महामारीमा एक्लै ‘शिर मेमोरियल अस्पताल’, थेग्नै नसक्ने बिरामी



मोतीराम तिमल्सिना, काभ्रे ।

कुनै बेला काभ्रेपलाञ्चोक लगायत आसपासका जिल्लाहरुको एक मात्र अस्पताल थियो बनेपाको घोकेचौरमा रहेको शिर मेमोरियल अस्पताल । धेरै ब्यक्तिहरुको उपचार गरी पुर्नजिवन दिएको अस्पताल महामारीको संकटमा विरामी बचाउन एक्लै संघर्षरत छ ।

‘सोमबार दिउसो १ बजेसम्म कोभिड संक्रमित २९ विरामी उपचारार्थ छन् । १६ जना प्रि कोभिड वार्डमा छन् । फिबर क्लिनिक र कोभिड ईमरजेन्सीमा दैनिक २५ देखि ३० जना विरामी आउने गरेका छन् । सबै विरामीहरुलाई उपचार सेवा प्रदान गर्ने प्रयास गरिरहेका छौं’–अस्पतालका डाईरेक्टर अफ मेडिकल सर्भिस तथा कोभिड फोकल पर्सन डा.अरुण गुप्ताले भन्नुभयो–‘अस्पतालमा थोरै मात्रै सहयोग हुँदा रिफरल केश रोक्न सकिन्थ्यो ।’ शिर मेमोरियलले अन्यत्र रिफर गरेका विरामीहरु लैजाने अस्पताल समेत छैनन । जिल्लामा भएको धुलिखेल अस्पतालमा विरामी राख्ने बेड छैन । राजधानीका सबै अस्पताल भरिएका छन् । यस्तो अवस्थामा शिर मेमोरियलमा भएको जनशक्ति र पूर्वाधार विस्तार हुन नसक्दा कोभिड संक्रमित विरामीहरु उपचार अभावकै कारण मृत्युको मुखमा पुग्न बाध्य भएका छन् ।

‘हामीले स्थानीय सरकारसँग अस्पतालमा तत्काल १० बेडको एचडियु वार्ड स्थापना गर्न सहकार्यको प्रस्ताव राख्यौं’–अस्पतालका मेडिकल डाईरेक्टर डा. एन्जिला बस्नेतले भन्नुभयो–‘जनशक्ति र पूर्वाधार हुँदा पनि सरकारका कुनै निकायको सहयोग हुन नसक्दा भएको सेवालाई बढाउन सकिएन । एचडियु बेडका लागि सहयोग भएमा थप विरामी जोखिम हुनबाट बचाउन सक्नेछौं ।’ साविक जनशक्ति र पूर्वाधारमा शिर मेमोरियल अस्पतालले दिएको सेवा गुणस्तरीय रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा.नरेन्द्रकुमार झाले बताउनु भयो ।

अघिल्लो वर्षको कोभिड महामारीको नियन्त्रणमा पनि शिर मेमोरियल अस्पतालले प्रभावकारी भूमिका खेलेको थियो । भुकम्पको समयमा पनि अस्पतालले जिल्ला तथा आसपासका विरामीहरुको उपचारमा प्रभावकारी सेवा प्रदान गरेको थियो । अस्पतालमा भएका विरामीहरुका लागि दैनिक ५० सिलिण्डर अक्सिजन आवश्यक छ । केहि सिलिण्डर मार्फत, केहि आफ्नै प्लान्ट र केहि अक्सिजन कन्सन्ट्रेटर मार्फत विरामीका लागि अक्सिजन उपलब्ध गराइएको छ । सरकारले कोटा प्रणाली निर्धारण गरेको छ अक्सिजन प्राप्त गर्ने कोटामा शिर मेमोरियल पर्दैन ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बस्ने संकट ब्यवस्थापन केन्द्रले शिर मेमोरियललाई संकट टार्न अक्सिजन उपलब्ध गराउँदै आएको छ । ‘रातभर लाईनमा बसेर कर्मचारीहरुले ५ सिलिण्डर अक्सिजन प्राप्त हुन्छ’–मेडिकल डाईरेक्टर डा.एन्जिला बस्नेतले भन्नुभयो–‘समस्या नै समस्याका बीच विरामीहरुको सेवामा सक्रिय हुनु दायित्व सम्झिएका छौं ।’

दोश्रो लहरको संक्रमणमा अस्पतालका ३० भन्दा धेरै स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित भएका छन् । कर्मचारी र स्वास्थ्यकर्मीका लागि अस्पतालले प्राईभेट कक्ष, आईसोलेसनको ब्यवस्थापन गरेको छ । ‘महामारीमा ब्यक्तिगत सुविधा भन्दा पनि विरामीको सेवामा निरन्तर खटिने कर्मचारीहरुहरु प्रति अस्पताल परिवार आभार ब्यक्त गर्दछ’–डा अरुण गुप्ताले भन्नुभयो–‘विषम परिस्थितीमा सरकारका हरेक निकाय तथा अन्य संघ संस्थाको अपेक्षा हुने रहेछ । नपाउँदा पनि गुणस्तरीय सेवामा कमी हुन दिएका छैनौं ।’ हालसम्म ४० जना निको भएर घर फर्किसकेका छन् भने ५ जनाको उपचारको क्रममा निधन भएको छ ।

बनेपा नगरपालिकाले आईतबार देखि कोभिड डेडिकेटेड अस्पताल संचालनमा ल्याए पनि अक्सिजन अभावका कारण भर्ना भएका विरामी पनि सोमबार शिर मेमोरियल अस्पतालमा रिफर भएका छन् । सरकारले आईतबार मात्रै धुलिखेल सामुदायिक अस्पताललाई सहयोग गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्