पर्साको एक गाउँमा दुई साताभित्रै १६ संक्रमितको मृत्यु



कृष्णउदास खनाल, वीरगन्ज ।

गाँउभरि नै कोरोना संक्रमण फैलिएको पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ चिलझप्टीमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हालसम्म कुनै पहल नभएको भन्दै स्थानीयहरुले चिन्ता जनाएका छन् ।

पर्साको जगरनाथपर गाँउपालिकामा पछिल्लो २ सातामा १६ जनाको मृत्यु भइसकेको छ । ती मध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य ३ जना मृतकको कोरोना परिक्षण नगरिएपनि कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको थियो । मृतक १६ मध्ये ७ जना चिलझप्टी गाँउकै बासिन्दा हुन् । चिलझप्टी गाँउका घरघरमा संक्रमण फैलि सकेको पुष्टि भइसकेको भएपनि संक्रमण नियन्त्रणका लागि अहिले सम्म कुनै पहल नभएको गाँउपालिकाकै स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहले स्वीकार्नु भयो ।

गाँउपालिकाको अनुरोधमा वीरगन्जबाट बैशाख २८ गते चिलझपटी गाँउमा पुगेको स्वासथ्यकर्मीको टोलीले ११ जनाको एन्टिजेन परिक्षण गर्दा ७ जनामा संक्रमण भेटिएको थियो । त्यहि दिन टोलीले २५ जनाको स्वाब संकलन गरि नारायणी अस्पतालमा ल्याएर पीसीआर परिक्षण गर्दा २५ मध्ये १५ जनामा संक्रमण पुष्टि भएको थियो । साहका अनुसार , चिलझपटी गाँउमा संक्रमण पुष्टि भएका २२ जना संक्रमितहरुको अहिले सम्म कन्ट्याक्ट ट्रेसीङ समेत हुन सकेको छैन । चिलझप्टी गाँउका घरघरमा संक्रमण फैलिसकेको भएपनि भिटिएम किट नहुदा थपको परिक्षण हुन नसकेको साहले बताउनुभयो ।

चैत २८ गते स्वास्थ्यकर्मीको टोलीले चिलझपटी गाउको घर घरमा पुगेर तापक्रम जाँच्दा , ज्वरो र रुघाखोकीका १७६ जना बिरामी फेला पारेको थियो । गाँउभरि नै संक्रमण फैलिएको पुष्टि भइसकेकाले तत्काल परिक्षण कार्य शुरु नगरिए गाँउको अवस्था झन भयावह बन्ने साहको भनाइ छ ।चिलझप्टीमा अहिले सम्म संक्रमण पु्ष्टि भएका २२ जना संक्रमितहरु घरकै आइशोलेसनमा रहेको साहले जानकारी दिनुभयो । जगरनाथपुर गाँउपालिकाले आफना पालिकाको संक्रमितको उपचारका लागि ३० किलोमिटर दुरीमा रहेको वीरगन्ज शहर स्थित होटल साह दरबारमा २५ शैयाको आइशोलेसन सेन्टर बनाएको छ । तर उक्त आइशोलेसन सेन्टर खाली छ ।

गाँउका संक्रमितहरु वीरगन्जको होटलमा बनाइएको आइशोलेसन सेन्टरमा जानै नमानेको साहले बताउनुभयो ।जगरनाथपुर गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सन्दिप पटेलले पनि किटको अभावले चिलझप्टी गाँउमा कोरोना संक्रमणको थप परिक्षण हुन नसकेको स्वीकार्नुभयो ।स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले भने स्वास्थ्य कार्यालयले जगरनाथपुरका गाँउपालिका स्वास्थ्य शाखाका कर्मचारीलाइ नारायणी अस्पतालमा आएर २५ वटा भिटिएम किट लिएर जान भनेकोमा कोहि पनि सम्पर्क गर्न नआएको बताउनुभयो ।पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले चिलझप्टीमा देखिएको समस्या समाधानका लागि आफूले स्पष्ट निर्देशन दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्