मिस्ट्रीखोला जलविद्युत् आयोजना केन्द्रीय प्रणालीमा जोडियो



प्रताप बानियाँ, म्याग्दी

४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको मिस्ट्रीखोलाबाट उत्पादित विद्युत उत्पादनलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

माउन्टेन इनर्जी प्रालि नेपालले बनाएको आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको आयोजनाले जनाएको छ । आयोजनाको पावर हाउसभित्र रहेका तीनवटै युनिटबाट उत्पादित विद्युत दाना सब–स्टेशनमार्फत केन्द्रीय प्रणालीमा पठाइएको आयोजनाका आवासीय इन्जिनियर दिवाकर खड्काले जानकारी दिनुभयो । मिस्ट्रीखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रणालीमा जोडिएको बताउँदै खड्काले परीक्षणका लागि आयोजनाका सबै विद्युत युनिटहरु सञ्चालन गरिएको बताउनुभयो । परीक्षण उत्पादन र सब–स्टेशनमा विद्युत जडान कार्यका लागि नेपाल विद्युत प्राधिकरणको टोली नारच्याङ आएको उहाँको भनाइ छ । आयोजनाको २३ सय मिटर लामो सुरुङ तथा १६ सय मिटरको पाइपबाट ल्याइएको पानी तीनसय मिटर माथिबाट टर्वाइनमा खसालेर विद्युत् उत्पादन गरिएको छ ।
नारच्याङमा निर्माण गरिएको आयोजनाको पावर हाउसदेखि दाना सब–स्टेशनसम्म विद्युत् जडानका लागि ट्रान्समिसन लाइन निर्माण गरी उत्पादित विद्युत पठाइएको हो ।

नारच्याङको बेंसीगाउँमा रहेको पावरहाउसबाट परीक्षण उत्पादनको समय १५ दिन रहेको छ । सो अवधिमा उत्पादित विद्युत प्राधिकरणलाई निःशुल्क उपलब्ध गराइने हुँदा त्यसपछि व्यावसायिक उत्पादन गरिने जनाइएको छ । यसअघि दाना सब–स्टेशनमार्फत गरिएको परीक्षण सफल भएको थियो । आयोजनाको लागत पाँच अर्ब रुपियाँभन्दा बढी रहेको छ । घलेम्दी र निलगिरी खोला मिसिएर मिस्ट्री नामाकरण भएको थियो । आयोजना निर्माणको सम्पूर्ण काम सकेर परीक्षण उत्पादन शुरु गर्दा झण्डै चार वर्षभन्दा बढी समय लागेको छ । गत चैत तेस्रो साता परीक्षण उत्पादनको तयारी गरिएको भए पनि आयोजनामा कार्यरत कामदार तथा कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि डेढ महिनापछि मात्रै उत्पादन परीक्षण थालिएको हो ।कालीगण्डकीको किनारमा निर्माण गरिएको यस आयोजनाको पावरहाउसको छेकबाँधका लागि ग्याबिन, जाली तथा पर्खाल लगाइएको छ । आयोजनाको २०७३ सालको जेठ अन्तिमबाट निर्माणकार्य शुरू गरिएको थियो । तोकिएको समयमै आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने भनिए पनि कोरोना भाइरस तथा लामो समयसम्म जारी लकडाउन, प्राकृतिक प्रकोप जस्ता कारणले निर्माणमा ढिलाइ भएको हो ।

अन्नपूर्ण गाउँपालिकाअन्तर्गत विभिन्न वडामा निलगिरी जलविद्युत् आयोजना र निलगिरी क्यास्केट–२ गरी एकसय १० मेगावाट, घारखोला जलविद्युत् आयोजना १४ मेगावाट र रेलेखोला जलविद्युत् आयोजना ६ मेगावाट निर्माणाधीन अवस्थामा रहेको नारच्याङका स्थानीय अगुवा तेजबहादुर गुरुङले बताउनुभयो । यसैगरी कालीगण्डकी गर्ज एकसय ६४ मेगावाट, रुप्सेखोला जलविद्युत् आयोजना चार मेगावाट र मध्यकालीगण्डकी आयोजना ५३ दशमलव ५३ मेगावाट निर्माणको क्रममा रहेका छन् ।यसअघि पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भई गएको माघ महिनादेखि कालीगण्डकी प्रसारण करिडोर आयोजना २२० केभी दाना सव–स्टेशनमार्फत उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिसकिएको छ । नारच्याङमा दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना समेत सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्