कोरोना कहरको असर: भन्सार राजस्व असुली प्रभावित



कृष्णउदास खनाल, वीरगन्ज

कोरोना भाइरसको संक्रमण केही मत्थर भए लगत्तै तंग्रिन खोजेको वीरगन्ज भन्सार फेरि दोस्रो लहरको कोरोनाका कारण थलिएको छ । कोरोनाको दोस्रो लहरपछि लगाइएको निषेधाज्ञाको प्रमुख चपेटामा वीरगन्ज भन्सार कार्यालय परेको छ । त्यसको असर राजस्व असुलीमा देखिएको छ ।

वीरगन्ज भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक महेश आचार्यले तुलनात्मक रूपमा निषेधाज्ञापछि वीरगन्ज भन्सारमार्फत हुने आयात झण्डै ५० प्रतिशतले नै घटेको र सोको प्रभाव अहिले राजस्व संकलनमा परिरहेको बताउनुभयो । वीरगन्ज भन्सार कार्यालयको आयात दर र राजस्व दुवै घटेको उहाँले बताउनुभयो । राजस्व संकलनको दर पनि ५० प्रतिशतले घटेको प्रमुख आचार्यले बताउनुभयो । सामान्यतया सरदर दैनिक ७० करोड राजस्व संकलन भइरहेकामा कोभिड–१९ को दोस्रो लहरसँगैको निषेधाज्ञापछि वीरगन्ज भन्सार कार्यालयले दैनिक करिब ३५ करोड जति मात्र राजस्व संकलन गरिरहेको उहाँले बताउनुभयो ।

निरौलाका अनुसार गत चैतमा अधिकतम १९ अर्ब ८७ करोड राजस्व संकलन गरेको भन्सार कार्यालयले वैशाख २८ गतेसम्ममा मुस्किलले १४ अर्ब जति मात्र संकलन गर्न सकेको छ । जब कि वैशाखका लागि भन्सार कार्यालयले १९ अर्ब ४४ करोडको राजस्व लक्ष्य निधारुण गरेको छ । वीरगन्ज भन्सार मार्फत खाद्यान्न र पेट्रोलियम पदार्थको आपूर्तिबाहेकका अन्य सबै खाले अतिरिक्त मालसामानको आयातमा कमी आएको भन्सारको तथ्यांकले देखाएको छ ।

उद्योग, कलकारखानका आवश्यक कच्चा पदार्थदेखि मेसिनरी सामग्री, सवारी साधन र गार्मेन्टका सामानको आयातमा तीव्र गिरावट आएको छ । चालू आर्थिक वर्षका लागि कुल १ खर्ब ७० अर्ब ७६ लाख ४५ हजार राजस्व लक्ष्य पाएको वीरगन्ज भन्सार कार्यालयले वितेको ९ महिनामा कुल १ खर्ब, २४ अर्ब, ७७ करोड, ४९ लाख ८० हजार रुपियाँ राजस्व संकलक गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्