कोरोना संक्रमितलाई उपयोगी टिमुर



प्रायः भान्सामा प्रयोग हुने टिमुरबारे सबै परिचित भए पनि यसमा पाइने औषधीय गुणका विषयमा जो कोहीलाई थाहा नहुन सक्छ । जाडो मौसममा टिमुरको प्रयोग स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । यसले बाह्य तापमानसँग शरीरको सन्तुलन मिलाउन मद्दत गर्छ । साथै टिमुरले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या दैनिकरुपमा बढिरहेको छ । यसकारण कोरोना संक्रमण जोसुकैलाई जति बेला पनि हुन सक्ने देखिन्छ । यसमा आफू सचेत हुन जरुरी छ । यद्यपि कोरोना भाइरसको संक्रमण भइहाले पनि यसरी जित्न जरुरी छ । कोरोना संक्रमणविरुद्ध लड्न हामी हाम्रै जटीबुटीयुक्त पदार्थहरु प्रयोग गर्न सक्छौँ । यसमध्ये टिमुर पनि एक हो ।

नेपालको महाभारत पर्वत शृङ्खलाको १२०० देखि २५०० मिटरसम्मको उचाइमा पाइने टिमुरका बोट खुला तथा पाखो बारीमा उम्रिएका हुन्छन् । यसको व्यावसायिकरुपमा समेत खेती गर्ने गरिएको पाइन्छ । बोटभरि नै केही चेप्टो परेको तीखो काढाहरु हुन्छन् । टिमुरको डाँठको दुवैतिर स–साना दुईदेखि छ जोडीसम्म तीखो टुप्पो भएका पातहरु पलाएका हुन्छन् ।टिमुरको फल स–साना, राता, चारदेखि पाँच मिलिमिटर व्यासका हुन्छन् । फलको स्वाद तीतो, पिरो, हुनुका साथै जिब्रो पर्प-याउने हुन्छ । यी फलहरुबाट बास्ना पनि आउँछ । काँचोमा हरियो हुने यसको फल पूर्णरुपमा पाकिसकेपछि रातो रंगमा परिणत हुन्छ । धेरै पाकेमा फल आफैं फुट्छ र फलभित्रको कालो रंगको बियाँ बाहिर निस्किन्छ ।नेपालमा टिमुरको प्रयोग मसलाको रुपमा गरिन्छ । विशेष गरी अचार बनाउन यो बढी प्रयोग गरिन्छ । जंगली जुका फाल्न, पेटको विकार फाल्न, जैविक विषादी बनाउन आदि काममा समेत टिमुरको प्रयोग गरिन्छ । यसको फल, रुखको बोक्रा, फूललगायत सबै भागलाई दन्तमञ्जन, साबुन, अत्तर आदि बनाउनको लागि पनि प्रयोग गरिन्छ ।

हैजाको संक्रमण चलेको समयमा यो निकै उपयोगी मानिन्छ । कथंकदाचित हैजाको बिमारीको उपचारको लागि अस्पताल तथा चिकित्सकको व्यवस्था मिल्न गाह्रो भए यसको फल वा जराको बोक्रालाई पानीमा पकाएर बनाएको रस वा काँचो बोक्रालाई थिचेर निकालिएको रस बिमारीको उमेरलाई हेरी मात्रा मिलाएर सेवन गराउँदा लाभ हुन्छ । टिमुरका फाइदा यसप्रकार छन् ।

ज्वरो र कफमा:

ज्वरो एवम् कफको बिमारमा शरीरमा पसिना उत्सर्जन गरी शरीरलाई हल्का बनाउन यसको पातको स्वरस वा जराको बोक्राको रसलाई पकाएर बनाइएको रस सेवन गर्न आयुर्वेदले मार्गदर्शन गरेको छ । यसमा विद्यमान उत्तेजक तत्वको प्रभावले शरीरमा पसिना निकाल्न मद्दत गर्दछ र ज्वरो एवम् कफको समस्याबाट मुक्ति दिलाउँछ ।

गलाको शोथमा:

टिमुरको ताजा पातलाई पिसेर चामलको पीठोसँग मिलाएर गरम गर्ने र गलामा बाँध्नाले गलाको सुजन हट्छ ।

घाउमा:

टिमुरको सेवनले घाउखटिरामा पनि फाइदा पु-याउने गर्छ । टिमुरको फल खुवाउने, यसको चूर्णलाई घाउमा छर्कने र यसको जराको बोक्राको रसले घाउ धुनाले निकै लाभ हुन्छ ।

गठिया बाथमा:

जडीबुटी शास्त्रका अनुसार गठिया बाथमा पनि यसको जराको बोक्रालाई पानीमा पकाएर पिलाउनाले निकै फाइदा पु-याउने गर्छ ।

दाँतको लागि:

यसको हाँगाबिँगा वा काँडालाई पानीमा पकाएर त्यसको पानीले कुल्ला गर्नाले दाँतको पीडा हट्ने र हाँगाले दाँत मल्नाले दाँत निर्मल हुने गर्छ ।
अन्य स्वास्थ्य समस्यामा:

मन–मस्तिष्क, पागलपन, रगत सम्बन्धी समस्या आदिमा पनि यो निकै उपयोगी मानिन्छ । बाथ, अर्बुद, उदररोग, आँखा, कान र ओठको रोग, शिरको बोझ, दम, पिसासम्बन्धी रोग आदिमा यसको औषधीय प्रयोग गर्न सकिन्छ ।
– कोपिला कार्की, थापागाउँ ।

प्रतिक्रिया दिनुहोस्