कोरोना अस्पतालमा जाँदैनन् संक्रमित



सञ्जय कार्की

रौतहटमा पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमितका २ जना बिरामीको मृत्यु भएको छ । यससँगै रौतहटमा मर्नेको संख्या ५३ पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयको पहलमा स्थानीय तहले अक्सिजन सहितको अस्थायी कोरोना अस्पतालको निर्माण गरेपनि अधिकांश बिरामीहरू घरमै बसेका छन् । पछिल्लो समयमा ज्वरो, टाईफाईड र स्वास फेर्न असहज भएका बिरामीहरू उपचारको लागि सरकारी र नीजि अस्पतालमा जाँदा एन्टिजेन वा पिसीआर परिक्षण गरेर मात्रै भर्ना लिन थालेपछि अधिकाँश बिरामी होम आईसोलेसनमा बस्दै आएका छन् ।

गम्भिर अवस्थाका बिरामीहरू भने उपचारको लागि बाहिरी जिल्ला बीरगञ्ज र चितवनको भरतपुरका अस्पतालमा जाने गरेका छन् । यसले गर्दा कोरोना अस्थायी अस्पतालमा बिरामीको चाप ज्यादै न्युन रहेको छ भने होम आइसोलेसनमा बसेकाहरूमाथि निगरानी नगर्नाले कोरोना संक्रमण नियन्त्रणमा आउन कठिनाई भइरहेको छ । रौतहटमा कोरोना संक्रमितको संख्या अझै ६ सय ७० छ भने तीमध्ये ६ सय ४२ जना त होम आईसोलेसनमै बसेका छन् ।रौतहटका कोरोना संक्रमणबाट ७ सय ८७ जना बिरामी परेकोमा ८६ जनालाई निको भैसकेको बताइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएअनुसार गौर अस्पतालमा १९, चन्द्रपुर–३ स्थित शहिद पार्कको अस्पतालमा २, चण्डिया हेल्पोष्टमा २ र परोहा अस्पतालमा १ जना कोरोना संक्रमित उपचारका लागि भर्ना भएका छन् ।

पछिल्लो समयमा रौतहटमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय तहले सोहीअनुसार कोरोना अस्थायी अस्पताल निर्माण गरेको जनाएको छ । जसमध्ये चन्द्रपुर नगरपालिकासहित गुजरा, बृन्दाबन र गडिमाई नगरपालिकाले चन्द्रपुर–२ मा रहेको शहिद पार्कमा सुबिधासम्पन्न ४६ बेडको कोरोना अस्थायी अस्पताल र गौर अस्पतालले ३२ बेड कोरोना वार्ड र १५ बेडको हाई डिपेडिन्सी र १० बेडको आईसोलेसन, गौर नगरपालिकाले गौर नर्सिङ्ग क्याम्पसमा १० बेडको र अन्य १३ स्थानीय तहले आ–आफनो पायक पर्ने स्थानमा ५ देखि १० बेडको अस्थायी कोरोना अस्पताल बनाएका छन् ।

उता जिल्ला प्रशासन कार्यालय रौतहटले कोरोनाको संक्रमण फैलन नदिन दोस्रो पटक निषेधाज्ञा जारी गरेर आवागमनमा कमी ल्याएको छ । जेष्ठ ७ गतेसम्म जारी निषेधाज्ञामा सार्वजनिक यातायात र नीजि सवारीसाधनलाई पूर्ण रुपमा रोक लगाइएको छ भने फुटपाथ, खुल्ला ठाउँ तथा ठेलागाडा वा साईकल ब्यापार व्यवसाय एबं कबाडी संकलनका साथै हाट बजारलाई संचालनमा पनि पूर्ण रोक लगाइएको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको बीचमा भारतबाट घर फर्कनेको संख्या १ हजार ८ सय ९२ जना रहेका छन । भारतबाट फर्कनेको लागि सीमा क्षेत्रमा हेल्पडेस्क राखेर जाँच गरिदै आएको छ । गौर नगरपालिकाका प्रमुख अजय गुप्ताले घर फर्कनेको लागि डेल्प डेस्कबाट जाँच गरेर मात्रै जान दिइएको बताउनुभयो । उहाँले नगरबासीलाई सुरक्षित राख्न मास्क टे«सिङ्ग शुरु गरिएको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्