अहिले जनता बचाऊ, सत्ता आफैँ आउँछ



पेशल आचार्य

कोरोनाको दोस्रो भेरियन्टले देशमा अकल्पनीय क्षति पु¥याइरहेका बेला गएको सोमबार संसद्मा भएको विश्वासको मतमा प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नै पार्टीका २८ जना सदस्यहरू संसद्मा अनुपस्थित भएका कारण लज्जास्पद हार बेहोरेर प्रधानमन्त्री पदबाट स्वतः पदमुक्त हुनुप-यो । करिब दुई तिहाइ नजिक संसद्को सिटमा विजय प्राप्त गरेर नेपालमा अहिलेसम्मकै ठूलो कम्युनिस्ट पार्टीको परिचयमा शासन चलाउने मौका पाएको ओली सरकार कालान्तरमा आफूले मागेको विश्वासको मतमा ९३ संख्यामा खुम्चिन बाध्य भयो ।
राजनीतिमा नेताको हरेक घडीमा परीक्षा हुन्छ ।

नेता, अभिनेता र अन्य व्यक्तिका लागि समेत जीवनका हरपल परीक्षाका घडी हुन्छन् । अहिले देशैभरि कोरोना कहरले दिनहुँ डेढ–दुई सय जनता मरिरहेका छन् । अस्पतालहरूले ७० वर्ष नाघेका बिरामी भर्ना नलिने सूचना टाँसेका छन् ।निजी अस्पतालको उपचार दररेट हेर्दा सद्दे मानिस बिरामी हुन्छन् । दिनको तीसौं हज्जार रुपियाँ तिरेर गरिब जनता कोभिडको उपचार गर्न सक्दैनन् । यस्तो बेलामा सरकारी अस्पतालले बिरामीको चाप थाम्न सक्दैनन् । स्थानीय तहबाट सुविधा सम्पन्न आइसोलेसन सेन्टर र होल्डिङ केन्द्र नबनाएको भनी अहिले सरकार र सरोकारवालाहरूलाई आरोप लगाउने गरिएको छ ।सोमबार आफैँले विघटन गरेको संसद्ले आवश्यक विश्वासको मत नदिई ओलीलाई पदमुक्त ग¥यो । एक वर्षका कोरोना कालबीच देशमा घटेका विभिन्न घटना हेर्दा काम चलाउ प्रकृतिमा पुगेको केपी ओली सरकार पूर्णरूपमा असफल हो । जुन प्रकार र प्रकृतिको कोरोनाविरुद्धको उपचार तयारी गर्नुपर्दथ्यो त्यो नसकेर आफ्ना मन्त्री र सल्लाहकारका पुत्रद्वयको कम्पनी प्रयोग गरी स्वास्थ्य सामग्री, औषधि र उपकरणको खरिदमा भएको भनिएको भ्रष्टाचारमा संसद्को सार्वजनिक लेखा समितिले समेत तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई तोकेरै भ्रष्टाचारमा मुछे पनि ओलीले पुरस्कारस्वरूप पर्यटनमन्त्रीमा थमौती गरिदिए ।

जनता लोकतन्त्रमा भगवान् हुन् तर नेपालमा जनताभन्दा आफ्ना हनुमान, आसेपासे, कार्यकर्ता र भजन मण्डलीलाई नियुक्तिमा प्राथमिकता दिइयो । कोरोना महामारीविरुद्ध लड्न सरकारका तर्फबाट वैज्ञानिक, वस्तुनिष्ठ, तथ्यपरक दृष्टिकोण मात्रै ल्याउनुपर्दथ्यो, त्यो भएन । राजनीतिज्ञ कम, विज्ञ व्यक्ति ज्यादा बोल्नुपथ्र्यो, उल्टो भयो । महामारीलाई कम आँक्ने, हचुवा टिप्पणी गर्ने, मनोरञ्जनको विषय बनाउने काम मुलुकको कार्यकारी प्रमुखबाट भयो ।कोरोना भित्रिएको डेढ वर्षसम्म प्रम ओलीले उट्पट्याङ कुरा मात्र गरे । नीतिगत एवं कार्यगत भ्रष्टाचार गर्दै विकासको नाममा जनतालाई नचाहिने कुस्त कमिसन आउने खालका योजना बनाए । जुन कोरोना महासंकटमा कामै लागेनन् । धरहरा बनाउने ४ अर्ब रुपियाँ र दशौं अर्ब रुपियाँका क्रिकेट रंगशाला अनि भ्युटावरले देशको स्वास्थ्य सेवाको व्यापक स्तरोन्नति गरेको भए अहिले धेरैको ज्यान बच्थ्यो ।नेपाली सेनाले ‘एमालेको पार्टी कामका लागि आफ्नो हेलिकप्टर प्रयोग नगरौं, बुद्ध एयरकै प्लेन चढौं प्रधानमन्त्रीज्यू र रक्षामन्त्रीज्यू’ भनेको भए कोरोना कोषको १५ अर्ब रुपियाँ स्वाहा हुँदैनथ्यो । कमसे कम कोरोनाको बिरामले जनताको ज्यानै लाने थिएन । ओली सत्तामा लम्पट भएर बस्नु, राष्ट्रपतिलाई बडामहारानीलाई झैँ जति सुविधा दिए पनि अझै भन्दै थप्नु नै नेपाली जनताका लागि काल भयो र अकालमा जनता मरे ।

कोरोना भनेको आफैँमा केही हैन तर उचित मेनेजमेन्ट गर्न नसक्दा विकराल रुप लिने हो । कोरोना र हैजा एउटै हो मान्छे मार्ने र सर्ने काममा । अझ अफ्रिकामा फैलिएको मलेरिया, इबोला र एचआईभीको संक्रमण योभन्दा भयावह छ । कोरोनाले यो स्वास्थ्य समस्या ग¥यो, त्यो जटिल समस्या ल्यायो भनेर आफू पानीमाथिको ओभानो नबनौं । नेपालमा स्वास्थ्य सेवामा समस्याहरु पहिलेदेखि नै थिए, खाली ढाकछोप गरेर बाहिर–बाहिर देखावटी शृङ्गार गरी चिरिच्याट्ट पारिएको थियो । जनताको करले ४ अर्ब रुपियाँको धरहरा र देशभरि १० अर्बको भ्युटावर बनाउने हामी रैतीलाई अहिले कोरोनाले गाँज्यो । अक्सिजन नपाएर मान्छे मरिरहेका छन् । सरकार खाली तिकडम गर्छ ।
खासमा कोरोनाको बिरामीलाई ५० प्रतिशत सामान्य रुघाखोकी हुन्छ । ज्वरो, झाडापखाला, जीउ दुख्ने आदिका लागि सिटामोल, ग्लुकोज, जिङ्क ट्याब्लेट, डाइरियाको औषधि र नियमित अक्सिजनको जाँच, शरीरको तापक्रम नाप्ने गरे ३ हप्तामै निको हुन्छ । थप २५ प्रतिशत बिरामीलाई घरमा अक्सिजन दिने, नियमित ज्वरोको औषधि दिने गरे निको हुन्छ । बाँकी रहेकामध्ये २० प्रतिशतलाई अस्पतालमै भर्ना गरी सामान्य आइसोलेसन वार्डमा राखेर हाइकन्सट्रेसनको अक्सिजन, स्लाइनमार्फत एन्टिबायोटिक दिएर ८ किसिमका प्रभावकारी औषधिहरु छन् ती दिएमा कोरोना ३ हप्तामा पूर्ण निको हुन्छ । तर कोरोना लागेका ५ प्रतिशत मानिसलाई भने आईसीयु÷भेन्टिलेटरमै राख्नुपर्छ ।

नेपालमा केही तयारी छैन, सो देखियो । अहिले स्वास्थ्य संरचनाले धानेको छैन । महामारीकै शुरुमा नै सब सिस्टम फेल भयो । महामारीको चरम अवस्थाको कल्पनासमेत गर्न सकिन्न । अब जनताको ज्यान बचाउने हो भने देशैभरि अक्सिजन प्लान्टको निर्माणमा ध्यान दिनुपर्छ । देशैभरि स्थानीय तहमा अक्सिजन र भेन्टिलेटर जोडी सुविधासम्पन्न आइसोलेसन सेन्टर निर्माण गर्नुपर्छ । प्रमुख राजनीतिक पार्टीहरुलाई यतिखेर सरकार निर्माणको ज्वरो आएको छ । जनताको ज्यान बचाउने हो भने तुरुन्त सर्वदलीय सरकार बनाऊ, नत्र लाखौंलाख मानिस हताहती हुन बेर लाग्दैन ।यसका लागि गर्नुपर्ने पहिलो काम सर्वदलीय सरकार गठन गर्ने हो । पहिलो काम देशमा स्वास्थ्य संकटकाल घोषणा गर्ने, सम्पूर्ण विकास बजेटको आधा रकम २ खर्ब रुपियाँ कोरोना खोप, उपचार, राहत, पुननिर्माण, पुनस्र्थापनामै खर्च गर्ने मोडालिटी बनाऊ । अधिराज्यभरि प्रति १ लाख जनसंख्यामा १ हजार बेडको अस्पताल बनाऊ, जसमा २० वटा आईसीयु र २० वटा भेन्टिलेटर आवश्यक हुन्छ, त्यो ल्याऊ र तुरुन्तै जडान गर । नेपालका सबै कलेज र विद्यालयलाई अस्थायी कोरोना उपचार केन्द्र भनेर खोलिहाल ।

दोस्रो काम– सबथोक छाडेर दुईवटा खोप किन्न अमेरिकी कम्पनी नोभाभ्याक्स र जोन्सन एन्ड जोन्सनलाई, जो पूरा सुरक्षित छन्, ती किन्न अमेरिकी सरकारसँग सर्ट एन्ड स्वीट तरिकाले वार्ता गरी तुरुन्तै किन । यी प्रभावकारी खोप छन्, बुक गरिहाल । यी खोप ल्याएर यो २०७८ को दशैँसम्ममा सबै नेपालीलाई अनिवार्य खोप लगाउने मोडालिटी बनाऊ ।अमेरिकी कम्पनीले प्रोटिनमा आधारित कोरोना भाइरसको खोप नोभाभ्याक्स तयार गरेर अब १० करोड डोज यो साल अमेरिकीलाई लगाइदिँदै छ । जोन्सन एन्ड जोन्सनको खोप त एक डोज मात्रै लगाउनुपर्छ । वैदेशिक रोजगारीमा गएका हाम्रा तमाम युवाहरुलाई यो लगाइदिँदा राम्रो हुन्छ । अहिले विश्वमा खोपको ठूलो राजनीति छ । नेपालमा कमिसन खेलले खोप आपूर्ति नहुने भएछ । नोभाभ्याक्स र जोन्सन एन्ड जोन्सन खोप सबै नेपालीले लगाऊँ ।
तेस्रो काम– देशैभरि आपतकालजस्तो बजेट लगाएर कोरोना उपचार केन्द्र खोल, भेन्टिलेटर, आईसीयु, हाइ कन्सट्रेसन अक्सिजन, कोरोनाको औषधिको व्यवस्था गर । प्लेन चाटर्ड गरेरै अमेरिकी सरकारसँग १० हजार थान आईसीयु र ३० लाख थान सिलिन्डर किनेर ल्याऊ ।

चौथो काम– कोरोनाको कहरमा बसेका जनतालाई टेस्ट, उपचार, राहत, पुनर्निर्माण, पुनस्र्थापना र रोकिएको विकास गति अगाडि बढाऊ । यसका लागि दाता राष्ट्रले भनेका भन्यै छन्– स्पष्ट नतिजा आउने कार्यक्रम बनाऊ । कोरोनाका लागि आवश्यक सबै उपचार, राहत, पुनर्निर्माण, पुनस्र्थापनाका कार्यक्रम सञ्चालन गर ।पाँचौँ काम– अहिले कोरोनालाई प्रयोग हुने ८ किसिमका औषधिहरु– डेक्सामेथासोन, रेम्डेसिभिर, रेजेनरोन्सको मोनोक्लोनल एन्टिबोडी, जिंक, भिटामिन–डी, फ्यामोटिडाइन, मेलाटोनिन, एस्पिरिन अमेरिकाबाट १ लाख डोज झिकाऊ । यिनीहरुको प्याकेज बनाई सर्वसाधारणलाई गाउँ–गाउँमा शीघ्रातिशीघ्र उपलब्ध गराऊ, जसले कोरोनाबाट मर्नेको संख्या ९० प्रतिशत घट्छ ।यस्ता व्यावहारिक कुराहरुको सल्लाह अहिलेको सरकारलाई दिनु भनेको भालुलाई पुराण सुनाउनु हो । वर्तमान सरकारको कार्यशैली हेर्दा यो देशमा सरकार नै छैन जस्तो लागिरहेको छ । केही दिनअघि उपत्यकाका मेयरहरुसँगको संयुक्त बैठकमा उपत्यकाका अस्पतालका प्रमुखमध्ये गंगालाल हृदय रोग केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले हाक्काहाक्की भने– ‘देशको स्वास्थ्य प्रणाली नै कोल्याप्स भैसक्यो ।’ हामी अझ एक कदम अघि बढेर भन्छौं– ‘स्वास्थ्य प्रणाली भएको मुलुक भएको भए पो प्रणाली कोल्याप्स हुन्थ्यो ?’ यहाँ त रामभरोसमै अडिएको प्रणाली छ । जतिखेर जे पर्छ त्यतिखेर त्यही काम गर्ने चिन्तन र व्यवहार भएको हुनाले आधुनिक प्रणालीको विकास गर्न सकिएको छैन । यस्तो बेलामा कोरोनाले लाखौं नेपाली मरिसक्दा चुँक्क कसैले बोेलेका छैनन् ।

‘सत्ता, शक्ति र सम्पत्तिको हण्डीमा -याल काढ्ने केपी ओली, माधव नेपाल, झलनाथ, शेरबहादुर, रामचन्द्र, प्रचण्ड, बाबुराम, महन्थ ठाकुर, उपेन्द्र यादवलगायतका कथित नेता भन्नेहरु हो, अस्पतालका शय्यामा आफैँ अक्सिजन नपाएर तड्पिई–तड्पिई ज्यान गुमाउनुपरेको भए मात्रै पलपल संघर्ष गर्दै मृत्यु व्यहोर्न विवश निरीह जनताको दुःख बुझ्ने थियौ, हो ?’पत्रकार राजन कुइँकेल आफ्नो फेसबुक स्टाटसमा लेख्छन्– ‘आज अस्पतालमा उपचारका लागि अक्सिजन र शय्या होइन, आर्यघाटमा शव जलाउन चिता अभाव भैसक्यो तर राजनीतिका अपराध शिरोमणिहरु सत्ताको लुछाचुँडीमा लिप्त हुन तिमीलाई लाज लाग्दैन ? हे ! मानवता मरेका गिद्धहरु हो ! कति लुच्छौ महामारीले डसेका नागरिकको यो सिनो ? धिक्कार !’ अहिले यी र यस्ता स्टाटसहरु सामाजिक सञ्जालमा वर्षा हुन्छन् ।अहिले कुनै नेता र कार्यकर्ताहरु बोलिरहेका छैनन् । सामाजिक उत्तरदायित्व बहन गरिरहेका छैनन् । अहिले त जनता बचाउने बेला हो । जनता बाँचिरहे भने चुनाव त आफैँ समय घर्किएपछि आउँछ । विश्वबाट अलिकति पनि तिमीहरुलाई लाज, घिन र डर हुन्छ भने ए नेपालका नेताहरु हो ! जनता बचाउने काम गर । बाँकी नेपालीको अहिले तिमीहरुसँग माग्ने र भन्ने बेला केही छैन ।

प्रतिक्रिया दिनुहोस्