गिद्ध संरक्षणमा हातेमालो गरौं



सामान्यतया गिद्धलाई हिंस्रक, फोहोरी र घिनलाग्दो चराको रूपमा हेर्ने गरिन्छ । तर सिनोमा लुछाचुँडी गरिरहेको गिद्धको चर्तिकला, आकाशमा कावा खाँदै उडिरहेका बथान र पर्यावरणीय महत्वलाई हे-यौं भने त्यस्तो कदापि लाग्दैन । सिकारी चरा भए पनि गिद्ध आफैंले सिकार नगरी केवल मरेका जनावरका मासु अर्थात् सिनो मात्र खान्छ । त्यसैले गिद्धहरु कसीमा अहिंसाका पुजारी हुन् ।

सिनो खाई हाम्रो वातावरण प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्ने गिद्धलाई प्रकृतिको कुचिकार भनिन्छ । पर्यावरणीय चक्र सनातन, खाद्यशृङ्खलाको सन्तुलन र गतिशीलताको संवाहक पनि हो । सिनोको कुशलतापूर्वक छोटो समयमै दोहन गर्ने गिद्धको अभावमा सिनोमा झुम्मिने भुस्याहा कुकुर, स्याल, मुसा आदिको संख्यामा बृद्धि हुन्छ ।फलस्वरुप मानिसमा रेलिजन, प्लेग, हैजा, आउँ, झाडापखाला र पशुचौपायाहरूमा एन्थ्रेक्स, ब्रुसेलोसिस र क्षयरोगजस्ता रोगहरूको संक्रमणले महामारीको रूप लिन सक्छ । एक अध्ययनअनुसार एउटा गिद्धले करिब ११ हजार अमेरिकी डलरबराबर सिनो सफाइमा योगदान पु-याउँछ । गिद्ध पर्यावरणीय चक्र र सनातन खाद्यशृङ्ला सन्तुलन र गतिशीलताको संवाहकका साथै पारिस्थितिकीय स्वस्थताको सूचक पनि हो ।धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनि देवताको वाहनको रूपमा पुजिन्छ । रामायणमा रावणले सीतालाई हरण गरी लंका लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ । नेपालमा माथिल्लो हिमाली क्षेत्रमा बस्ने तिब्बतीय मूलका लामा समुदाय मृत आफन्तको शव गिद्धलाई खुनाउँछन् र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पु-याउने दूतका रूपमा पुज्ने गर्छन् । विश्वमा २३ प्रजाति र नेपाललगायत दक्षिण एसियामा ९ प्रजातिका गिद्धहरु पाइन्छन् ।

गिद्ध स्वतन्त्रपूर्वक फराकिलो भू–भागमा उड्ने चरा भएकाले शृहत् भू–दृश्यस्तरमा स्थानीयदेखि अन्तरदेशीय साझेदारीमा गिद्ध संरक्षण अभियान सञ्चालन गर्नु आवश्यक छ । यही पृष्ठभूमिमा नेपालबाटै गिद्ध सुरक्षित क्षेत्रको वैज्ञानिक अवधारणामा आधारित भएर संरक्षणका कार्यक्रम थालनी सन् २००९ बाट शुरु गरिएको हो ।नेपालमा गिद्धको घना बासस्थान भएका चितवन, पश्चिम तराई र मध्यपहाडी जिल्लामा गिद्ध सुरक्षित क्षेत्रको विस्तार, विकास र दिगोपना बनाउन अध्ययन, अनुसन्धान र संरक्षणका कार्यक्रम केन्द्रित गरिएको छ । गिद्ध सुरक्षित क्षेत्र भनेर करिब १०० किलोमिटर अर्धव्यासको वृत्तभित्र पर्ने करिब ३० हजार वर्गकिमि क्षेत्रलाई परिकल्पना गरिएको छ । यद्यपि, यो क्षेत्र अन्य कुनै संरक्षित क्षेत्रजस्तो निश्चित साँधसीमा निर्धारण गरिएको जस्तो भने होइन ।यस क्षेत्रमा डाइक्लोफेनेकलगायत हानिकारक ओषधिको उपस्थिति शून्य हुनु अनिवार्य छ । यसबाहेक निरन्तर शुद्ध आहारको उपलब्धता, प्रकृतिमा प्रजनन गरिरहेका गिद्धहरूको नियमित अनुगमन, गिद्ध संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि तथा सरोकारवाला निकायसँग समन्वय, वकालत आदि क्रियाकलाप सञ्चालित हुनुपर्छ । विश्व संरक्षण समुदायका लागि नमुना मानिएको गिद्ध सुरक्षित क्षेत्रको यस अवधारणा भारत, पाकिस्तान, बंगलादेश र हालका वर्षहरूमा अफ्रिकालगायतका क्षेत्रमा पनि अनुशरण गरिएको छ ।

नेपालमा गिद्ध संरक्षणको क्षेत्रमा हालसम्म गरिएका अभियानको प्रतिफलस्वरूप पछिल्ला वर्षमा गिद्धको ह्रास रोकिएर पुनः बढ्ने दिशामा अघि बढेको अध्ययनहरूले देखाएका छन् । तर विडम्बना, हालका वर्षहरूमा पशु उपचारका लागि बजारमा आएका दुखाइ कम गर्ने औषधि आगामी दिनमा गिद्ध संरक्षणको सफलता टिकाइराख्न चुनौती बन्ने देखिन्छन् ।सन् २०१२ देखि २०१७ सम्म नेपाल, भारत र बङ्लादेशमा डाइक्लोफेनेकलगायत अन्य पशु उपचारमा प्रयोग गरिने पीडानाशक औषधि प्रयोगको अवस्थासम्बन्धमा गरिएको अध्ययन केही समयअघि एक अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलमा प्रकाशित भएको थियो । जसअनुसार नेपालमा गिद्धलाई सुरक्षित ठानिएको मेलोक्सिक्यम प्रयोग करिब ९० प्रतिशत छ भने हानिकारक डाइक्लोफेनेकको प्रयोग पछिल्ला वर्षहरूमा शून्य पाइएको छ ।नेपालको गिद्ध संरक्षणमा यो उपलब्धि कोसेढुंगा हो । यद्यपि, पछिल्ला दिनहरूमा गिद्धका लागि हानिकारक प्रमाणित भइसकेका पशु उपचारमा प्रयोग गरिने एसिक्लोफेनेक, किटोप्रोफेन र निमुस्लाइडजस्ता औषधि प्रयोग नेपालमा बढ्दै गएको छ, जुन चिन्ताको विषय बनेको छ । नेपालमा एसिक्लोफेनेक, किटोप्रोफेन र निमुस्लाइडको उपलब्धता करिब पाँचदेखि सात प्रतिशत देखिएको छ । यी हानिकारक औषधिको पनि पशु उपचार प्रयोगमा रोक लगाउनु आजको प्राथमिक आवश्यकता हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्जयन्तु संरक्षण विभागका महानिर्देशकको संयोजकत्वमा रहेको नेपाल भल्चर रिकभरी कमिटीले एसिक्लोफेनेक र किटोप्रोफेनको पशु उपचारमा प्रतिबन्धका लागि २०७६ वैशाख २५ गते औषधि व्यवस्था विभागसमक्ष ठोस प्रमाणसहित अनुरोध गरिसकेको छ । तर, यससम्बन्धमा औषधि व्यवस्था विभागको कुनै निर्णय आइसकेको छैन । हालै मात्र बंगलादेशले गिद्ध जोगाउन किटोप्रोफेनको पशु उपचार प्रयोगका लागि उत्पादन र बिक्री–वितरणमा प्रतिबन्ध लगाएको छ भने भारतको पनि तामिलनाडुलगायतका राज्यहरूमा बन्देज लगाइएको छ । यसर्थ, हामीले पनि यी हानिकारक औषधिको प्रयोगमा रोक लगाउन ढिला गर्नुहँुदैन । अन्यथा प्रकृतिको अभिन्न अंग गिद्ध सदाका लागि लोप भएर जानेछ ।

नेपालमा प्रकृतिबाट गिद्ध लोप हुनबाट बचाउने उद्देश्यअनुसार चितवन राष्ट्रिय निकुञ्जको कसरामा गिद्ध संरक्षण तथा प्रजनन केन्द्र (कृत्रिम बच्चा कोरल्ने स्थान) को स्थापना गरिएको छ । यस केन्द्रमा प्रजनन केन्द्रमा हुर्काइएका गिद्धहरुलाई सुरक्षित प्राकृतिक वातावरणमा पुनर्वास गराउनु नै यस परियोजनाको प्रमुख उद्देश्य हो । तर यसका लागि वातावरणमा डाइक्लोफेनेक र अन्य हानिकारक औषधिको प्रयोग र सिनोमा यसको अवशेष शून्य हुनु जरुरी छ ।नेपालमा गिद्ध संरक्षण स्थानीय समुदायको प्रत्यक्ष सक्रियता, सहभागिता र अपनत्वमा सञ्चालित र व्यवस्थित छ । जुन कार्य विश्व संरक्षण समुदायका लागि उदाहरणीय र अनुकरणीय बनेको छ । गिद्ध संरक्षणमा क्रियाशील ती स्थानीय समुदाय र संघसंस्थासँग राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, औषधि व्यवस्था विभाग, नेपाल पन्छी संरक्षण संघ, राष्ट्रिय प्रकृति संरक्षण कोषले साझेदारी गरिरहेको छ ।

प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षण सहभागिताबारे जनचेतना जगाउनका निम्ति विश्वभर मनाइन्छ । यही सन्दर्भमा नेपालमा पनि विभिन्न सचेतनामूलक ¥याली, क्याम्पस तथा विद्यालय स्तरीय संरक्षण शिक्षामूलक प्रतियोगिताहरु, गिद्ध तस्वीर तथा चित्रकला प्रदर्शनी, सडक नाटक, अन्तरक्रिया तथा रेडियो कार्यक्रम गरी मनाइँदै छ । गिद्ध संरक्षणमा नेपाल अझै एक कदम अघि बढ्ने हो भने फेरि पनि समुदाय, सम्पूर्ण सरोकारवाला, केन्द्र, प्रदेश र स्थानीय सरकार, संरक्षित क्षेत्र, डिभिजनल वन कार्यालय, पशु विज्ञ केन्द्र र संरक्षणमा आधारित सबै गैरसरकारी संघसंस्थाहरूको सहकार्यको खाँचो छ ।
– कपिल राना, चितवन ।

प्रतिक्रिया दिनुहोस्