जीवनको भीख



कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै नेपालमा अक्सिजन, रेम्डेशिविर, अक्सोमिटर, भिटामिन सी, डी, ई लगायतका औषधिको समेत अभाव हुन थालेको छ । बिरामीले अस्पतालमा बेड पाएका छैनन्, बल्ल–बल्ल अस्पतालमा बेड पाएकाले अक्सिजन नपाएर छटपटाउँदै मृत्युसँग पौठेजोरी खेल्नुपरेको छ ।

स्वास्थ्यका दृष्टिले यति बेला सबैभन्दा सुरक्षित नेताहरु देखिएका छन् । उनीहरूले दोस्रो डोजसमेत खोप लगाइसकेका छन् । जनतातिर फर्किने हो भने, ज्येष्ठ नागरिकसमेत जिल्ल छन् । सबैभन्दा नाजुक अवस्थामा रहेका यस समूहका करिब ९ लाख नागरिकले एक मात्रा खोप त पाए, तर दोस्रो डोज भारततिरै अड्किएको छ ।कमिसनको चक्करले अन्तिम विकल्पका रूपमा रहेको खोप नेपालीका लागि दुर्लभ बनेको छ । भारतमा फैलिएको पछिल्लो महामारी र खोप कूटनीतिमा सरकारी असफलता लगायतका कारणले पैसा तिरिसकेको खोपसमेत ल्याउन सरकार असफल भएको छ । गत फागुन २३ गतेदेखि खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले दोस्रो मात्रा खोप कहिले पाउने भन्ने अन्योल भएको छ । सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियाबाट किनेको ‘कोभिसिल्ड’ लगाएको थियो । २० लाख डोज किन्ने भनेर सेरमलाई ८० प्रतिशत रकम अग्रिम भुक्तानी गरिसकेको भए पनि सरकारले १० लाख डोज मात्र खोप भित्र्याएको छ ।

अहिलेसम्म बाँकी खोप नेपाल आएको छैन र कमिसन प्रकरणले उक्त खोप नेपाल आउने–नआउने अन्योलको अवस्था छ । नेपालमा अब कोभिसिल्ड भने देशभरि गरेर १ लाख डोज पनि छैन भने चीनले अनुदान दिएको मध्ये ४ लाख डोज ‘भेरोसेल’ मात्रै बाँकी भएको समाचार बाहिरिएको छ । सरकारले यति बेला अक्सिजन, खोप, बेडजस्ता नभई नहुने विषयमा ध्यान दिन सकेको छैन । आम नागरिक यति बेला सरकारको निर्णयको पालना गरी घरभित्रै थन्किएका छन् । यो अवस्था कहिलेसम्म हुने यकिन छैन । विकल्पमा सरकारले कुनै ठोस नीति ल्याएको पनि छैन र ल्याउने संकेत पनि देखिँदैन । आम नागरिकको स्वास्थ्य सुरक्षाका लागि २०७२ को संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सेवाको नैसर्गिक अधिकार यतिखेर चुनौतीमा छ ।यस महामारीको अवस्थामा सरकार र जनताले के गर्ने त ? जनताले सुरक्षित रहने र रोग सार्ने खालका कुनै पनि गतिविधि नगर्ने नै हो ।

तर, तीन तहको सरकार यति बेला खोपकै खोजीमा लाग्नुपर्छ । संघीय सरकार मात्र होइन, स्थानीय सरकारले पनि बजेट जति सडक खन्ने र ठेक्कापट्टामा लगाउने होइन । मान्छे नै नभए सडकमा को हिँड्ने ! पहिला त नागरिकलाई बचाउनुप-यो । सरकारप्रति जनताले ठूलो आशा र भरोसाका साथै जीवनदानको भीख मागिरहेका छन् भनेर बुझिदिनुप-यो । सरकारले यो गम्भीर अवस्थालाई मनन गरी तत्काल सबै काम छोडी देश र जनतालाई स्वस्थ र सुरक्षित बनाउनतर्फ ध्यान दिनुप-यो । बिरामी परेका नागरिकले अस्पतालमा बेड र अक्सिजनको अभाव भएका कारण रोग लुकाउन थालेका छन् । कोरोना संक्रमित भएको कुरा घरपरिवार र छरछिमेकीबाट लुकाउँदा संक्रमण अझै बढेको छ । कोरोनाको संक्रमणले परिवार, टोल गाउँ र शहर हुँदै मुलुक नै पिटिसक्यो ।

प्रतिक्रिया दिनुहोस्