पशुपति शवदाह क्षेत्रमा दाउराको कमी हुन नदिनु : मन्त्री आले



विमल विष्ट, काठमाडौं ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शव दाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुँन नदिन निर्देशन दिनुभएको छ । पशुपतिमा शव जलाउन दाउरा बितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको निकाय नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनन्जय पौडेललाई पशुपति स्थित आर्यघाट क्षेत्रमा शव दाहका लागि आवश्यक पर्ने दाउरामा कुनै कमि हुँन नदिन निर्देशन दिनुभएको हो । कोरोना सङ्क्रमणले नागरिकको मृत्युपश्चात शव जलाउनका लागि पशुपति क्षेत्र स्थित आर्यघाटमा दिनहुँ ठूलो सङ्यामा शवहरु आइरहेकाले जलाउनका लागि आवश्यक पर्ने दाउराको कुनै कमी हुन नदिन उहाँले निर्देशन दिनुभएको हो ।

कोरोना रोकथाम र नियन्त्रणमा वन मन्त्रालय सहित मातहतका सबै निकाय तथा साधन स्रोतको परिचालन गर्न समेत आग्रह गर्नु भएको छ । नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनन्जय पौडेलले शव जलाउनका लागि आफुहरुसँग कम्तिमा पनि एक महिनाका लागि दाउरा पुग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रौतहट, बारा जिल्लाबाट दाउरा ढुवानी भएर आउदैछ, उक्त दाउरा आइपुगे कम्तिमा पनि एक महिनाका लागि शव जलाउन पुग्ने छ ।” अन्य निजी क्षेत्रसँगको सहकार्यमा दाउरा ल्याउनका लागि पहल भइरहेको महाप्रबन्धक पौडेलले जानकारी दिनुभयो ।

पछिल्लो दुइ/तीन यता पशुपति स्थित आर्यघाटमा कोरोनाका कारण मृत्यु भएका दिनमा कम्तिमा पनि १०० देखि १०४ सम्म शव आउने गरेका कारण जलाउने दाउरा अपुग हुने गरेको नेपाल वन निगम लिमिटेडले जनाएको छ ।
पशुपति क्षेत्र स्थित नेपाल वन निगम लिमिटेडको डिपो कार्यालयका इन्चार्ज द्रोण पोख्रेलले पछिल्लो समय पशुपति आर्यघाटमा कोरोनाबाट मृत्यु भएकाको शव जलाउन एक शव बराबर कम्तिमा पनि चार क्वीण्टल दाउरा लाग्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोभिड नभएकाको शव जलाउन दुइ क्वीण्टल जती दाउरा आवश्यक पर्ने गरेकोमा अहिले कोभिडबाट मृत्यु भएकाको शव जलाउन दोब्बर जती लाग्ने गरेको छ, दाउरा अहिले त प्रयाप्त छ, शव सङ्ख्या बढ्दै गए समस्या आउन सक्छ ।” उहाँका अनुसार पछिल्लो दुइहप्ता यता आर्यघाटमा शव जलाउनका लागि दैनिक २५ हजार केजी दाउराको माग आइरहेको छ । नेपाल वन निगम लिमिटेडले ७७ वटै जिल्लाका डिभिजनल वन कार्यालयसँग दाउराका लागि आवश्यक पहल गरीरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्