पीसीआर परीक्षण रिपोर्ट देखाएर मात्र प्रवेश गर्न विशेष अदालतको निर्देशन



नेपाल समाचारपत्र, काठमाडौं

विशेष अदालतले अनुसन्धान अधिकृतको पीसीआर परीक्षण रिपोर्ट वा कोभिड विरुद्धको खोप लगाएको कार्डको प्रतिलिपिसमेत संलग्न गरी मिसिल लिएर प्रवेश गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायलाई निर्देशन गरेको छ ।

यस्तो निर्देशन आइतबारबाट लागू हुने विशेष अदालतका शाखा अधिकृत रामेश्वर अधिकारीले जानकारी दिनुभयो । ती दुई निकायमा सेवा प्रवाह व्यवस्थापन गर्ने सम्बन्धमा पठाइएको पत्रमा उल्लेख गरिएको छ– ‘मिसिल लिएर आउने अनुसन्धान अधिकृतको ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट वा कोभिडविरुद्धको खोप लगाएको खोप कार्डको प्रतिलिपि संलग्न गर्नहुन अनुरोध छ ।’अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग समेतलाई सोही निर्देशन दिएको छ । भ्रष्टाचार र कालोधनलाई शुद्धीकरण गरिएको विरुद्ध मुद्दा दायर गर्ने शुरू निकाय विशेष अदालत हो ।

विशेष अदालतले म्याद थपसम्बन्धी कार्यको लागि भर्चुअल माध्यम अपनाउने भएको छ । सो कार्यको थालनी यही जेठ २ गतेबाट गर्ने भनिएको छ । कुनै मुद्दा दायर गर्नुपर्दा र म्याद थपको लागि प्रक्रिया अगाडि बडाउन लाग्दा व्यवस्थापनको सहजताका लागि अग्रिम जानकारी गराउन पनि अख्तियार र विभागलाई अदालतले अनुरोध गरेको छ ।विशेष अदालतले सो अदालतमा कार्यरत केही न्यायाधीश र कर्मचारीलाई संक्रमण देखिएको उल्लेख गर्दै जीवन र स्वास्थ्यलाई दृष्टिगत गरी अर्को सूचना जारी नभएसम्मका लागि सो व्यवस्था गर्नुपरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्