फिल्मदेखि खेलसम्म



चेतन कार्की

बहुआयामिक व्यक्तित्वका धनी फिल्म लेखक, निर्देशक, गीतकार, साहित्यकार तथा खेलाडी चेतन कार्कीले जति कम फिल्म निर्देशन गरे, उनका कारण नेपाली फिल्म क्षेत्रका विभिन्न विधामा करिअर बनाउनेहरू उती नै धेरै छन्।माता चन्द्रमाया कार्की र पिता जुद्ववीर कार्कीका माहिला पुत्रका रूपमा १९९५ साल कार्तिक २२ गते बहांटारी, थुम आरुखर्क, स्याङ्जामा जन्मिएका उनको बाल्यकाल देहरादूनमा बिते।

 

बुवा इन्डियन आर्मी भएकाले उनी देहरादूनमै हुर्किए। त्यसकारण उनले १८ वर्षको उमेरमा डिएभी कलेज देहरादूनबाट जीव विज्ञानमा देहरादूनमै बिएससी पास गरे भने डिएभीबाटै हिन्दी साहित्यमा एमए पनि गरे। उनको प्रारम्भिक शिक्षा गोर्खा मिलिटरी स्कुलमा भएको थियो। कार्कीले नेपाल आएर एफडीए फिसरिज डेभलपमेन्ट एन्ड एड्मिनिस्ट्रेसन डिप्लोमा पनि गरेका थिए। स्कुल र कलेज जीवनमा खेलकूदमा भाग लिई च्याम्पियनसिप विजेता बन्न सफल कार्कीले भारतका विभिन्न शहरमा आफ्नो खेल प्रदर्शनबाट तारिफ बटुल्दै चार वर्षसम्म लगातार क्याप्टेन बन्ने अवसर प्राप्त गरेका थिए। उनले नेपालमा ठमेल र संकटाबीच फुटबल हुँदा ठमेलको तर्फबाट खेलेका थिए। प्रहरीको फुटबल म्याच पनि खेलेका थिए। सानैमा गुरुको बोली र पाठ याद गर्न सक्ने मेधावी छात्रका रूपमा परिचित उनी स्कुल र कलेजमा सधैं प्रथम हुन्थे। केही वर्ष समर्पण वर्ष संस्कृत शिक्षाको प्रारम्भिक ज्ञान हासिल गरे पनि उनले पूर्वीय ज्ञान र दर्शनको गहिरो अध्ययन पनि गरे।

४ वर्षको कलिलै उमेरमा पिताजीसँग लाहुर जाँदा, राम्दीको कुराउनी (लाहुर पुराउनी गीत) गुनगुनाएर काव्य चेतना भएको प्रमाण दिएका उनले नेपाली सुगम संगीतको क्षेत्रमा गीतकारका रूपमा अमिट छाप बनाएका छन्। उनको पहिलो गीत रचना बोलाउ भने लेख स्वर पुग्दैन, बोलाइ रन हुँदैनमा संगीत महर्षी नातिकाजीले संगीत भरेर गीतकारका रूपमा कार्कीको खाता खोलिदिएका थिए। उनीद्वारा रचित नारायण गोपालको स्वर पाएको बुझ्नै सकिनौ आँखाको भाखा, बैनीको दया छ भने, रोदी घर दाइ नाच्यो नभन अजर गीत बन्न पुगेको छ भने कान्छी हे कान्छी, मान्छे पुग्यो जूनमा, मायाप्रतिको चोखो कथाजस्ता उनका थुप्रै गीत कालजयी साबित भएका छन्।

मत्स्य तालिम केन्द्र पोखरामा मत्स्य अधिकृतका रूपमा जागिर खाइरहेका बेला नेपाली कलाकारलाई लिएर नेपालमै निर्माण गरिएको पहिलो नेपाली फिल्मका निर्देशक हीरासिंह खत्रीले बोलाएपछि तत्कालीन शाही नेपाल चलचित्र संस्थानमा सरुवा भएका कार्कीको संस्थानको जागिरसँगै फिल्मी करियर शुरू भएको थियो। संस्थानमा फिल्म निर्माण अधिकृतका रूपमा जागिर शुरू गरेका कार्कीले निर्माण नियन्त्रक, गीतकार, लेखक, सह निर्देशक हुँदै निर्देशनतर्फको करियर शुरू गरेका थिए। उनले आफ्नो जीवन कालमा थोरै मात्र फिल्म निर्देशन गरे तर निर्देशनलगायका विधामा धेरैलाई उपयोगी ज्ञान प्रदान गरे। उनले हिरासिंह खत्रीको निर्देशनमा २०२८ सालमा बनेको परिवर्तन नामक फिल्मबाट आफ्नो करियर शुरू गरेका थिए। परिवर्तनका लागि कार्कीले गीत र पटकथा लेखेका थिए भने त्यसका निर्देशक हिरासिंह खत्रीलाई सहायक निर्देशकका रूपमा सघाएका थिए।

उनले २०२८ सालदेखि १० वर्षसम्म चलचित्र संस्थानमा काम गरेका थिए। धरै फिल्ममा सहायक निर्देशक भई काम गरे पनि उनले २०४३ सालमा विश्वास नामक फिल्म निर्देशन गरेका थिए। त्यसपछि उनले मनका आँखा, भुमरी, पहिलो प्रेमजस्ता फिल्म निर्देशन गरे। यसबाहेक उनले थुप्रै टेलिचफिल्म र डकुमेन्ट्री पनि बनाएका छन्। फिल्म क्षेत्रलाई योगदान दिने क्रममा कार्कीले परिवर्तन, सिन्दूर, जीवनरेखा, कान्छी, मायाप्रिती, रक्षा, राँकोजस्ता फिल्मका लागि संवाद लेखेका थिए। उनका एक दर्जन जति गीति नाटक पनि मञ्चन भएका थिए।उनका आत्मा बेचेको छै र हनिमुनजस्ता उपन्यासका साथम, ढलेको गिलास लघु उपन्यास, कल्पना टूट चुकी है हिन्दी र उर्दू कविता संग्रह, जून निदाउन थाल्यो गीत कविता संग्रह, मायाप्रतिको चोखो कथा गीत संग्रह, हत्केलाले सधैंभरि सूर्य छेकिँदैन मुक्तक, हो देश मेरो पनि गजल संग्रह, बसि बियाँलो कथा संग्रह, दिलजीगर के टुकडे उर्दू वयाज प्रकाशित छन्।

उज्बेकिस्थान, अजरबैजान, रुस, अमेरिका, थाइल्यान्ड, हङगकङ, जापान, पाकिस्तान र भारतका विभिन्न शहरको भ्रमण गरेका कार्की नेपाली फिल्म, संगीत र साहित्यमा योगदान पु-याएबापत गोरखा दक्षिण बाहु, शुभराज्याभिषेक पदक २०३१, गद्दी आरोहण रजत जयन्ती पदक २०५२, महेन्द्र चलचित्र साधना सम्मान पुरस्कार, मधुरिमा सम्मान, रेयुकाई नेपाल, नेपाल चलचित्र कलाकार संघ सम्मान, छिन्नलता गीत पुरस्कारलगायत विभिन्न मान पदवी, सम्मान र पुरस्कारबाट सम्मानित भएका थिए। उनी पछिल्लो समयमा फिल्म क्षेत्रका विविध क्रियाकलापका कारण यसबाट पर भएका थिए।नेपाली फिल्म क्षेत्रमा बौद्विक र हक्की स्वभावका धनी फिल्मकर्मीका रूपमा परिचित उनको परिवारमा श्रीमती र दुई छोरा रहेका छन्। कार्कीको आइतबार नै दाहसंस्कार गरिएको छ। चेतनका जेष्ठ पुत्र पारस कार्कीका अनुसार नेपाली सेनाको शव वाहनले उनको शव पशुपति पु-याएको थियो। परिवारको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्