महामारीका बीच एनआरएनएको राष्ट्रिय निर्वाचन

संस्थापन सहयोगमा, उम्मेदवार भोज–भतेरमा



कपिल काफ्ले, काठमाडौं

गैरआवासीय नेपाली संघमा अहिले निर्वाचनको माहोल छ । ८२ मुलुकमा मुलुकस्तरीय निर्वाचन हुँदै छ । उम्मेदवारहरू शहर–शहरमा मतदाताहरूको भेला गराई भोज खुवाइरहेका छन् भने निर्वाचनबाहिर रहेका समूह मात्र कोरोना महामारीविरुद्धको लडाइँमा जुटेका छन् ।

‘अमेरिकालगायतका मुलुकमा राष्ट्रिय नेतृत्वका लागि यही मेको अन्त्यमा निर्वाचन हुन लागेकाले केही साथीहरू त्यसमा बिजी हुनुभएको हुनसक्छ, तर हामी नेपालीले भोगेको महामारीको समस्याबाट निरपेक्ष छैनौं’, एनआरएनएका पूर्वअध्यक्ष जिबा लामिछानेले भन्नुभयो– ‘जर्मनीमा मलगायत साथीहरूले केही स्वास्थ्य सामग्री जम्मा पारेका छौं, फ्लाइट नभएको र संकलित सामग्री तत्काल आवश्यक पनि नरहेकाले हामी अन्य विकल्पमा लागेका छौं ।’

एनआरएनए संस्थापकमध्येका एक लामिछानेले शनिबार ओमानबाट आएको र केही दिनमै चीनबाट आउने स्वास्थ्य सहयोग अहिलेका लागि बढी उपयोगी हुने बताउनुभयो ।संघका वर्तमान अध्यक्ष कुमार पन्तको समूहले ‘नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान शुरु गरेको छ । यस अभियानअन्तर्गत मध्यपूर्वमा रहेका नेपालीहरूको सहयोगमा ओमानबाट ल्याइएका ५ सय ६० अक्सिजन सिलिन्डर आइतबार सरकारलाई हस्तान्तरण गरिएको संघका प्रवक्ता डीबी क्षेत्रीले जानकारी गराउनुभएको छ ।
‘नेपालमा नेपालीले अक्सिजनको अभावमा ज्यान गुमाउनुपरेको देखेर एनआरएनले अक्सिजन, भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, औषधि तथा अन्य स्वास्थ्य सामग्रीको व्यवस्थापनमा आफूलाई समर्पित गरेको छ ।’ प्रवक्ता क्षेत्रीले भन्नुभयो ।

संघले यसअघि नै विश्वव्यापीरूपमा सहयोग संकलनको अभियान थालेको जानकारी गराउँदै संघले विदेशस्थित राजदूतावास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समितिलगायत विभिन्न नेपाली संघ–संस्था तथा आम गैरआवासीय नेपालीहरूसँग सहकार्य गरिरहेको पनि उहाँले बताउनुभयो ।यसैबीच मध्यपूर्वमा रहेका नेपालीहरूको सहयोगमा शनिबार ओमानबाट ५ सय ६० सिलिन्डर अक्सिजन नेपाल ल्याइएको हो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूतावास, विभिन्न नेपाली संघ–संस्था एवं आम गैरआवासीय नेपालीहरूको संयुक्त सहयोग र सहकार्यमा अक्सिजन सिलिन्डर नेपाल ल्याइएको जानकारी गराउँदै क्षेत्रीले यसको मूल्य ७५ लाख रुपियाँ बराबर रहेको बताउनुभयो ।यसअघि एनआरएनएले २ करोड रुपियाँ बराबरको अक्सिजन कन्सनट्रेटर उपकरण नेपाली बिरामीका लागि उपलव्ध गराउने घोषणा गरिसकेको थियो । संघका अध्यक्ष कुमार पन्तले गरेको त्यस घोषणामा १ सयवटा अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउने र आइसोलेसन केन्द्र स्थापना गर्ने उल्लेख गरिएको थियो ।

गैरआवासीय नेपाली संघ अमेरिकाका महासचिव पशुपति पाण्डेले एनआरएनए अमेरिकाको सक्रियतामा १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए पनि सोअनुसार काम भने हुन नसकेको धनुषा संवाददाताले जनाएका छन् ।अमेरिका, अस्ट्रेलिया, आयरल्यान्ड, नेदरल्यान्ड, बेलायत, साउदी अरब, जापान, यूएई, जर्मनी, रुस, कोरिया, क्यानडा, अस्ट्रिया, कतार, अफ्रिका, चीनस्थित संघका करिब दुई दर्जन देशका राष्ट्रिय समितिका अध्यक्ष, महासचिव, केन्द्रीय पार्षद्, पदाधिकारी तथा आईसीसी सदस्यहरू नेपालमा सहयोगका लागि तत्पर रहेको जनाइए पनि नेपालीले अपेक्षित सहयोग पाउनसकेका छैनन् ।
‘एनआरएनको ध्यान निर्वाचनमा केन्द्रित नभएको भए कोभिडको यस महामारीका बेला नेपालीलाई अलि बढी सहयोग प्राप्त हुने थियो’ अमेरिकाको क्यालिफोर्नियास्थित मदरल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डे भन्नुहुन्छ– ‘निर्वाचनतिर ध्यान दिनु नपरेका कारण हामी नेपाल र नेपालीलाई सहयोग गर भनेर राष्ट्रपति जो बाइडेनसमक्ष अनुरोध गर्दै छौं, हस्ताक्षर संकलनको काम भइरहेको छ ।’
२०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पमा एनआरएनएले उल्लेख्य सहयोग ग-यो । महाभूकम्पको केन्द्रविन्दु रहेको जिल्ला गोरखाको लाप्राकमा सिंगै बस्ती तयार पारेर पीडितलाई लालपूर्जासहित हस्तान्तरण ग-यो । लाप्राकस्थित धार्चे गाउंँपालिका–४ मा संघको प्रत्यक्ष सक्रियतामा बनेका ५ सय ७३ वटा निजी आवासमा आज हजारौं नेपाली बसोवास गर्छन् ।

समाजसेवी तथा व्यवसायी उपेन्द्र महतो संस्थापक अध्यक्ष रहेको एनआरएनएमा देवमान हीराचन, जिबा लामिछाने र भवन भट्टले नेतृत्व गरिसक्नुभएको छ भने कुमार पन्तले आगामी अक्टोबरसम्म नेतृत्व गर्नुहुनेछ ।‘अमेरिकामा राष्ट्रिय नेतृत्वका लागि डा. अर्जुन बञ्जाडे, कृष्ण लामिछाने र बुद्धिसागर सुवेदी प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँहरूमध्ये जसले कोरोना महामारीविरुद्धको लडाइँमा नेपालीलाई सघाउनेछन्, उनले सहानुभूतिको मत अधिक पाउने सम्भावना छ’, मदरल्यान्ड नेपालका अध्यक्ष पाण्डे भन्नुहुन्छ– ‘त्यसैले आगामी नेतृत्व सुनिश्चित गर्नका लागि पनि अध्यक्ष तथा अन्य पदका प्रत्यासीहरूले महामारीले पारेको नेपालीको घाउमा मलम लगाउनु आवश्यक छ ।संघको विधान, २०६० ले नेपाली सभ्यता, संस्कृति र पहिचान विस्तार गर्ने र नेपालको आर्थिक समृद्धिका लागि लगानी गर्ने प्रयोजनले एनआरएनएको गठन भएको उल्लेख गरेको छ । नेपालको कानुनअनुसार विदेशस्थित नेपाली राजदूतावासबाट एनआरएनएको परिचयपत्र प्राप्त गरेका नेपालीमूलका विदेशी नागरिक बिनाभिसा नेपाल प्रवेश गर्न, बसोबास गर्न र घरजग्गालगायतको सम्पत्ति राख्न स्वतन्त्र छन् । उनीहरू नेपालमा राजनीतिकबाहेक सबै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार आम नेपालीसरह प्रयोग गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्