भोटो र नरिवल खसाउने जात्रा नहुने

१४ सय वर्ष पुरानो संस्कृति तोडिँदै



सुनील महर्जन, ललितपुर

बुंगद्यो अर्थात् रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट डेढ सय मिटर परसम्म तानेर रथयात्रा सम्पन्न गरिएपछि प्रसिद्ध भोटो जात्रा नहुने भएको छ । गुठी संस्थान ललितपुरका प्रमुख खिमा वलीका अनुसार रथ बनाउने बाराहीहरूले कूल पूजा गरिसकेपछि भोटो नदेखाई यही जेठ ५ गते देवतालाई बुंङमती लगिने छ । भोटो जात्रा नहुने भएसँगै थुप्रै धार्मिक विधि र परम्पराहरू पनि तोडिएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण सांकेतिक रुपमा रथ तान्ने निर्णयसंगै भोटो जात्रा नहुने अवस्था बनेको हो । गत वर्षलाई आधार मानेर शनिबार पुल्चोकदेखि मण्ड फल्चा (सो-हखुट्टे पाटी) करिब डेढ सय मिटरसम्म रथ तानिएको थियो । कोरोना महामारीका कारण दुई वर्षयता सांकेतिक रुपमा रथ तानेर रातो मच्छिन्द्रनाथको रथयात्रा समापन गर्दै आएको छ ।रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पु¥याएको चार दिनपछि राष्ट्राध्यक्ष, कार्यकारी प्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको हिरा, मोती, मणी, माणिक्य जडित भोटो देखाउने गरिन्छ । रथ पुल्चोकबाट तानेर गाबहाल, सुन्धारा, लगनखेल,इटीटोल हुँदै जावालाखेल पु-याउन अघिपछि कम्तीमा अढाईदेखि बढीमा पाँच महिना लगाउने गरेको छ । यसले गर्दा सो रथयात्रालाई उपत्यकाको लामो रथयात्राको रुपमा लिइन्छ ।संस्कृतिमा ऐतिहासिक निरन्तरताको प्रश्न निकै महत्वपूर्ण हुने गर्दछ ।

गत वर्षलाई नजिर मानेर यस वर्ष पनि सांकेतिक रुपमा रथ तानियो ।यसले गर्दा भविष्यमा त्यस्तो केही अवस्था आएमा फेरी सांकेतिक रुपमा रथ तान्न मिल्ने रहेछ है भन्ने मान्यता जनमानसमा क्रमशः स्थापित हुँदै जाने खतरा रहेको भन्दै बुङमतीका प्रसिद्ध गुरुजु विश्व बज्राचार्यले चिन्ता व्यक्त गर्नुभएको छ । उहाँ भन्नुहुन्छ–‘पहिला त सांकेतिक रुपमा तानियो, अहिले किन नमिल्ने भन्ने प्रश्न कसैले उठायो भने रथयात्राको परम्पराको निरन्तरतामा बाधा नआउला भनेर कसरी भन्ने ?’रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा १४ सय वर्षदेखि निरन्तर रुपमा चल्दै आएको छ । ९० सालको भूकम्प, राजा रणबहादुर शाहको पालमा बिफर महामारी हुँदा, राजामहाराजाहरू स्वर्गारोहण हुँदा पनि रथयात्रा निरन्तर रुपमा चल्दै आएको इतिहास रहेको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सांकेतिक रुपमा तानिएपछि भोटो जात्रा मात्र नभई यससंग जोडिएका थुप्रै जात्रा, धार्मिक विधि विधान अनुसार गरिने पूजाहरू खण्डित हुँदै गएको रातो मच्छिन्द्रनाथका पानेजु र ज्योतिषीहरू बताउँछन् । रथ गाबहालमा पुगेपछि परम्पराअनुसार वैष्णवी देवीको पूजा, बन्धुदत्त आचार्यका सन्ततीहरूले गर्नुपर्ने गुरुपूजा र बसुन्धरादेवीको पूजा गर्ने परम्परा रहेको ज्योतिषी कृतिमदन जोशीले बताउनुभयो ।

त्यसैगरी मंगलबजारमा मल्लराजाहरूले रातो मच्छिन्द्रनाथको (सयौं वर्ष पहिले मंगलबजार चोकमा हखुखोला रहेको र त्यहाँ रातो मच्छिन्द्रनाथको धोती फेर्नुपर्ने परम्पराअनुसार) धोती फेर्ने र दरबार पूजा गर्ने परम्परा रहेको छ । सांकेतिक रुपमा रथ तान्ने निर्णयसँग सो परम्परा पनि कटौती गरिएको छ । त्यस्तै रथ सुन्धारामा पुगेपछि बाराहीहरूले पूजा र होम गर्ने परम्परा रहेको छ । रथ लगनखेल पुगेको दिन बुधबार वा एकादशी नपरेमा सोही राति महाबली पूजा गर्ने परम्परा पनि रहेको छ । ललितपुर चल्खु निवासी विश्वन्तर शाक्यको पनि ऐतिहासिक परम्पराको निरन्तरतामा क्रमभंग गरिएकोमा चित्त बुझेको छैन । रथ तान्ने पहिलो दिन टंगलबाट मीमनाथको रथ तानेर पुल्चोकस्थित महानगरपालिकासम्म तान्नुपर्ने परम्परा पहिलो पटक खण्डित भयो । गत वर्ष लकडाउनको बेला समेत त्यस्तो भएको स्मरण गर्दै उहाँले भन्नुभयो–‘एकपछि अर्को गर्दै संस्कृति र परम्पराहरू खण्डित हुँदै गएपछि रातो मच्छिन्द्रनाथको रथयात्रा नै संकटमा पर्दै जाने त होइन भन्ने आशंका र प्रश्नहरु जन्मिएको छ । बरु रथ नै नबनाएको भए के बिग्रिन्थ्यो र ?’

यस वर्ष रथ बनाउन करिब करिब ५५ लाख खर्च भएको गुठी संस्थानले जनाएको छ । त्यत्रो रकम खर्च गरेर रथ बनाउने बेलामा पनि कोरोना संक्रमितको संख्या र मृत्यूदर बढीरहेको थियो । तैपनि १५ दिन हेरौ भनेर रथ बनाइयो । भदौं सम्मको समय बाँकी नै रहेकोले त्यसपछि कोरोनाको अवस्था हेरेर निर्णय गर्नुपर्ने रथयात्राको सम्बन्धमा सरोकार राख्दै आउनुभएका ललितपुरका पृथबिन्दु महर्जन बताउनुहुन्छ । उहाँ प्रश्न गर्नुहुन्छ–‘बजेट खर्च गर्ने बेला पर्खिन मिल्ने र अहिले केही समय स्थगित गर्न नमिल्ने किन ?’ विकल्पहरूमा जानुको साटो सांकेतिक रुपमा रथयात्रा गर्ने अन्तिम विकल्प रोजेर उपत्यकाको लामो रथयात्रा भन्ने परम्परा र पहिचानलाई समाप्त पार्न खोजिएको त होइन भन्ने आशंका पनि व्यक्त गर्नुभयो ।

बैशाख २९ गते जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा पनि रथ बनाउने यँग्वाल, बाराही र घकू राख्नेहरु पहिलो दिन रथ सांकेतिक रुपमा तान्ने र त्यसपछि केही समय रथयात्रा स्थगन गर्ने विकल्पमा जान सकिने सुझाव नदिएको भने होइन । ‘यो विकल्प त एकहिसाबले राम्रै हो । तर यो विकल्पमा जाँदा विगतमा झै स्थानीयले स्वतःस्र्फूत रथ तान्ने परिस्थिति वा झडपको अवस्था आउने हो कि भन्ने चिन्ता सबैले व्यक्त गरे । गत वर्ष झै झडपको अवस्था आउने छैनन् भनेर फेरी कसले जिम्मा लिने ? जिम्मा लिने कोही भएन ।’ ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भन्नुभयो ।

रथयात्रा तत्काल स्थगित गरी महिनादिनपछि कोरोना संक्रमणका स्थिति हेरेर रथयात्रा गर्ने विषयमा पुनःविचार गर्ने विकल्प किन रोज्नुभएन भन्ने प्रश्नमा ज्यापू समाज यलका अध्यक्ष चन्द्र महर्जनले भन्नुभयो–‘महिना दिनसम्म रथ पुल्चोकमै राखिएमा घाम पानीले रथ बिग्रिन सक्दछ । यसले गर्दा सो विकल्प छनौट नगरिएको हो । फेरी ज्यापू समाजले मात्र रथकोे जिम्मेवारी लिन सकिन्न ।हाम्रो काम भनेको रथ तान्ने बेला सहायक र व्यवस्थापकीय भूमिकामा सघाउने मात्र हो ।’

प्रतिक्रिया दिनुहोस्