सल्यान अस्पतालको अक्सिजन प्लान्टमा अनियमिता भएको खुलासा, सहायक सिडियोको नेतृत्वमा छानविन समिति गठन



सरिता चलाउने, सल्यान ।

जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट कन्सन्ट्रेटर खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिवार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि अनियमितता भएको खुलासा भएको हो । अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यलय सल्यानमा उजुरी परेपछ छानविन समिति गठन गरिएको छ । अक्सिजन प्लान्ट भनेर अक्सिजन कन्सन्ट्रेटर जडान भएको र उक्त मेसिन खरिदमा अनियमितता भएको भन्दै आइतबार छानविन समिति गठन गरिएको हो । जिल्ला प्रशासन कार्यालय सल्यानमा आइतबार लिखित उजुरी परेपछि छानविन समिति गठन गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काको संयोजकत्वमा कोलेनिकाको कर्मचारी र शारदा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख र बायोमेडिकल इन्जिनियर सदस्य रहेको छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले बताउनु भयो । छानविनमा यदि दोषी ठहरिए जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइने र भुक्तानी पनि रोक्का गरिएको उहाँको भनाई छ । यदि खरिद कर्ताले नै गडबढी गरेको पाइए उक्त कम्पनीलाई कालो सूचीमा राखिने उहाँको भनाई छ ।

स्वास्थ्य सेवा कार्यालयले अक्सिजन प्लान्ट भन्दै ४९ लाखमा खरिद गरेको जानकारी दिएको थियो । अक्सिजन प्लान्ट भनेको अक्सिजन कन्सन्ट्रेटर भएको र अक्सिजन कन्सन्ट्रेटरलाई त्यतिधेरै पैसा नपर्ने चिकित्सकहरुले बताएका छन् ।स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य व्यवस्थापक दशरथ श्रेष्ठले अक्सिजन प्लान्ट भनेर नै टेन्डर आह्वान गरिएको तर कम्पनीले भने अर्कै समान पठाएको बताउनु भएको छ । मेसिनको प्राविधिक विषयमा आफूँहरुलाई जानकारी नहुने उनको तर्क रहेको छ । टेन्डर अनुसारको किन सामान आएन त्यसबारेमा आफुँहरुले खरिदकर्तासँग पनि छलफल गछौं ।

सामानको टेन्डर देखि खरिदसम्म आफूँलाई कुनै जानकारी नभएको भन्दै अस्पताल व्यवस्थापन समितिका अध्यष सिपि ओली भने पन्छिएका छन् । आफूँ अस्पतालको अध्यक्ष भएपनि टेन्डर आह्वान देखि खरिद प्रक्रियासम्म आफूँ संलग्न नरहेको बताएका छन् । सामान खरिद गर्दा आफूसँग एक वचन पनि नसोधेको उहाँको गुनासो छ । स्वास्थ्य सेवा कार्यालय सल्यानमा गत मंसिरमा आह्वान गरेको टेन्डरमा ड्रायोजन मेडिटेक प्रा.लि. सुर्खेतले ठेक्का पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्