महासंघको आइसोलेसन सेन्टर सञ्चालन



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल उद्योग वाणिज्य महासंघले महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउन्डेसनसँगको सहकार्यमा कोभिड संक्रमितहरूका लागि कमलादीस्थित जैन ज्ञान निकेतनमा ड्राई अक्सिजन र आपतकालीन उपचारबिनाको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।
आइसोलेसन सेन्टरमा शुरूमा २६ बेड रहेका छन् ।

आवश्यकताका आधारमा थप बेडको व्यवस्थापन गर्दै जाने योजना रहेको महासंघले जनाएको छ । कोरोना संक्रमणका कारण आइसोलेसनमा बस्न समस्या परेका निम्न आय भएकालाई लक्षित गरी उक्त सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो । निम्न आय भएका, कुनै लक्षण नदेखिएका संक्रमितहरू कामका लागि बाहिर जाने र त्यसबाट संक्रमण समेत फैलन सक्ने उच्च खतरा रहेकाले त्यस्ता संक्रमितहरूलाई उचित वातावरणमा एकै ठाउँमा राखी संक्रमण नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्य महासंघको छ ।आइसोलेसनका लागि स्थान महावीर जैन–निकेतनले उपलव्ध गराएको छ भने आरम्भ फाउन्डेसनले आइसोलेसनको दैनिक व्यवस्थापन र सञ्चालन गर्ने जिम्मेवारीसहित दुई जना स्वास्थ्यकर्मी र एक जना चिकित्सको व्यवस्था गरी आइसोलेसनमा रहेका संक्रमितहरूको २४सैं घण्टा स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्शसहित औषधि उपचारको प्रवन्ध गर्नेछ । स्थानीय तहमा संक्रमितहरूसंग समन्वय गर्ने कार्यमा काठमाडौं महानगरपालिका वडा नम्वर २९ ले सहयोग गर्नेछ ।

आइसोलेसनमा रहने संक्रमितहरूका लागि बिहान बेलुकाको खाना र दिउँसोको खाजाको प्रबन्ध छ । केन्द्रमा अक्सिजन बाहेक कोरोना संक्रमितहरूका लागि दिइने खाने औषधिहरु उपलब्ध छ । आइसोलेसनमा रहँदा कुनै संक्रमितमा स्वास्थ्य जटिलता आई अस्पताल जानुपर्ने अवस्था आइपरेमा बिरामीलाई अस्पतालसम्म जाने कार्यको समन्वय नेपाल उद्योग वाणिज्य महासंघले गरिदिने छ महासंघका अध्यक्ष शेखर गोल्छाले भन्नुभयो–‘कतिपय संक्रमितहरू संक्रमणका बखत उचित खानपिन र क्वारेन्टाइनको अभावमा ठूलो समस्यामा पर्ने भएकाले दैनिक कमाएर गुजारा गर्नुपर्ने निम्न आय भएका वर्गलाई लक्षित गरी उनीहरूलाई सहयोग गर्न महासंघले आइशोलेसन सेन्टर संचालनमा ल्याएको हो ।’

महासंघको कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्यले विभिन्न संघ संस्थाहरूको सहयोग र समन्वयमा यस्ता सेन्टरहरू अन्य ठाउँमा पनि विस्तार गर्दै जाने योजना रहेको र जैन ज्ञान भवनमा संचालनमा ल्याउन लागेको आइशोलेसन सेन्टर स्थापनामा सहयोग गर्ने सवै संघ-संस्थालाई हार्दिक धन्यवाद दिनुभयो । सामूहिक आइशोलेसन भएको कारण जेष्ठ नागरिक, दीर्घ रोगीहरू लगायत १५ वर्षमुनिका बालबालिकालाई पनि यस केन्द्रमा हाललाई सेवा दिन असमर्थ छौं । तर, निकट भविष्यमा केहि थप व्यवस्था गर्दै जाने पनि आचार्यले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्