मनोबल बढाउन विश्व र बुनुको गीत



कोरोना संक्रमणबाट हुने कोभिड—१९ महामारीका बीच गीत संगीत सिर्जना भने यथावत छ। कोभिडले देश आक्रान्त बनिरहेको बेला यही महामारीलाई लिएर गीत संगीत तयार गर्ने काम पनि भइरहको छ।

यसै क्रममा कोभिड महामारी तथा यसको रोकथामका लागि खटिइरहेका स्वास्थ्यकर्मीमा केन्द्रित तिमी जन जनमा बोलको गीत सार्वजनिक भएको छ। गीत म्युजिक भिडियोसहित हालै स्टुडियो साउन्ड मिलमार्फत सार्वजनिक भएको हो। आप्mनो ज्यान जोखिममा राखेर मानव सेवामा अहोरात्र खटिइरहेका डाक्टर, नर्स, सुरक्षाकर्मी तथा सञ्चारकर्मीमा समर्पित गीतमा गायकगायिका विश्व नेपाली र बुनू श्रेष्ठको स्वर रहेको छ। गीतमा नरेश के प्रधानको शब्द तथा सन्तोष श्रेष्ठको संगीत रहेको छ।

विशेष गरी स्वास्थ्यकर्मीलगायत पहिलो पंक्तिमा खटिएकाको मनोबल बढाउन तयार पारिएको गीतको म्युजिक भिडियोमा बिरामीको उपचारमा खटिएका डाक्टर तथा नर्स, सुरक्षामा खटिएका सुरक्षाकर्मी, कार्य र घटनास्थलमा खटिएका सञ्चारकर्मी एवं समस्यामा परेका मानिसलाई सहयोग गरिरहेका समाजसेवीको विभिन्न भिडियो क्लिप समावेश गरिएको छ। म्युजिक भिडियोमा गायक—गायिका विश्व नेपाली र बुनू श्रेष्ठ तथा संगीतकार सन्तोष श्रेष्ठलाई पनि देख्न सकिन्छ। गीतको म्युजिक भिडियोलाई वीरेन्द्र भट्ट विपिनले सम्पादन गरेका हुन्।

गीतले भन्छ
समयले हेर रूप फेरेको बेला
तिम्रो कर्म हामीलाई अभयदान भो
यो निष्ठुर अनि क्रुरताको बेला
तिम्रो सेवा हामीलाई वरदान भो
तिमी जन जनमा छौ
तिमी मन मनमा छौ
त्यसैले तिमी आज भरोसा भएछौ
त्यसैले तिमी आज आशा भएछौ।
गीतमा अगाडि भनिएको छ
न सक्छ तोपले मर्न
न सक्छ बारुदले जल्न
न सक्छ युद्धले गल्न
न सक्छ वीरताले तोड्न
त्यसैले तिमी आज भरोसा भएछौ
त्यसैले तिमी आज आशा भएछौ।

प्रतिक्रिया दिनुहोस्