केपी ओली पुनः प्रधानमन्त्री आज दिउँसो २ बजे शपथ लिँदै



न्युज अफ नेपाल , काठमाडौं ।

पुनः प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आज पदको शपथ लिने भएका छन् । शपथको तयारी आज दिउँसो २ बजे शीतल निवासले गरेको छ। विपक्षी कुनै दलले बहुमत जुटाउन नसकेपछि संसदमा सबैभन्दा ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा पुनः केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाइएको हो । संविधानको धारा ७६ (३) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति उनलाई प्रधानमन्त्रीमा नियुक्ति गरेकी हुन्।

गत सोमबार संसदमा विश्वासको मत माग्दा बहुमत प्राप्त हुन नसकेपछि ओली पदबाट हटेका थिए। त्यसपछि राष्ट्रपति संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई दलभन्दा बढी मिलेर बहुमतको सरकार बनाउन ३ दिन अर्थात् हिजो बिहीबार राति ९ बजेसम्मको समय दिएकी थिइन्।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने प्रयास गरे पनि समयसीमाभित्र बहुमत जुटाउन सकेनन्। जसले गर्दा प्रधानमन्त्री चयनको प्रक्रिया अर्को चरणमा प्रवेश गरेको हो।

प्रतिक्रिया दिनुहोस्