नेकपाका कार्यकर्ताको पीडा र कारण



दामोदर पौडेल

गणतन्त्रपछिको पहिलो स्थानीय चुनावमा अधिकांश स्थानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जित्दा जिल्ला तहसम्म मात्र नभई प्रदेश स्तरसम्मका विजयीहरुलाई भएको खुशी अबरहेन । जुन उत्साह र लक्ष्यले जनताले मत दिएका थिए र विजयी भएका थिए, उनीहरुको उत्साह र आशा चकनाचुर भएको छ । जनताले पाउने सुख–सुविधाभन्दा पदको छिनाझम्टी गर्दै एकछत्र राज गर्न सफल भएका थिए । पद नपाउँदा  हामीले पद पायौं भने जनताले सुख र खुशीपाउने छन् भन्ने गर्थे । सत्ताधारी हुन पुगेका कम्युनिस्टहरु कहिले सरकार अल्पमतको मात्र भयो त्यसैले बहुमत देऊ भन्थे । बहुमत देऊअनि जनताले वास्तविक सुख–समृद्धि पाउने छन् भनेर जनतालाई भनेकै हुन् । जनताले माया र आश गरेर विजयी बनाए । चुनाव जितेपछि काम गर्ने क्रममा केहीले सबैलाई समानरुपमा नहेरेको वा आफूलाई टिकट दिने दलभित्र पनि यो पक्ष र त्यो पक्षका चर्चाहरुले बारम्बार विवाद ल्याउने गरेका हुन् । नेकपा गरिब र पीडित जनताको भनिरहँदा ती दाजुभाइ, दिदीबहिनीहरुको पक्षमा कतिसम्म काम गर्नुपर्ने थियो र कति गर्न सकियो भन्ने मूल्यांकन गर्न र आफूलाई अब्बल बनाउन प्रयास गर्नुपर्नेमा भित्रभित्रै गुट–उपगुटहरु मात्र जन्मिए । कति असहमति र कति पदका विवादहरु पनि देखिएका हुन् ।

पहिला जनता र त्यसपछि म, पहिला जनताको हित र त्यस पछि म भन्ने भावनालाई सार्थक बनाउने दिशामा लाग्नुपर्ने समयमा विवादमा नै अल्झिए ।जनताले कम्युनिस्टको बहुमत भएपछि इमानदारी र अरुले भन्दा धेरै कुराको आश पनि गरेका थिए । अहिले पदबाहिर कुनै सोच नै भएन र जनताले अब के सोच्लान् र के सोचिरहेका होलान् भन्नेमा नेताहरु बेखबर हुनुहुँदैन भन्ने सोच भएन ।जनताको पक्षमा काम गर्नको लागि धेरै साझा कामहरु थिए र छन् । तर जनताको हितको नाममा सत्तामा पुग्नेहरुअरु नै विवादमा अल्झिए ।दलमा गुट–उपगुटहरु बने र सबै गुट–उपगुटहरुमा केही राम्रा पक्ष र केही नराम्रा पक्षहरु देखिए । जनताको कामभन्दा आफ्नै विवाद रछिनाझप्टी सबैलाई आनन्ददायक र प्यारा भए ।कानुनीरुपमा जे भए पनि व्यवहारमा पार्टी दुई टुक्रा मात्र भएन बरु देखिएका दुई गुटहरुले संसारमा सबैभन्दा नराम्रो र गलत भएको दुश्मनको संज्ञा एक–अर्कालाई दिने काम शुरु भयो । अरु दललाई दिने गरिएका प्रतिक्रियावादी, दलाल आदि भन्नेउपमाहरुफुटपछि दुवै समूहले एक–अर्कालाई दिए । विदेशी दलाल भन्ने पुरानो चलन ती समूहबीच जुहारीको रुपमा चल्यो ।

कहिलेकाहीँ पायक र सुविधा भएकोमा कुनै एक समूहको कार्यक्रममा उपस्थित भएमा अर्को समूहको तारोजस्तो बन्न पुगको महसुस भयो । दुवै समूहसँग समान व्यवहार राख्न चाहनेले मिल्नुपर्दछ भनेमा ऊ दुवै समूहबाट एक्लिएको देखियो ।प्रसंगवशकुनै साथीलाई भेट्ने वा कुनै समूहकोमा केही सुन्न गए पनि त्यही समूहको भनेर दुवै समूहले आरोप लगाउने वातावरण बन्यो। म पार्टीको कार्यकर्ता र पदको भएकोले पनि सकेसम्म निष्पक्ष भएर काम गर्नुपर्दछ, किनभने मलाई मत दिनेहरु दुवै पक्षमा छन् र त्यसभन्दा माथि जनताको सेवा हो भन्ने सोचेर काम गर्न चाहनेहरु विक्षिप्त बन्न पुगेका छन् । निष्पक्ष र इमानदार भएर काम गर्छु भन्दा तथा दुवै पक्षलाई मिलेको हेर्न चाहन्छु भन्दा पिँध नभएको लोटाजस्तो पनि देखाउने प्रयास गरिएको महसुस भयो ।सर्वोच्च अदालतले संसद् पुनस्र्थापनाको आदेशदिएकोमा संसद्ले पनि प्रधानमन्त्रीले राखेको विश्वासको मतमा निर्णय दिइसकेको छ । दलभित्र गुट–उपगुटको कठोर समीकरण पहिलादेखिकै हो, मध्यावधिको घोषणाले त्यसलाई सतहमा ल्याएको जस्तो मात्र देखाएको हो । कुनै दिन असल सहयोगी बनेका नेताहरु कमरेड केपी ओली, प्रचण्ड तथा माधवकुमार नेपाल एक–अर्काको लागि यति टाढा हुनुभएको छ कि उहाँहरु दुवै पक्षका लागि आफ्ना साथीहरुभन्दा शेरबहादुर देउवा तथा राप्रपा र राजपाका नेताहरु विश्वासिला देखिएका छन् । यसकोपीडा सचेत मतदाता एवं कार्यकर्ताहरुलाई भएको छ।

पद र फाइदाभन्दा ठम्याउनुपर्ने आवश्यकता र कामहरु धेरै थिए र छन् । तर बहुमत ल्याएपछि मिल्न नसक्नेपनि कम्युनिस्टहरुको हैसियत भएपछि देशका अरु दलभन्दा के फरक रह्योर ! भन्ने सवालको उत्तर जटिल हुँदै गएको छ । कम्युनिस्टहरुको इमानदारी र चेतना तथा त्यागको भावनालाई संकेत गर्दै स्टालिनले भनेका थिए कि कम्युनिस्ट भनेका भिन्नै रगतले बनेका प्राणी हुन् । भूतपूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीले कम्युनिस्टहरु प्रतिबन्धित हुँदा स्वप्नदर्शी, जनताको विश्वासका धरोहर भएको भन्ने आमधारणा भएकोमा सत्ताको राजनीतिमा पुग्दा हामीलाई जनताले कस्तोरुपमा सोचेका थिए भन्नेतर्फ ध्यान दिनुपर्दछ र राम्रो काम गर्नुपर्दछ भन्ने आसय बारम्बार राखेको पाइन्छ । त्यो सामान्य आशंका र चेतावनीको संकेत अहिले ठूलो विषवृक्ष बनेको जस्तो लाग्दछ । त्यसो त नेपाली कांग्रेसका नेता बीपी कोइरालाले पनि लोकतन्त्र आएपछि सुकिलामुकिला बिचौलियाको प्रभाव बढ्नेछ र पुनः इमानदार कार्यकर्ताले त्यस प्रवृत्तिको विरोध गरेर अन्त्य गर्नुपर्दछ भनेको सुनिएको हो । यसबाट बीपीर मनमोहनजस्ता नेताले भविष्यमा आउन सक्ने स्खलन र सजगताको बारेमा समयमा नै सजग हुनुपर्नेसंकेत गरेको पाइन्छ ।अहिले जो जसको कारणले संसद् विघटन भएको भए पनि संसद् पुनस्र्थापना भएको छ । देखिएको विवादको चुरो विषय पुरानो हुँदैछ । नेकपाका दुवै पक्षले आफ्ना कमी–कमजोरीलाई सुधारेर गलत सोच र प्रवृत्तिलाई पन्छाउने अवसर प्राप्त भएको छभन्ने आशाको पनि अन्त्य भयो ।

दुवै वा सबै पक्षले गल्ती सच्याउने र दुवै पक्षले लिएका सही सोच र कार्यहरुलाई आत्मसात् गर्ने हो भने नेकपा धेरै सुन्दर हुन्छ । विवादहरु स्वतः कम हुँदै अन्त्य भएर जान्छन् । आरोप त लाग्ने गर्दछन्, गल्ती गरेर वा इष्र्याले पनि । तर गल्ती दोहो-याउनु अपराध हो र गल्तीबाट सिकेर पुनः गल्ती नदोहो-याउनु मानवता र महानता हो भन्ने गरिन्छ ।
सबैतहका कार्यकर्ताको ठूलो पंक्तिलाई पहिला र अहिले पनि विवाद सल्टियोस्, नेताहरुले माथिल्लो तहमा नै गल्तीअनुसार आत्मालोचना गरुन् र मिलेर जाऊन् भन्ने आशा रहेको नै हो । माथिल्ला नेताहरुसँग बढी निकटता नभएकाहरुले धेरै जानकारी नभए पनि हाम्रा तीनजना नेताहरु मिल्ने हो भने राम्रो हुन्थ्यो भन्ने धेरैलाई होला । त्यस्तो नसोच्ने कोही भए पनि मिलेपछि खुशी हुन बाध्य हुने थिए । बाहिरकाहरु पनि अचम्मित हुने थिए । अरुसँग काम गर्नभन्दा आफूबीच नै काम गर्न सजिलो हुन्छ । जनता अझ धेरै खुशी हुनु स्वाभाविक हो । यही सोचेर नेताहरु मिल्ने वातावरण तयार हुनुपर्दछ ।यही मनमा लिएर नै औपचारिकरुपमा कुनै समूहमा पनि आबद्ध नभई दुवैतर्फका साथीहरुसँग भेटघाट गर्नेजस्ता कार्य केहीले गरे । धेरैलाई दुवै पक्षका नेताहरु आदरणीय थिए र छन् तथा अंगुरका झुप्पा एकै किसिमका अंगुरजस्ता छन् ।

कुनै दिनमा एक हुनुपर्दछ र एक पनि हुनेछन् भन्नेहरु कम छैनन् ।अहिले पनि संसद्कोपुनस्र्थापनापछि विवादको उत्कर्षको आगोलाई केही मत्थर गरेको भन्दा पनि अर्कोतर्फ मोडेको छ । अब पनि मिलेर काम गर्ने अवसर छ ।गल्ती नस्वीकार्ने हो भने विवादको कहिल्यै अन्त्य हुँदैन । दल एकीकरण हुँदा पनि त दुवै दलका पुराना भिन्नताहरु र कमजोरीहरु सच्याउने बाचा नै भएका हुन् । ती बाचाहरुलाई थपघट गरेर पुनः दोहो-याउन सकिन्छ । दुवै गुटका नेताहरुमध्ये यो ठीक र यो बेठिक भन्ने साहस नहुनेहरु वा नचाहनेहरु पंगुजस्ता देखिएका छन् । कुनै दिन उनीहरुमिल्न सक्छन् ।त्यसैले म कुनै पनि गुटमा नरही उनीहरु मिल्ने वतावरण बनाउन प्रयास गर्दछु । कम्युनिस्टहरुले धर्मका बारेमा त्यति चर्चा नगर्ने भए पनि मैले नेताहरु मिलून् भनेर धेरै पटक भगवान्सँग आराधना गरेँ भन्नेहरुलाई कति पीडा होला? शायद लोकतन्त्र र जनताको सही जानकारीले नै सत्यलाई उजागर गरेर अगाडि बढाउन सक्ने सम्भावना हुन्छ । यसको लागि सकारात्मक सोच आवश्यक छ ।

के ऐमाले र माओवादीका नेता–कार्यकर्ताहरु दलको अधिवेशन छिटो गर्न र विवादलाई अन्त्य गर्न पनि सक्दैनन् ? मन मिलेमा अहिले अदालतले जे नै फैसला गरेको भए पनि नाममा केही भिन्नता दिएर एउटै दलको रुपमा अगाडि बढ्न नसकिने होइन । संसद्को चुनाव पनि त एक वर्षभन्दा केही बढी बाँकी छ । त्यति समयसम्म मिलेर जनतामा जान पनि त सकिन्थ्यो होला ।

प्रतिक्रिया दिनुहोस्