पर्साको एक गाउँमा दुई साताभित्र १६ जनाको मृत्यु



कृष्णउदास खनाल,वीरगन्ज ।

पर्साको जगरनाथपर गाँउपालिकामा पछिल्लो २ सातामा १६ जनाको मृत्यु भइसकेको छ । ती मध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य ३ जना मृतकको कोरोना परिक्षण नगरिए पनि कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको थियो । मृतक १६ मध्ये ७ जना चिलझप्टी गाँउकै बासिन्दा हुन् ।

चिल1झप्टी गाँउका घरघरमा संक्रमण फैलिसकेको पुष्टि भइसकेको भएपनि संक्रमण नियन्त्रणका लागि अहिलेसम्म कुनै पहल नभएको गाँउपालिकाकै स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहले स्वीकार्नुभयो । गाँउपालिकाको अनुरोधमा वीरगन्जबाट बैशाख २८ गते चिलझपटी गाँउमा पुगेको स्वासथ्यकर्मीको टोलीले ११ जनाको एन्टिजेन परिक्षण गर्दा ७ जनामा संक्रमण भेटिएको थियो । त्यहि दिन टोलीले २५ जनाको स्वाब संकलन गरि नारायणी अस्पतालमा ल्याएर पीसीआर परिक्षण गर्दा २५ मध्ये १५ जनामा संक्रमण पुष्टि भएको थियो । साहका अनुसार चिलझपटी गाँउमा संक्रमण पुष्टि भएका २२ जना संक्रमितहरूको अहिलेसम्म कन्ट्याक्ट ट्रेसीङ समेत हुन सकेको छैन । चिलझप्टी गाँउका घरघरमा संक्रमण फैलिसकेको भएपनि परीक्षण सामग्रीको अभावमा थप परीक्षण हुन नसकेको साहले बताउनुभयो ।

चैत २८ गते स्वास्थ्यकर्मीको टोलीले चिलझपटी गाउँको घरघरमा पुगेर तापक्रम जाँच्दा , ज्वरो र रुघाखोकीका १सय ७६ जना बिरामी फेला पारेको थियो । गाँउभरि नै संक्रमण फैलिएको पुष्टि भइसकेकाले तत्काल परिक्षण कार्य शुरु नगरिए गाँउको अवस्था झन् भयावह बन्ने साहको भनाइ छ । चिलझप्टीमा अहिलेसम्म संक्रमण पु्ष्टि भएका २२ जना संक्रमितहरू घरमै आइशोलेसनमा बसिरहेको छन् । जगरनाथपुर गाँउपालिकाले संक्रमितको उपचारका लागि ३० किलोमिटर दुरीमा रहेको वीरगन्जस्थित होटल साह दरबारमा २५ शैयाको आइशोलेसन सेन्टर बनाएको छ । तर त्यहाँ कोही नगएको कारण उक्त आइशोलेसन सेन्टर खाली छ । गाँउका संक्रमितहरू वीरगन्जको होटलमा बनाइएको आइशोलेसन सेन्टरमा जानै नमानेको साहले बताउनुभयो ।

जगरनाथपुर गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सन्दिप पटेलले पनि किटको अभावले चिलझप्टी गाँउमा कोरोना संक्रमणको थप परिक्षण हुन नसकेको स्वीकार्नुभयो । तर स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले भने स्वास्थ्य कार्यालयले जगरनाथपुरका गाँउपालिका स्वास्थ्य शाखाका कर्मचारीलाई नारायणी अस्पतालमा आएर २५ वटा भिटिएम किट लिएर जान भनेकोमा कोहि पनि सम्पर्क गर्न नआएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्