेकै मितिमा सूचना जारी गरेको देखिन्छ । तर, जिल्ला प्रशासन कार्यालय मकवानपुरले यसअघि पनि सोहीबमोजिम सूचना जिल्लाभर कार्यान्वयनका लागि सूचित गरेको थियो । थाहानगरमा सोमबारसम्म कोरोना संक्रमितको संख्या २ सय २४ पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्