नेपाली चलचित्रका चेतन व्याख्याता:अलबिदा !



विदुर गिरी, काठमाडौं

नाम जस्तै काम पनि उस्तै ‘चेतन’ । आफ्नो जीवनकालमा थोरै मात्र चलचित्र निर्देशन गर्नुभयो, तर नेपाली चलचित्रको ‘चेत’ अर्थात् जग बसाल्न ठूलो योगदान पु-याउनुभयो चेतन कार्कीले । तर, अब चलचित्र क्षेत्रका हस्ती वा शिकारुहरूले उहाँको साथ र सानिध्य पाउने छैनन् । पापी कोरोनाले चेतन कार्कीलाई पनि छाडेन । उहाँ अब हामीमाझ हुनुहुन्न ।

भारतको देहरादुन र ललितपुर आउ–जाउ गरिरहने उहाँ लकडाउन शुरु भएकै दिन गत वैशाख १६ गते देहरादुनबाट फर्कनुभएको थियो । देहरादुनबाट फर्केको केही दिनपश्चात् कोरोना संक्रमण पुष्टि भएपछि उहाँलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको आइतबार बिहान अस्पतालमा निधन भएको हो ।८४ वर्षीय कार्की केवल एक चलचित्र निर्देशक मात्र थिएनन् । उहाँ आफ्नो समयका कलाकारहरूको प्रेरणाको स्रोत र अभिभावक नै हुनुहुन्थ्यो । तब त अन्य कलाकारझैं अभिनेत्री बसुन्धरा भुसाल पनि भक्कानिनुहुन्छ– ‘उहाँले त हामीलाई टुहुरो नै बनाएर जानुभयो ।’अभिनेता तथा निर्माता निर्देशक कृष्ण मल्ललाई उहाँको अभाव निकै खड्किएको छ– ‘उहाँले आप्mनो जीवनकालमा थोरै मात्र चलचित्र निर्देशन गर्नुभयो, तर ज्ञान भने धेरै बाँड्नुभयो । चेतन दाइले चलचित्रको जग बसाउनुभयो र त हामी हिँड्न पायौं । अब उहाँ नै नरहनु भएपछि फिल्मको कुरा कोसँग गर्ने ? कोसँग जानकारी लिने ?’

कार्कीले विश्वास नामक चलचित्रबाट चलचित्र नगरीमा प्रवेश दिलाएको अभिनेत्री मिथिला शर्मालाई अन्तिम समयमा कार्कीसँग भेट्न नपाएकोमा दुःख छ । भावविह्वल हुँदै उहाँ भन्नुहुन्छ– ‘कस्तो गाह्रो अस्ति अस्पताल भर्ना गरेदेखि छटपटी भइरहेको थियो । न भेट्न मिल्यो, न के भयो भन्ने नै थाहा हुन सक्यो । हिजो रातिदेखि एकदमै गाह्रो भएको रहेछ । आज त यस्तो दुःखद खबर पो आयो ।’मत्स्य अधिकृत रहनुभएका कार्कीले तत्कालीन शाही नेपाली चलचित्र संस्थानमा जागिर खाई निर्माण नियन्त्रक, सहायक निर्देशक, चलचित्र लेखक हुँदै निर्देशन क्षेत्रमा पाइला चाल्नुभएको थियो । उहाँले चलचित्रकै लागि सयौं गीत पनि रचना गर्नुभएको थियो । उहाँका गीत रचना यति सशक्त हुन्थे कि चलचित्रका निर्माता निर्देशक आप्mनो चलचित्रका लागि गीत माग्न उहाँकहाँ धाउँथे ।

गीत रचनालाई ठूलो साधना मान्नुहुने उहाँ चाँडै गीत लेखिदिन दबाब दिनेहरूलाई आपूmले लिएको अग्रिम भुक्तानी फिर्ता गरिदिनुहुन्थ्यो तर दबाबमा केवल पैसाका लागि मात्र गीत रचना गर्नुहुन्न थियो । चलचित्रको पटकथा र संवाद लेखनका लागि पनि उहाँको शैली त्यस्तै थियो ।साहित्य र संस्कृतिको क्षेत्रमा समेत विशेष दख्खल राख्ने चेतन कार्की उर्दु साहित्यको ज्ञाता तथा अंग्रेजी र संस्कृतको जानकार हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्