‘महामारी पूर्णतः समाप्त हुन बालबालिकालाई खोप लगाइनु जरुरी’



वासिङ्टन, एजेन्सी

अमेरिकामा अहिले कोभिड–१९ का घटना घट्ने क्रममा छ । सबै स्थानमा मास्क अनिवार्य रूपमा लगाउनुपर्ने जरुरी पनि हटिसकेको छ । तर, महामारी भने अझै समाप्त भइसकेको छैन । स–साना बालबालिकाहरूलाई पनि खोप नलगाइन्जेल महामारी सकिने पनि छैन । यो कुरा हालै दि न्युयोर्क टाइम्सले गरेको सर्वेक्षणमा अमेरिकी महामारीविद्हरूले बताएका हुन् ।

ती विशेषज्ञहरूका अनुसार अमेरिकाका सम्पूर्ण उमेर समूहका कम्तिमा ७० प्रतिशतले खोप लगाइसकेपछि बल्ल वास्तविक रूपमा महामारी नियन्त्रित हुनेछ । अहिले भर्खर किशोर किशोरीहरूलाई खोप दिइन शुरू गरिएको छ । १२ वर्षभन्दा कम उमेका बालबालिकालाई खोप दिने अनुमति प्राप्त नभइसकेको अवस्था रहेको छ । जोहन्स होप्किन्स युनिभर्सिटीका महामारी विभागका अध्यक्ष डेभिड सेलेनटानोले महामारी समाप्तिका लागि बालबाालिकाको विषय प्रमुख भएको बताएका छन् । यसै महिना न्युयोर्क टाइम्सले गरेको सर्वेक्षणमा सहभागी भएका ७ सय २३ जना महामारी विशेषज्ञमध्ये सेलेनटानो पनि एक हुन् ।

यी विशेषज्ञहरूले सम्भवतः आगामी पाँच वर्षमा कोभिड–१९ समस्या भनेको सामान्य फ्लु समान हुने आशा व्यक्त गरेका छन् । तिनीहरूले यसको प्रकोप दर र यसबाट हुने मृतकको संख्या प्रत्येक वर्ष घटाउँदै लान सकिने तथा लकडाउनको आवश्यकता नपर्ने अपेक्षा पनि गरिएको बताएका छन् ।१४ महिनाअघि नगर्न अनुरोध गरिएका कामहरू अहिले अमेरिकीहरूले गर्नसक्ने भइसकेका छन् । राष्ट्रपति बाइडेनको सरकारले बिहीबार पूर्णरूपमा खोप लगाइसकेकाहरूले अधिकांश स्थानमा मास्क लगाइरहनुनपर्ने जनाइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्